बनेपामा आमा छोरा शंकास्पद मृत्यु प्रकरण : ‘हत्या गरेर भाग्ने प्रयासमा थिएँ, पक्राउ परेँ’

32.3k
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

बनेपा नगरपालिका वडा नम्वर ११ सिनागालमा आमा छोराको हत्या भएको १४ दिन पछि हत्या आरोपी महिलाका श्रीमानले आमा छोराकै हत्या गरेको स्विकारेका छन् । प्रहरी निगरानीमा अस्पतालमा उपचारार्थ उनको असार १३ गते डिस्चार्ज भएको थियो । डिस्चार्जसँगै प्रहरी हिरासतमा रहेका उनले आमा छोराकै हत्या आफुले गरेको स्विकारेका हुन् ।

‘पाँचखाल नगरपालिका घर भई बनेपा ११ मा डेरामा बसोबास गरी बनेपाको नालादोवाटोमा पसल गरी बस्ने ३० बर्षिया मनिषा कार्की घिमिरे (उपाध्याय) र उनको ६ बर्षिय छोरा युवान घिमिरेको रहस्यम मृत्युमा प्रहरीले अनुसन्धान गरिरहेको छ’–जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रवक्ता डिएस्पी हरि खतिवडाले भन्नुभयो–‘मृत्युको खवर पाए लगत्तै प्रहरीले घटनाका बारेमा अनुसन्धान शुरु गरेको थियो । घटनामा संलग्न भनिएका मनिषाका श्रीमान कमल भनिने माधवप्रसाद घिमिरेलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको थियो । असार १५ गते कमलले श्रीमती र छोराको आवेशमा हत्या गरेको स्विकारेका छन् ।’

हत्या गरिएको २४ घण्टासम्म शव ब्यवस्थापन गर्न, घटना लुकाउन र आफु पनि फरार हुन अनेकन प्रयास गरेको तर नसके पछि घटनाका बारेमा सार्वजनिक भएको घिमिरेले प्रहरीलाई बयानमा भनेका छन् ।
घटनाको केहि दिन अघि नै कमल भनिने माधवप्रसाद घिमिरेको छट्टपट्टि थियो भने युवान र उनको ममि मनिषामा पनि निराशा रहेको छिमेकीहरुले बताएका छन् । मनिषा र युवानको टिकटक भिडियोले पनि केहि घटनाका संकेत गरेको भए पनि श्रीमानबाटै मनिषा र युवानको हत्याको आशंका कसैले गरेका थिएनन् ।

प्रेम विवाह गरी भारतको आसामबाट काभ्रेको धुलिखेल आएका कमल र मनिषा एक अर्कालाई धेरै मन पराउने भए पनि पछिल्लो समय कमलको अर्काे युवतीसँग चलेको प्रेम चक्कर, मोवाईलमा खेलिने गेमबाट लागेको ऋण र अन्य कारणबाट सम्वन्धमा दरार उत्पन्न भएको थियो । श्रीमान श्रीमतीकै अलग अलग फेन्सि पसल भए पनि कमल भनिने माधवप्रसाद घिमिरेले पछिल्लो समय पसलमा भन्दा अन्यत्र समय दिन थालेको आशंका परिवारका सदस्यहरुले गरेका थिए ।

बनेपा नगरपालिका वडा नम्वर ११ सिनागाल स्थित बानियाँ टोलमा १० महिना अघि डेरा सरेका कमलले असार २ गते मनिषा र युवानको हत्या गरेका थिए । हत्याका बारेमा अझै थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ । अस्पतालमा गरिएको पोस्टमार्टम रिपोर्ट, भिसेरा लगायतका अन्य परिक्षणका प्रमाणहरु जुटिसकेका छैनन । प्रहरीले हत्या गरेको स्विकार्नु अगावै त्यसको तथ्य प्रमाणहरु संकलन गरिसकेको थियो । अझै अनुसन्धानमै रहेको प्रहरी प्रवक्ता डिएस्पी हरि खतिवडाले बताउनु भयो । असार ३ गते विहानै सुत्ने कोठामा ताल्चा लगाएर कमल पसल खोल्न भन्दै निस्किएका थिए ।

दिनभर मनिषाको मोवाईल फोन नउठेको र मनिषा पनि कतै फेला नपरे पछि राति ८ बजे कमलमाथी शंका गर्दै हत्याको आशंका गरेका थिए । हत्या भएको सूचना चुहिएको डरले कमल भागेका थिए । भाग्दै गरेका कमललाई प्रहरी र स्थानीयको सहयोगमा पक्राउ गरी अस्पताल पु¥याईएको थियो । १३ दिनको उपचार पनि उनि डिस्चार्ज भएका थिए । बयानको क्रममा उनिहरुलाई मारेर आफुले पनि धेरै चक्कि सिटामोल खाएको बताएका छन् । शंकास्पद घटनाका बारेमा प्रहरीले नजिकबाट प्रमाणहरु संकलन गरी अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक राजन कोईरालाले बताउनु भयो ।

माईती पक्षका मनिषाका दाजु टिकाराम कार्कीले प्रहरीलाई टेलिफोनबाट निश्पक्ष छानविनको माग गरेका छन् । कोरोना भाईरसका कारण भएको लकडाउनका कारण तत्कालै घटनास्थलमा आउन नसक्ने बताउँदै टिकारामले शवको अन्त्येष्टी र नेपालको प्रचलित कानुन अनुसार दोषिलाई हदैसम्मको कारवाही र अनुसन्धानमा कमि हुन नदिन अनुरोध गरेका छन् । मनिषा र युवानको अन्तयेष्टी भएको छ । मनिषाका ससुरा ८२ बर्षिय शान्तप्रसाद घिमिरेले दागबत्ति दिएर किरिया गर्नु भएको छ । उहाँकै जाहेरीका आधारमा प्रहरीले कमल भनिने माधवप्रसाद घिमिरेलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

कमल भनिने माधव को हुन् ?

