दुई सातापछि माथिल्लो तामाकोसीको बिजुली काठमाडौंमा


नेपाल समाचारपत्र, काठमाडौं । 

४५६ मेगावाट जडित क्षमताको स्वदेशी लगानीमा निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको पहिलो युनिटबाट विद्युत् उत्पादन गर्न अन्तिम चरणको परीक्षण भइरहेका छ । आयोजनाबाट २१ असार सोमबारदेखि पहिलो युनिटबाट विद्युत् उत्पादन गर्ने गरी परीक्षण तीव्र पारिएको हो ।

७६-७६ मेगावाटका ६ युनिट रहेको आयोजनाको पहिलो युनिटबाट विद्युत् उत्पादन भएपछि बाँकी युनिटबाट क्रमश: विद्युत् उत्पादन गर्दै जाने आयोजनाले जनाएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक एवं अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका अध्यक्ष हितेन्द्रदेव शाक्यसहितको टोलीले आइतबार र सोमबार आयोजना निर्माणस्थलको अनुगमन गरेपछि पहिलो युनिटबाट सोमबारबाटदेखि विद्युत उत्पादनको तालिका तय गरेको हो । टोलीले विद्युत गृहका उपकरणहरुको परीक्षण, बाँधस्थल, निर्माणाधीन २२० को न्यू खिम्ती सबस्टेसनलगायतको अनुगमन गरी निर्माणमा संलग्न अधिकारीहरुसँग छलफल गरेको थियो ।‘विभिन्न समस्या झेल्दै आएको आयोजनालाई निरन्तरको प्रयासबाट विद्युत् उत्पादन गर्ने अवस्थामा पु-याएका छौं, सम्पूर्ण परीक्षणहरु अन्तिम चरणमा पुगेका छन्, अब कुनै प्राविधिक समस्या नआएमा सोमबार बिहान स्विच अन गरी पहिलो युनिबाट विद्युत उत्पादन शुरु गर्छौं,’ उहाँले भन्नुभयो–‘माथिल्लो र तल्लो ठाडो सुरुङको बीच भागमा राखिने पेनस्टक पाइपको डिजाइन परिमार्जन र निर्माण सम्पन्न भएर भासिएको प्रसारण लाइनको टावर निर्माणका विषयमा कम्पनीबाट तत्काल निर्णय नलिइएको भए आयोजना अझै पर धकिलिने अवस्था थियो, समयमै निर्णय गरी काम सम्पन्न गरेका छौं ।’

जलाशय र बालुवा थिग्राउने पोखरीमा पानी भरी बाँध, इन्टेकलगायतका सिभिल संरचनाहरु र त्यहाँ जडान गरिएका गेट, स्टपलग जस्ता हाइड्रोमेकानिकल उपकरणहरुको सबै प्रकारका परीक्षणसम्पन्न भइसकेका छन् । आयोजनाबाट उत्पादित विद्युत् गोंगर–खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाह गरिने छ । यसका लागि प्रसारण लाइनको निर्माण सम्पन्न भइसकेको छ भने लाइनको परीक्षण भइरहेको छ ।७६ किलोमिटर खिम्ती–ढल्केबर प्रसारण लाइनको परीक्षण भइरहेको छ । माथिल्लो तामाकोसीको विद्युत् गृह दोलखाको गोंगरबाट रामेछापको खिम्तीसम्मको ४७ किलोमिटर २२० केभी प्रसारण लाइनको परीक्षण गरिने छ । सबस्टेसनको निर्माण सम्पन्न भएपछि आयोजनाको विद्युत् न्यू खिम्तीबाट ढल्केबरतर्फ र खिम्ती–लामोसाँघु–भक्तपुर प्रसारण लाइनमार्फत काठमाडौं उपत्यकातर्फ प्रवाह गरिने छ । सबस्टेसन १५ दिनभित्रमा सञ्जालनमा आउनेछ ।आयोजनाको साइट कार्यालय, आयोजनास्थलसम्मको पहुँच सडक, पुललगायतका पूर्वाधार निर्माणको कार्य आर्थिक वर्ष २०६२-६३ मा र मुख्य संरचनाहरुको निर्माण आर्थिक वर्ष २०६७६८ मा शुरु भएको थियो । भूकम्प, बाढीपहिरा, नाकाबन्दीलगायतको समस्या, डिजाइन परिवर्तन, हाइड्रोमेकानिकल (लट २) ठेकेदारको कमजोर कार्यसम्पादन लगायतले गर्दा आयोजनाको निर्माण ढिलाइ भएको थियो ।

भूकम्पले गर्दा झण्डै दुई वर्ष काम रोकिएको, बाँधस्थलतर्फ जाने सुरुङमार्ग बनाउनु परेको, केही संरचनाको डिजाइन हेरफेर, कोभिड–१९ लगायतले आयोजनाको निर्माण प्रभावित भएको थियो । लट २ को ठेक्का पाएको टेक्स्म्याकोले काम गर्न ढिलाइ गरेपछि अत्यन्तै कठिन मानिएको तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा आयोजनालाई वित्तीय भार नपर्ने गरी इलेक्ट्रोमेकानिकल (लट ३) को ठेकदारलाई दिइएको थियो । आयोजनाले चरिकोट (दोलखा)–सिंगटी ३५ किलोमिटर सडकमा करिब एक अर्ब रुपियाँ खर्च गरी स्तरोन्नति गरेको थियो । आयोजनाले सिंगटीदेखि बाँधस्थल लामाबगरसम्म सुरुङमार्गसहित २९ किलोमिटर सडक र ७ वटा पक्की पुल बनाएको छ ।