मेयरको प्रतिबद्धतापछि नगरसभा चालू

924
Shares

सुनील महर्जन, ललितपुर ।

मेयर चिरिबाबु महर्जनले कार्यपालिका बैठक छलेर अघि नबढ्ने भनी लिखितरूपमा विश्वास दिलाएपछि ललितपुर महानगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यपालिका बैठकबाट पारित भएको छ । मेयर महर्जनले चारबुँदे पत्र लेखेर कार्यपालिका सदस्यलाई अबका दिनमा कार्यपालिकालाई छलेर आफूले कुनै पनि निर्णय नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

कार्यपालिका बैठक छलेर मेयर महर्जन एकलौटी तवरमा अघि बढेको भन्दै बहुमत कार्यपालिका सदस्यले लगातार विरोध गरेपछि बुधबार मेयर महर्जनबाट सो प्रतिबद्धता आएको हो । असार १५ गते बसेको कार्यपालिका बैठकमा २६ जना कार्यपालिका सदस्यले मेयर महर्जनसमक्ष ‘अबका दिनमा कार्यपालिका छलेर कुनै निर्णय गर्दिनँ भनेर’ बैठकमा विश्वास दिलाउनुपर्ने माग राखेका थिए । उनीहरूले मेयरले कार्यपालिकालाई छलेर निर्णय गर्ने शैली नत्यागेसम्म नीति तथा कार्यक्रम कार्यपालिका बैठकबाट पारित नगर्ने अडानसमेत लिएका थिए । उक्त बैठकमा मेयर महर्जनले सबैसँग समन्वय र सहकार्य गरेर अघि बढ्ने र महत्वपूर्ण विषयमा छलफल गरेर मात्र कार्यपालिका बैठकमा लगिने प्रतिबद्धता जनाउनुभएको थियो ।

प्रतिबद्धताको पहिलो बुँदामा विभिन्न समयमा राखेका असहमति, ध्यानाकर्षण यही असार २३ गते बस्ने कार्यपालिका बैठकमा छलफल गरी टुंग्याउने भनिएको छ । कार्यपालिका सदस्य एवं वडा नं ३ का अध्यक्ष श्रीगोपाल महर्जनले महानगरपालिकालाई विधि प्रक्रियाअनुरूप अघि बढाउन मेयर महर्जनको पत्र महत्वपूर्ण आधार हुने विश्वास व्यक्त गर्नुभयो ।

यसअघि कार्यपालिका बैठक छलेर एकलौटी तवरमा विभिन्न निर्णय गर्नुभएकोमा बहुमत कार्यपालिका सदस्यले पछिल्लोपटक असार चार गते शुक्रबार असहमति दर्ता गरेका थिए । मेयर महर्जनले कार्यपालिका बैठकलाई जानकारी नदिई पछिल्लोपटक कोरोना संक्रमणबाट मृत्यु भएका परिवारलाई एक लाख रुपियाँ, कोरोना संक्रमणले गर्दा स्वास्थ्य स्थिति गम्भीर भई भेन्टिलेटर बस्नुपर्ने मानिसलाई ५० हजार र आइसोलेसनमा बस्नुपर्नेलाई २५ हजार रुपियाँ प्रदान गर्ने निर्णय गर्नुभएको थियो । जुममार्फत बसेको विपद् व्यवस्थापन समितिको बैठकले गरेको सो निर्णय जेठ २२ गते घोषणा गरिएको असहमति पत्रमा उल्लेख गरिएको छ ।

त्यसैगरी, तोक आदेशकै भरमा मेयर महर्जनले चिडियाखानालाई १० लाख रुपियाँको चेक र धुर्मुस सुन्तली फाउन्डेसनलाई २० लाख रुपियाँको चेक हस्तान्तरण गर्नुका साथै धापाखेल–२४ मा बाढीपीडितलाई दुईपटक गरी चार लाख रुपियाँ प्रदान गर्नुभएको थियो । त्यसैगरी, लगनखेलको राजदल गणमा रहेको पोखरी बनाउने, सानेपा चक्रपथदेखि बालकुमारी चक्रपथसम्म सडक बत्ती राख्ने, कोरोनाको लागि विनियोजित करोडौं बजेट खर्च गर्नेलगायत निर्णयहरू कार्यपालिका बैठक छलेर गरिएको दर्ता गराइएको असहमति पत्रमा उल्लेख गरिएको छ । असहमतिपत्रमा दरबन्दी नै नभएको वरिष्ठ नगर प्रहरी निरीक्षक पद सिर्जना गरी सीताराम हाछेंथुलाई नियुक्ति गरिएकोमा पनि असहमति जनाइएको छ ।

मेयर महर्जनको प्रतिबद्धता पत्रको दोस्रो बुँदामा कार्यपालिका बैठक नियमितरूपमा राख्दै जाने उल्लेख गरिएको छ भने तेस्रोमा आगामी दिनमा त्रिपक्षीय समन्वय, सहमति र सहकार्यको आधारमा छलफल गरी कार्यपालिका बैठकबाट निर्णय गरी कार्यान्वयन गरिने भनिएको छ । अन्तिम बुँदामा हालसम्म काम गर्ने क्रममा एकआपसमा कमीकमजोरी देखिएमा आपसी छलफलका माध्यमबाट सुधार गर्दै लगिने उल्लेख गरिएको छ ।