हेटौंडामा झोलाभित्र लुकाएर राखेका १६ सय ४६ ट्याब्लेट नाइट्रोभेट बरामद



न्युज अफ नेपाल, हेटौंडा ।

हेटौंडा १५ स्थित पिपल चौतरास्थित पूर्वपश्चिम सडकखण्डमा प्रहरीले ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले लागुऔषध बरामद गरेको हो । बाराबाट हेटौंडातर्फ आउँदै गरेको बा ९५ प ७९३२ नम्बर मोटरसाइकल चेक गर्दा चितवनको कालिका नपा–१, जुटपानी बस्ने वर्ष २३ का चालक रविन बिकले बोकेको झोलामा लुकाइ ल्याएको नाइट्रोभेट ट्याब्लेट १ हजार ४ सय ९६ पिस फेला परेको थियो ।

मोटरसाइकल पछाडि बसेका कालिका–७ बस्ने वर्ष २२ का अर्जुन श्रेष्ठलाई समेतलाई लागुऔषध र मोटरसाइकलसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आइतबार विहान ९ः३० बजे प्रहरी चौकी भुटनदेवीट प्रहरी हवल्दार डिल्लीराम शिवाकोटीको कमाण्डमा खटिएको प्रहरीले हेटौंडा–४ स्थित पूर्वपश्चिकम लोकमार्ग सडकखण्डमा लागुऔषध कारोबार गरिरहेकाहरुलाई पक्राउ गरेको थियो ।

हेटौंडा–१० बस्ने वर्ष २३ का विवेक न्यौपाने, वडा–५ बस्ने वर्ष १९ का एडी चौधरी, काभ्रेको नमोबुद्ध नपा घर भएर हेटौंडा–४ बस्ने वर्ष २० का सुरज लामा र सिन्धुलीको मरिण गापा घर भएर हेटौंडा–१५ बस्ने वर्ष २३ का विशालकुमार बाइवाको साथबाट लागुऔषध नाइट्रोभेट १ सय ५० ट्याब्लेट फेला परेकोले उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्