प्राइभेट कानुन व्यवसायीको भनाइ शुरू

476
Shares

काठमाडौं, (नेस) ।

प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने मागसहित दायर भएको रिट निवेदनमाथि सरकारी वकिलले बहस गर्ने क्रम सकिएपछि बुधबारबाट प्रधानमन्त्रीले नियुक्त गर्नुभएका प्राइभेट कानुन व्यवसायीको भनाइ शुरू भएको छ ।

प्रधानमन्त्रीबाट कानुन व्यवसायी नियुक्त हुनुभएका वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्तले मलाई खान पनि दे र चपाई पनि दे भनेजस्तो गरेर शेरबहादुर देउवाबाट प्रतिनिधिसभा पुनःस्थापना गरी प्रधानमन्त्री बनाइदिनुपर्ने गरी आदेश माग भएको बताउनुभएको छ ।

वरिष्ठ अधिवक्ता पन्तले नेपालको संविधानको धारा ७६ को जुनसुकै उपधाराबमोजिम बनेको प्रधानमन्त्रीले पनि परिस्थितिअनुसार प्रतिनिधिसभा विघटन गर्न सक्ने दाबी गर्नुभयो ।

प्रधानमन्त्री ओलीले राज्यको समय खेर नफाल्न धारा ७६ (४) बमोजिम विश्वासको मत लिन नचाहनुभएको वरिष्ठ अधिवक्ता पन्तको जिकिर रहेको थियो । रिट निवेदकले प्रधानमन्त्री ओली धारा ७६ (३) बमोजिमको प्रधानमन्त्री नियुक्त भएर पनि ७६ (४) बमोजिम विश्वासको मत नलिनुभएकोमा आलोचना भइरहेको थियो ।

अर्का वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले नेपाली कांग्रेसका सभापति देउवाले बहुमत प्राप्त गर्न सक्ने आधार नै नभएकाले अदालतबाट माग भएबमोजिम आदेश दिन नसकिने उल्लेख गर्नुभयो । उहाँले फ्लोर क्रस गर्ने सांसदलाई मान्यता दिएर सरकार गठन गर्न आदेश दिने हो भने संविधानको मूल्य मान्यता खतम हुने उल्लेख गर्नुभयो । अदालतले यस्तो रिटको बारेमा आत्मसंयम अपनाउन जरूरी भएको दाबी गर्नुभयो ।

अर्का वरिष्ठ अधिवक्ता विजयकान्त मैनालीले दलीय राजनीति संविधानको आधारभूत संरचना भएको उल्लेख गर्दै त्यसैको आधारमा संविधान निर्माण भएको दाबी गर्नुभयो ।

उहाँले दलीय राजनीतिलाई बेवास्ता गरी सरकार चलाउँछु भन्ने कुरा जायज नहुने बताउनुभयो । रिट निवेदकहरुले धारा ७६ (५) बमोजिमको सरकार बनाउन दलको समर्थन नचाहिने बताउँदै आएका छन् । सरकार पक्षको बहस गर्ने समय अझै चार घण्टा ४५ मिनेट बाँकी रहेको छ । बहस बिहीबार पनि जारी रहनेछ ।