पदीय आकांक्षाका लागि अस्वस्थ खेल: ओली

252
Shares

काठमाडौँ, (नेस) ।

प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी अध्यक्ष ओलीले पार्टीभित्र पदको लडाइँका कारण अस्वस्थ्य खेल भएको बताउनुभएको छ ।

बुधवार बालुवाटारमा १०औँ महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै उहाँले पार्टीका केही व्यक्तिहरू जालझेल, षड्यन्त्र, तिकडमका साथ गुटबन्दीमा क्रियाशील भएर पार्टीको विरुद्ध गतिविधि गरिरहेको आरोप लगाउनुभयो । अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै केन्द्रीय सदस्य कैलाश ढुंगेलले भन्नुभयो–‘पार्टीलाई बलियो बनाउनेभन्दा विपक्षीसँग साँठगाँठ गरेर पार्टीलाई कमजोर बनाउने खेल भयो ।’
आफू प्रधानमन्त्री भएको दुई वर्ष भइसकेपछि पार्टीभित्रैबाट राजीनामा माग्ने काम शुरू भएको बताउँदै उहाँले पार्टीकै नेताहरू अस्थिरता ल्याउने खेलमा सक्रिय भएको बताउनुभयो ।

पार्टीभित्रैबाट अनावश्यक झमेला झिक्ने, संसद्लाई प्रभावकारी हुन नदिने, विधेयकहरू बन्न नदिएर अल्झाउने काम भएपछि आफूले संसद् विघटन गरेको बताउँदै उहाँले ऐतिहासिकरूपमा अभूतपूर्व ढंगले विकास निर्माणको गतिलाई अघि बढाएका कारण सरकार जनतामा लोकप्रिय हुँदै गएको दाबी गर्नुभयो । बैठकमा ओलीले पार्टी भित्रैबाट अनावश्यक झमेला झिक्ने, संसद्लाई प्रभावकारी हुन नदिने, विधेयकहरू बन्न नदिएर अल्झाउने काम भएपछि आफूले संसद् विघटन गरेको उल्लेख गर्नुभयो ।

पार्टीभित्रैको एक समूहले पार्टी कब्जा गर्ने उद्देश्यका साथ आफूलाई साधारण सदस्यता पनि नरहने गरी निष्कासन गरेको स्मरण गर्दै अध्यक्ष ओलीले अब देशव्यापीरूपमा अभियान लिएर पार्टी निर्माणमा जुट्नुपर्नेमा जोड दिनुभयो ।