सूचनाको हक उल्लंघन गर्ने प्राध्यापकलाई पाँच हजार जरिवाना

126
Shares

काठमाडौं, (नेस) ।

राष्ट्रिय सूचना आयोगले सूचना उपलब्ध गराउन आनाकानी गर्ने एक प्राध्यापकलाई पाँच हजार जरिवाना गराउने निर्णय गरेको छ । प्रधानाध्यापकले दिनुपर्ने सूचना बिनाकारण दिन ढिलाइ गरेको देखिएकाले प्रतिदिन दुई सयका दरले पाँच हजार जरिवाना हुने ठहर आयोगले गरेको छ ।

आयोगले वानेश्वरमा रहेको बुद्धनगर आधारभूत विद्यालयका प्रधानाध्यापक जीवन खनाललाई जरिवाना गराउने निर्णय गरेको हो । आयोगले पटक–पटक भएको आदेशको पालना नगरी सूचना उपलब्ध नगराएकाले संविधान प्रदत्त नागरिक अधिकार र कानुनले व्यवस्था गरेको सूचनाको हकको ठाडो उल्लङ्घन गरेकाले सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा (१) बमोजिम जरिवाना गराउने निर्णय गरेको हो ।

प्राध्यापक खनालले गत वर्ष पुस २६ गते आयोगमा पुनरावेदन निवेदन दिएपछि आयोगले सूचना नदिनुको कारण खुलाउन बुद्धनगर आधारभूत विद्यालयका प्रधानाध्यापक र सूचना अधिकारीका नाममा आदेश दिएको थियो । आयोगले खनाललाई सूचना उपलब्ध नगराउनुको स्पष्ट कारण तीन दिनभित्र आयोगमा पठाउन र पुनरावेदकलाई तीन दिनभित्र मागबमोजिमको सूचना उपलब्ध गराउन निर्देशन दिएको थियो ।

आयोगबाट भएको आदेश बुझाउन जाँदा प्रधानाध्यापकले पत्र बुझ्न आनाकानी गरी विभिन्न बहाना र भाका राखी पत्र बुझ्न नमानेको तथा पुनरावेदकले मागेको सूचनासमेत उपलब्ध नगराएकाले जरिवाना गरिएको आयोगले जनाएको छ ।

सूचनाको हकसम्बन्धी नियमावली, २०६५ को नियम ६(७) बमोजिम आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ बमोजिम गरेको जरिवाना असुलउपर गरी आयोगलाई जानकारी दिन, बुद्धनगर आधारभूत विद्यालय, बानेश्वरसँग भएको सूचना पुनरावेदकलाई उपलब्ध गराई दिन र त्यसको बारेमा आयोगलाई समेत जानकारी दिन शिक्षा विकास तथा समन्वय एकाइ, काठमाडौंमा लेखी पठाउन र काठमाडौं महानगरपालिकाको शिक्षा विभागमा पुनरावेदकलाई सूचना दिनू भनी आदेश दिएको छ ।