रोकिएका सबै परीक्षा दशैंअघि गरिसक्ने तयारीमा लोकसेवा

532
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

लोकसेवा आयोगमा पदाधिकारी नियुक्तिसँगै रोकिएका सम्पूर्ण परीक्षा सञ्चालन गर्ने र नतिजा निकाल्ने कार्य तीव्र गतिमा अघि बढेको छ ।

आयोगले रोकिएका सम्पूर्ण परीक्षा दशैंअघि गरिसक्ने गरी आन्तरिक तयारी अघि बढाएको छ । साउनबाट अन्तरवार्ता, नतिजा प्रकाशन र परीक्षा लिने आयोगको योजना रहेको छ । यसअघि, पदाधिकारी रिक्त र कोरोना महामारीका कारण आयोगका सम्पूर्ण परीक्षा रोकिएको थियो ।

आयोग गत चैत्र ११ गतेदेखि पदाधिकारीविहीन भएको थियो । माधवप्रसाद रेग्मीले एक साताअघि आयोगको अध्यक्षमा पदभार ग्रहण गरेसँगै आयोगले काम अघि बढाएको हो । अध्यक्ष रेग्मीले आयोगका बाँकी कार्यहरू समयमा नै सम्पन्न गर्ने गरी सय दिनको कार्य योजना बनाई काम गर्नसमेत कर्मचारीलाई निर्देशन दिएको बताउनुभयो । ‘विभिन्न रोकिएका परीक्षा सञ्चालन, नतिजा प्रकाशनलाई तीव्रता दिनेछौं । सय दिनभित्रमा सबै तहको परीक्षा, अन्तरवार्ता र नतिजा प्रकाशन गरी सक्नेछौं’ –उहाँले भन्नुभयो ।

नेपाल प्रहरी, नेपाली सेना, राष्ट्रिय वाणिज्य बैंक, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, बिमा समिति, दुग्ध विकास संस्थान, नेपाल आयल निगम तथा नेपाल धितोपत्र बोर्डलगायतको परीक्षाको पनि नतिजा आउन बाँकी रहेको छ ।
आयोग पदाधिकारीविहीन भएपछि आयोगबाट सम्पादन हुने कर्मचारी भर्ना आह्वान, बढुवा, लिखित परीक्षा, नतिजा प्रकाश, अन्तरवार्ता र नियुक्ति सिफारिसलगायतका काम रोकिएको थियो । सेना र प्रहरीको नयाँ भर्ना विज्ञापन र परीक्षाको नतिजा प्रकाशन पनि रोकिएको थियो ।

कोरोना र पदाधिकारीविहीन हुँदा अनिश्चित भएको नयाँ विज्ञापन दशैं तिहारपछि आह्वान गर्ने पनि आयोगले जनाएको छ । अहिले विभिन्न मन्त्रालय र निकाय १० सचिव रिक्त छ । आयोगले सचिव बढुवाको सिफारिस गर्न शुरू गरिसकेको छ ।

चालू आर्थिक वर्षका सबै विज्ञापन आयोगको वार्षिक कार्य तालिकाअनुसार नियमितरूपमा भए पनि कुनै पनि पदको परीक्षा भने सञ्चालन भएको छैन । ‘रोकिएको परीक्षा सञ्चालन गर्न गर्नुपर्ने थुप्रै काम छन् । आवश्यक जनशक्ति चुस्त दुरुस्त राख्नुपर्ने छन् । परीक्षा छिटो सक्न दुई सिफ्टमा पनि काम गर्नुपर्ने खाँचो छ । आवश्यक सामग्री र जनशक्ति तयारी गर्न आयोगले गृहकार्य गरिरहेको छ’ –आयोगका सचिव महेन्द्रप्रसाद गुरागाईंले भन्नुभयो ।