भीरकोट नगरपालिकाका सम्पूर्ण वडामा फ्री वाईफाई जोन



अमृत अर्याल,स्याङ्गजा ।

जिल्लाको भीरकोट नगरपालिकाले ९ वटै वडा कार्यालयमा फ्रि वाईफाई जोन स्थापना गर्ने भएको छ । कोभिड–१९ को दोस्रो लहरका कारण विद्यार्थीहरु बिद्यालयमा उपस्थित भएर पढ्ने वातावरण अझै बनिसकेको छैन् । कोरोनाको संक्रमणको जोखिम अझै पनि कायमै रहेको छ । ग्रामिण भेगका बिद्यार्थीहरुलाई अनलाइन माध्यमबाट पठनपाठन गर्न टेवा पुग्ने किसीमले भीरकोटले टोल टोलमा फ्रि वाईफाईको व्यवस्था गरेको छ ।

एकै टोलका बिद्यार्थीहरु आफ्नो वार्डको सार्वजनिक स्थानमा जम्मा भई भौतिक दुरी कायम गरि इन्टरनेटको सेवा लिन सक्नेछन् । नगरपालिकाले सम्पूर्ण वडा कार्यालयको सार्वजनिक पहुँचको स्थान जस्तै बालबिकास केन्द्र, समाज भवन, आमा समुहको भवन, ज्ञान केन्द्र आदि ठाउँबाट फ्री वाइफाई इन्टरनेट जडानको कार्य सुरु गरेको छ ।

नगर प्रमुख छायाराम खनालले सबै विद्यार्थीहरुलाई अनलाइनका माध्यमबाट अध्ययनमा पहुँच पु-याउने उद्देश्य अनुसार नगरपालिकाले वल्र्डलिंक कम्युनिकेसन्स प्रा.लि. संग सम्झौता गरेर वाईफाई फ्री जोनको जडान कार्य सुरु गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोना संक्रमण कहिले सम्म रहने भन्ने टुङ्गो नभएकोले विद्यार्थीको भविष्यलाई मध्यनजर राखेर अनलाइनका माध्यमबाट कक्षा लिन सकिने गरि हाललाई यो सेवा सुरु गरिएको छ ।”

खनालले निकट भविष्यमा सर्वसाधारणले पनि यो सेवा उपभोग गर्न सक्ने कुरा व्यक्त गर्नुभयो । नेटको अभावमा विद्यार्थीहरु पढाईबाट बन्चित हुन नपरोस भनी नगरपालिकाले नेटको पहुँच नभएका विद्यार्थीहरुलाई लक्षित गरि फ्री वाइफाई जडान गर्ने अभियान सञ्चालन गरेको खनालले बताउनुभयो ।

वाईफाई फ्री जोन स्थापनाको प्राविधिक पक्षमा बोल्दै भीरकोट नगरपालिकाका सूचना प्रविधि अधिकृत कमल रेग्मीले पहिलो चरणमा नगरपालिकाका १० वटा सार्वजनिक स्थानमा इन्टरनेट फ्री जोनको स्थापना गरि सेवाको सुरुवात गरिने बताउनुभयो । प्रति वाइफाई फ्री जोनका लागि सेवा प्रदायक संस्था वल्र्डलिंक कम्युनिकेसन्स प्रा.लि. संग ५ वर्ष सम्मको सम्झौता गरिएको छ ।

हरेक वाइफाई जोनबाट एक पटकमा अधिकतम ६० जनाले न्युनतम ७ एम.बि.पि.एस. गतिको वाई फाई सुबिधा प्रयोग गर्न सक्नेछन् । हाललाई यो सेवा नगरपालिका केन्द्र र १ देखि ९ वटै वडाको १ स्थान बाट सुरुवात गरिने भएको छ । यो सेवा, यसको प्रभावकारिता र परिक्षण पश्चात अन्य स्थानमा बिस्तार गरिने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्