कुलेखानीमा पानीको सतह १५ मिटर बढ्यो

1.6k
Shares

हेटौंडा, (नेस) । 

असारमै अधिक वर्षाका कारण कतै क्षति व्यहोर्नुपर्दा देशको बिजुलीलाई भने फाइदा भएको छ । एक वर्षअघिको वर्खाभर पानी पर्दा भरिन नसकेको कुलेखानी तालमा पानीको सतह निकै माथि पुग्दा बिजुली निकाल्न पानीको समस्या नहुने संकेत मिलेको हो ।

जलाधार क्षेत्रमा भारी वर्षा हुँदा जलाधार क्षेत्रको पालुङ, किटेनी, चित्लाङ, चखेल र फाखेललगायत खोलामा बाढी आएपछि कुलेखानीको सतह तीव्र गतिमा बढेको छ । जलाधार क्षेत्रमा भारी वर्षा भएकाले कुलेखानी जलाशयमा तीन दिनमा करिब १५ मिटर पानीको सतह बढेको छ । जलाधार क्षेत्रमा असार १५ देखि शनिबारसम्म भारी वर्षा भएकाले पानीको सतह ह्वात्तै वृद्धि भएको हो ।

गत वर्ष जलाधार क्षेत्रमा थोरै वर्षा भएकाले कुलेखानी भरिएको थिएन । ‘यस वर्ष असारको बीचमै जलाधार क्षेत्रमा वर्षा धेरै भएकाले जलाशय चाँडै भरिन सक्छ,’ कुलेखानी प्रथमका एक प्राविधिकले भने–‘लामो समयदेखि कुलेखानी भरिएको थिएन, यस वर्ष भरिन्छ होला ।’ नेपाल विद्युत् प्राधिकरणको ‘पावर ब्याकअप’ का रुपमा रहेको कुलेखानी जलासयमा शनिबार दिउँसो सवा ४ बजेसम्म १ हजार ५ सय १८।५५ सेन्टिमिटर पानी संकलन भएको छ । यस वर्ष वर्षायाम शुरु हुनुअघि जलाशयमा १ हजार ५ सय २ मिटर पानीको सतह थियो ।

असार १५ मा जलाशयमा १ हजार ५ सय २।३३ सेन्टिमिटर पानी थियो । असार १५ देखि शनिबारसम्म जलाधार क्षेत्रमा लगातार वर्षा भएकाले जलाशयमा करिब १५ मिटर पानीको सतह बढेको हो । ‘तीन दिनमा दैनिक ३ मिटरभन्दा बढी पानीको सतह बढ्यो,’ ती प्राविधिकले भने । जलाशयको पानी १ हजार ४ सय ८४ मिटरसम्म प्रयोग गर्न सकिन्छ । गत वर्षको यही अवधिमा १ हजार ५ सय ३ मिटरमात्र पानीको सतह थियो । भारि वर्षाले कुलेखानीको माथिल्लो क्षेत्रका खोलामा बाढी आउनुका साथै पानीको बहाव तीव्र भएकाले कुलेखानीमा पानी जम्मा हुने क्रम तीव्र भएको हो । माथिको मूल नफुटी कुलेखानी भरिँदैन, हालैको पानीले मुल फुटेपछि भरिने सम्भावना देखिएको छ । कुलेखानी जलाशय भरिँदा मुलुकमा अघोषित लोडसेडिङ हुने सम्भावना कम हुन्छ ।

कुलेखानी ताल भरिनका लागि थाहानगरबाट बगेर आउने ठाडो खोला, चित्लाङ खोला, फाखेलको महालक्ष्मीलगायत खोलानालाले लाखौंको क्षति गरेको छ भने जिल्लाका अन्य स्थानीयमा पनि उत्तिकै क्षति भएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा पर्ने जलासयको क्षमता १ हजार ५ सय ३० मिटर पानी संकलन गर्नेछ । त्यसपछि ‘ओभरफ्लो’ हुने पानीलाई बाँधको माथि सिमेन्टका बोरा राखेर थप ३० सेन्टिमिटर संकलन गर्न सकिन्छ । जलासयको पानीको हाल खपत छैन । वर्षा भएका कारण कुलेखानी पिक समयमा पनि सञ्चालन गर्नुपरेको छैन ।

कुलेखानीको पानी समुद्र सतहदेखि १ हजार ५ सय ३० मिटरमा भरिन्छ । २०७२ को भुकम्पपछि कुलेखानी भरिएको छैन । २०७२ पुसमा कुलेखानीमा पानीको सतह १ हजार ५ सय २६ दशमलव ९७ मिटरमा सतह पुगेर स्थिर भएको थियो । कुलेखानी पहिलोबाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४ गरी १ सय ६ मेगावाट बिजुली उत्पादन हुने गरेको छ ।