जिप दुर्घटनामा तीनको मृत्यु

308
Shares

बैतडी, (नेस) ।

आइतबार बैतडीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य ११ जना घाइते भएका छन् भने घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ ।

मृत्यु हुनेहरूमा सिगास गाउँपालिका–३ का ४५ वर्षीय जयसिंह धामी, ४५ वर्षीय मानसिंह साउद र ६४ वर्षीय रामसिंह धामी रहेका छन् । उनीहरू तीनै जनाको घटनास्थमै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो ।

सिगास गाउँपालिका–३ का १८ वर्षीय योगेन्द्र धामी, १३ वर्षीय लक्ष्मण बोहरा र ४७ वर्षीय कृष्ण धामी, ४० वर्षीया गोमती साउद र २० वर्षीय राजेन्द्र धामी गम्भीर घाइते भएका छन् ।

यस्तै, दुर्घटनामा परी सिगास गाउँपालिका–३ कै २९ वर्षीय करनसिंह धामी, ४५ वर्षीय दलबीर साउद, ४० वर्षीय चक्रधामी, ३८ वर्षीया वासमती धामी, ४० वर्षीय शेरबहादुर धामी र २० वर्षीय रवीन्द्र धामी सामान्य घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।

सिगास गाउँपालिका–३ बाट डडेल्धुरातर्फ गइरहेको से१ज७३९ नम्बरको जिप सिगासकै लगन भन्ने स्थानमा आइतबार बिहान ९ बजेर ४० मिनेटमा दुर्घटनामा परेको हो ।

दुर्घटनाग्रस्त जिपका चालक १९ वर्षीय खगेन्द्र साउद र जिप साहु ४४ वर्षीय हरिभान साउद भने फरार रहेका प्रहरीले जनाएको छ । १६ जना सवार जिप सडकबाट करिब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले बताएको छ ।