विकास खर्चको अवस्था कमजोर

0
Shares

नेपाल समाचारपत्र, हेटौंडा ।

बागमती प्रदेश सरकारको विकासतर्फको खर्चको अवस्था कमजोर देखिएको छ । चालू आर्थिक वर्ष २०७७/७८ को ११ महिना अवधिमा प्रदेश सरकारले कुल बजेट ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपियाँको करिब ४६ प्रतिशत मात्र खर्च गर्न सकेको हो । गत आर्थिक वर्षमा ५९ प्रतिशत बजेट खर्च भएको थियो ।

प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयको तथ्यांकअनुसार चालू आर्थिक वर्षमा विनियोजन गरिएको विकास बजेट २६ अर्ब ५३ करोड ५५ लाख रुपियाँमध्ये जेठ मसान्तसम्म ३६ दशमलव १६ प्रतिशत अर्थात् ९ अर्ब ५९ करोड ६४ लाख रुपियाँ खर्च भएको हो । आर्थिक वर्षको बाँकी अवधिमा बजेट खर्चको स्थितिमा सुधार नभए चालू आवमा प्रदेशमा ६० प्रतिशतभन्दा बढी रकम फ्रिज हुने आंकलन प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयले गरेको छ । लकडाउन कायम रहे विकास निर्माण अत्यन्त कम हुने र पुँजीगत खर्चको अनुपात नबढ्दा ६० प्रतिशतभन्दा बढी रकम फ्रिज हुने सम्भावना देखिएको छ ।

चालूतर्फ २२ अर्ब ८९ करोड ९१ लाख रुपियाँ बजेट रहेकोमा ४८दशमलव ६५ प्रतिशत अर्थात् ११ अर्ब १३ करोड ९२ लाख रुपियाँ खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयका सूचना अधिकारी राजेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

सरकारी कार्यालयमा असारको अन्तिममा मात्र खर्च गर्ने परिपाटी अन्त्य नभएका कारण असार अन्तिम सातामात्र बढी रकम खर्च हुने अनुमान छ । आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि प्रदेश सरकारले ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपियाँको बजेट सदनमा पेश गरिसकेको छ । आगामी आर्थिक वर्षमा चालूतर्फ कुल बजेटको ४५ प्रतिशत् अर्थात् २६ अर्ब १ करोड ६६ लाख २३ हजार, पुँजीगततर्फ ५१ प्रतिशत अर्थात् २९ अर्ब ७० करोड ४३ लाख र वित्तीय व्यवस्थातर्फ ४ प्रतिशत अर्थात् २ अर्ब रुपियाँ छुट्याइएको छ । प्रदेशसभा बैठक बस्न नसक्दा सदनमा छलफल भने अगाडि बढेको छैन ।