पार्टीको नीति निर्माणमा पुरुष हावी हुँदा महिला नेतृत्वलाई अगाडि बढाउन गाह्रो भयो: नेता सिटौला

1.13k
Shares

काठमाडौँ  ।

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले महिलामा कांग्रेसको पदाधिकारीमा प्रतिस्पर्धा गर्ने आँट हुनुपर्ने बताउनुभएको छ । लोकतन्त्रका लागि हाम्रो अभियानले आइतबार साँझ यहाँ आयोजना गरेको ‘नेपाली कांग्रेसको १४ औँ महाधिवेशन स् नीति र नेतृत्वमा महिला’ विषयक प्रदेश १ र २ स्तरीय भर्चुअल अन्तरक्रियामा उहाँले पार्टी पदाधिकारीमा पुरुषसँग प्रतिस्पर्धा गर्नसक्ने क्षमता महिलाले राखेमात्र महिला क्षमता विकास हुने बताउनुभएको हो ।

“पार्टीभित्र महिलाहरु समावेशी अधिकारका लागि मात्र लडेर हुँदैन, प्रतिस्पर्धामा जानुपर्छ, प्रतिस्पर्धासँगै महिलाको क्षमता विकास हुँदै जान्छ,”, नेता सिटौलाले भन्नुभयो । पार्टीका पूर्व महामन्त्री सिटौलाले पार्टीभित्र चाकडी र चाप्लुसी बढ्दै गएकाले महिलाहरु नेतृत्वमा पुग्न नसकेको उल्लेख गर्नुभयो । उहाँले संविधानअनुसार महिलालाई हरेक क्षेत्रमा ३३ प्रतिशत अधिकार दिनेबारेमा पार्टीभित्र आफू सकारात्मक रहेको स्पष्ट पार्नुभयो ।

कांग्रेस पूर्वकोषाध्यक्ष चित्रलेखा यादवले महिलाहरु नेतृत्वमा पुग्न नसकेसम्म महिलाका लागि उचित नीति बन्न नसक्ने बताउनुभयो । “पार्टीको नीति निर्माणको ठाउँमा पुरुष हावी हुँदा महिला नेतृत्वलाई अगाडि बढाउन गाह्रो भयो,” उहाँले भन्नुभयो ।

उहाँले मुलुकका हरेक आन्दोलनमा महिलाहरुले अग्रणी भूमिका निर्वाह गरे पनि नेतृत्व तहमा अहिलेसम्म पुग्न नसकेको बताउनुभयो । संविधानको मर्म र भावनाअनुसार पार्टीले महिला नेतृत्वलाई अगाडि बढाउनुपर्ने उहाँको भनाइ थियो ।

पार्टीका केन्द्रीय सदस्य एवं कार्यक्रमका संयोजक डा डिला सङ्ग्रौलाले नेपालमा आधाभन्दा बढी जनसङ्ख्या भएको महिलाहरु कांग्रेसको नेतृत्वमा पुग्न नसकेको गुनासो गर्नुभयो । उहाँले संविधानले राज्यको हरेक निकाय र पार्टीको हरेक संरचनामा एक तिहाइ महिलाको प्रतिनिधित्व सुनिश्चित गरे पनि उक्त अधिकारको पालना नभएको गुनासो गर्नुभयो ।