बनेपा नगरपालिका वडा नम्वर ८ स्थित नाला दोबाटोमा फेन्सि पसल गर्दै आएका कमल भनिने माधवप्रसाद घिमिरेको प्रेम विवाह हो । पाँचखाल नगरपालिका वडा नम्वर ७ स्थायी घर भए पनि कमलका बुबाहरु ललितपुर जिल्लाका स्थायी बासिन्दा हुन् । ललितपुरमा रहँदै कमलका बाबु शान्तप्रसाद ५० वर्ष अघि भारतको आसाम पुगेका थिए । पुख्र्यौली सम्पती केहि नलिई आसाम पुगेका शान्तप्रसादका सन्तान उतै हुर्किए । तीन छोरा मध्ये जेठो भारतिय सेनामा भर्ति भएका छन् । एउटा छोरा आसाममै आयुर्वेदिकमा कार्यरत छन् । कमल अर्काे छोरा हुन् ।

आसाममा खासै जग्गा जमिन थिएन । ललितपुरबाट गएका शान्तप्रसादले त्यहाँ पुगेर ब्रम्हाण शिक्षा अध्ययन गरे । जजमानी गर्दै परिवार चलाउन थाले । त्यहाँ पुगेपछि घिमिरेबाट उनि उपाध्याय भए । छोराहरुले आसाममै अध्ययन गरे । अध्ययनकै क्रममा कमलले त्यहि घर भएकी मनिषासँग प्रेम गरे । प्रेम परेको केहि समय पछि परिवारको सहमति बेगर विवाह गरे । मनिषा कार्कीका पाँच दिदीबहिनी हुन् । एक दाजु छन् । उनी कान्छि हुन् ।

भारतको सोनितपुर जिल्ला तेजपुर स्थित कुठिमारी टोलमा मनिषाको माईती हो । विवाहको एक वर्ष पछि नै उनिहरुबाट एक सन्तानको जन्म भयो । जन्म घर ललितपुर खोज्दै कमल नेपाल फर्किए । श्रीमती र बच्चा लिएर आएका उनि ललितपुरमा रहेका आफन्त पाँचखाल बसाई सरेको जानकारी पाए । पाँचखाल आएर दाजुभाई तथा फुपुको घरमा बसेको केहि समय पछि कमलले बुबा शान्तप्रसाद र आमालाई ल्याए । अंशबण्डा समेत नभएको अवस्थामा दाजुभाईले उनिहरुलाई अंश दिए । नेपालमै बस्ने गरी परिवार सेटल हुँदै थियो ।

कमल श्रीमती र बच्चालाई छाडेर बैदेशिक रोजगारीमा गए । केहि वर्ष बैदेशिक रोजगारीमा गए पछि थोरै पैसा पनि कमाए । त्यतिबेला कमलको जेठी भाउजु सासु ससुरासँग बस्ने गरी काभ्रे आईसक्नु भएको थियो । सासु ससुराको उमेर धेरै भईसकेकाले आधा समय आसाममा र आधा समय नेपालमै बस्न थाल्नु भएको थियो । अहिले शान्तप्रसादको श्रीमती उतै छोरासँग आसाममा हुनुहुन्छ । बैदेशिक रोजगारबाट फर्किए पछि केहि गर्ने उदेश्यले दाजुभाईहरुको सल्लाहमा कमलले बनेपाको नाला दोवाटोमा फेन्सी पसल राखे । त्यहि पसलबाट उनले सम्वन्ध विस्तार गर्दै गए । ब्यवसाय राम्रो हुँदै गयो ।

उनको हौसिने बानीले धोका दिदै गयो । संगत खराव हुँदै गयो । मादक पदार्थको अत्याधिक सेवन, गाँजा, चुरोट जस्ता कुलतमा ध्यान जान थाल्यो । हुँदा हुँदा परस्त्रीसँगको सम्वन्धले श्रीमतीसँग झगडा पर्न थाल्यो । बैकको साझेदारी ऋण, जग्गा र शेयरको कारोवार, कुलत जस्ता कारण उनि मानसिक दबाबमा पर्न थाले । तनावको ब्यवस्थापन उनले श्रीमती माथि पोख्न थाले । केहि महिना अघि मात्रै श्रीमतीका लागि अलग्गै तर सँगसँगै फेन्सि पसल खोलिदिए ।

तर पनि परिवारसँगको सम्वन्ध सुध्रन सकेन । कमलको आधा परिवार आसाममा छ । मोवाईलमा गेम खेलेर शुरुमा ४ लाख कमाएको र पछि १० लाख एकै दिनमा सिध्याएको घटनाबाट पनि उनि विक्षिप्त थिए । मनिषा र युवानको हत्या पछि उनी शवसँगै सुतेको बयान दिएका छन् । सिरकले मुख थुनेर हत्या गरेको भने पनि कसरी हत्या भयो प्रहरी अनुसन्धानले अझै नयाँ तथ्य पत्ता लगाउँदै गरेको प्रहरीका अनुसन्धान अधिकारीले जानकारी दिए ।