हेटौंडा उपमहानगरको बजेट पास

224
Shares

हेटौंडा, (नेस) ।

हेटौंडा उपमहानगरपालिकाको नगरसभाले आगामी आर्थिक वर्षका लागि बजेट पास गरेको छ । नगरसभा सदस्यहरुले बजेटमाथि आफ्ना धारणा राखेपछि मंगलबार बजेट पास गरिएको हो ।

आगामी आर्थिक वर्षका लागि उपमहानगरपालिकाले २ अर्ब ६० करोड १५ लाखको विनियोजन बजेट प्रस्तुत गरेको थियो । पाँच वर्षका लागि तोकिएका जनप्रतिनिधिले काम गर्ने अवधि अब थोरै मात्र रहेको र यसअघि धेरै राम्रा काम गरिएको नगर प्रमुख हरिबहादुर महतले बताउनुभयो ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक स्रोतबाट २४ करोड ३८ लाख ७५ हजार अनुमान गरिएको छ । उपमहानगरपालिकाले राजस्व बाँडफाँटबाट ५६ करोड ८ लाख ८१ हजार, प्रदेश सरकारका विभिन्न अनुदानबाट १२ करोड ६६ लाख ९६ हजार, संघीय सरकारका अनुदानबाट १ अर्ब २ करोड १ लाख, नगर विकास कोषबाट ऋण अनुदान ९ करोड र गत वर्षको नगद मौज्दातबाट ५६ करोड ब्यहोर्ने अनुमान गरिएको उपमेयर मीनाकुमारी लामाले बताउनुभयो ।

संघीय तथा प्रदेश सरकारबाट अख्तियारी प्राप्त हुने सामाजिक सुरक्षा, गरिबसँग विश्वेश्वरलगायत कार्यक्रमको एकल खाता कोष प्रणालीमार्फत् भुक्तानी हुने भएकाले आगामी आर्थिक वर्षमा यी कार्यक्रमको स्रोत समावेश गरिएको छैन । आगामी आर्थिक वर्षमा उपमहानगरपालिकाले सबभन्दा महत्वपूर्ण कामका रुपमा बसपार्क तथा टर्मिनल भवन निर्माणका लागि क्रमागत् योजनाअन्तर्गत् १४ करोड बजेट विनियोजन गरेको उपमेयर लामाले बताउनुभयो । हेटौंडा–४ मा निर्माण हुने बहुवर्षीय योजनाअन्तर्गत् बहुउद्देश्यीय व्यापारिक भवन निर्माण शुरु गर्न १५ करोड विनियोजन गरिएको छ । बृहत्तर चक्रपथ निर्माण कार्य निरन्तरताअन्तर्गत् एक्लेखेत–राजदेवी, मजुवा–दोभानचौर खण्डको सडक स्तरोन्नतिका लागि ३ करोड विनियोजन गरिएको छ । हेटौंडा–१७, कठायत चोकदेखि बालबोध माविसम्मको सडक स्तरोन्नतिका लागि ३ करोड विनियोजन गरिएको छ भने कर्रा करिडोर निर्माण निरन्तरताका लागि १ करोड ५० लाख विनियोजन गरिएको छ ।

संघीय सरकार, प्रदेश सरकार, जिल्ला समन्वय समिति एवम् अन्य संघसंस्थासँगको साझेदारीमा सञ्चालन हुने योजनाका लागि ४ करोड ५० लाख विनियोजन गरिएको छ । वडा तथा बस्तीस्तरीय पूर्वाधार योजनाका लागि ३२ करोड ७० लाख विनियोजन गरिएको छ ।