पहिरो हटाएपछि पृथ्वी राजमार्गको धादिङखण्ड एकतर्फी संचालनमा

112
Shares

सीताराम अधिकारी, धादिङ ।

धादिङको बेनीघाट रोराङ गाउँपालिका १० स्थित जवाङमा सवारी साधन क्षति पुर्याउने गरी आएको पहिरोले अवरुद्ध पृथ्वी राजमार्गको धादिङ खण्ड शनिबार दिउँसोबाट एकातर्फी रुपमा संचालनमा आएको छ । सडक विभाग र ट्राफिक प्रहरी कार्यालयको डोजरले सडकको लेदो सहितको पहिरो हटाएको छ भने क्षतिग्रस्त सवारी साधनलाई सडक किनारामा राखिएको छ । जबाङमा अबिरल वर्षाका कारण झरेको पहिरोले पाँच वटा सवारी साधन पुरिँदा दुई जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए ।

पहिरोमा बा १२ च ७१५६ नम्बरको म्याजिक भ्यान, ना ७ ख ३२० नम्बरको कन्टेनर, बा १ ग २८३१ नम्बरको ट्रक, ना ८ ख ४५४० नम्बरको ट्रक र पीएन २८ एए ०१२० नम्बरको ट्रक पुरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक महेन्द्र खड्काले जानकारी दिनुभयो ।

घटनास्थलमा उद्धारका लागि इलाका प्रहरी कार्यालय गजुरी र इलाका प्रहरी कार्यालय बेनीघाटबाट डिएसपीको कमाण्डमा प्रहरी परिचालन गरिएको छ । स्थानीय सरकार र सडक विभागको टोली पनि खोज तथा उद्धारमा खटिएको प्रहरीले जनाएको छ । रातिदेखिको पहिरोले राजमार्गको ठाउ ठाउँमा पहिरो झरेर अवरुद्ध भएको थियो । लगनतार सडक सफागरेपछि धादिङ खण्डमा एकोहो रुपमा सवारी साधन चल्न थालेको हो ।