कीर्ते कागजात बनाउने गिरोह पक्राउ

1k
Shares

काठमाडौं, (नेस) ।

लामो समयदेखि राजधानीमा बसेर सरकारी कार्यालयका कागजात कीर्ते गर्ने काममा संलग्न रहेको एउटा गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङको बयरवन घर भई शान्तिनगर बस्दै आएका रेवतीरमण निरौलाको समूहलाई प्रहरीले पक्राउ गरेको हो । सरकारी स्वास्थ्य संस्थादेखि शैक्षिक संस्थाको प्रमाणपत्रसमेत नक्कली बनाएर बिक्री गर्ने गरेको पाइएको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ ।

सो समूहले फार्मेसीको लाइसेन्स, एसएलसीदेखि स्नातकसम्मको ट्रान्सक्रिप्ट, सर्टिफिकेट, ट्रान्सफर सर्टिफिकेट, नागरिकता, ड्राइभिङ लाइसेन्सलगायतका सबै प्रकारका प्रमाणपत्र बनाउने गरेको पाइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक चन्द्रकुवेर खापुङले जानकारी दिनुभयो ।

प्रहरीले निरौलाको फ्ल्याटबाट पाँच बोरा कीर्ते कागज, एक सय ९१ थान विभिन्न सरकारी कार्यालयको छापसमेत बरामद गरेको छ । निरौलाले फार्मेसी काउन्सिलको प्रमाणपत्र लिनका लागि नक्कली प्रशिक्षार्थी खडा गरेर पास गराउने काममा समेत निरौलाको प्रमुख भूमिका रहेको पनि उहाँले जानकारी दिनुभयो ।

महाशाखाले निरौलाको फ्ल्याटबाट बरामद गरेको कागजातमा त्रिभुवन विश्वविद्यालयका ट्रान्सक्रिप्टदेखि उच्च माध्यमिक शिक्षा परिषद्, एसएलसी, सीटीईभीटी, पूर्वाञ्चल विश्वविद्यालयलगायत विभिन्न विश्वविद्यालयका नक्कली मार्कसिट र प्रमाणपत्र फेला पारेको थियो ।
निरौलाले तहअनुसारको पैसा लिने गरेको समेत पत्ता लागेको प्रहरीले जानकारी दिएको छ । निरौलाले फार्मेसी परीक्षा पास गराएबापत एक लाख ३० हजारभन्दा बढी रकम लिएको फेला परेको प्रहरीले जानकारी दिएको छ । निरौलाले एसएलसी र प्लस टुको मार्कसिट बनाएबापत २६ हजार लिएको उल्लेख छ ।

त्यसैगरी, बीए, बीबीएसलगायतका ट्रान्सक्रिप्ट सर्टिफिकेट, ट्रान्सफर सर्टिफिकेट, आदि बनाएको १० देखि ३५ हजारसम्म शुल्क लिएको पाइएको छ । नक्कली नागरिकता, सवारी लाइसेन्स आदि बनाएको १० हजारसम्म शुल्क लिए पाइएको एसएसपी खापुङले जानकारी दिनुभयो ।

कसरी पक्राउ परे निरौला

महाशाखाले भारतबाट चोरी गरी नेपालमा ल्याएर प्रयोगमा आएको एउटा सवारीसाधन पक्राउ गरेपछि सवारी धनीको साथमा नक्कली ब्लुबुक फेला पारेको थियो । त्यस विषयमा अनुसन्धान गर्दै जाँदा निरौलासम्म पुगेको थियो ।

रोजगारीको सिलसिलामा काठमाडौं आएका निरौलाले सरकारी जागिर खाने लक्ष्य लिएका थिए । उनले जागिरका लागि परीक्षा पनि दिए तर उनी सफल हुन नसकेपछि कीर्ते काममा लागेको बयान प्रहरीलाई दिएका छन् ।

प्रहरीले शुरूमा भारतबाट साना सवारीसाधन चोरी गरी काठमाडौँ ल्याएर बिक्री गर्ने गिरोह मधुसूदन पाण्डे र कमलबाबु पुरी भन्ने कमलबाबु भट्टलाई पक्राउ गरेपछि उक्त काण्डको पर्दाफास हुन पुगेको थियो । प्रहरीले उनीहरूको साथबाट नक्कली ब्लुबुक बरामद गरेपछि सोधपुछका क्रममा निरौलासम्म प्रहरी पुग्न सफल भएको थियो ।