सरकारलाई चौतर्फी घेराबन्दीमा पार्ने काम भयो : प्रवक्ता ज्ञवाली

14
Shares

पुष्कर बुढाथोकी, भक्तपुर ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रवक्ता तथा पुर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारविरुद्ध अहिले चालिएका सबै चक्रब्यूह तोडेर अगाडि बढ्ने बताउनु भएको छ । राष्ट्रिय धान दिवसको अवसरमा आज राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको आयोजना तथा युवा संघ नेपाल भक्तपुरको समन्वयमा सूर्यविनायक नगरपालिका–९ नंखेलमा आयोजना गरिएको रोपाई विशेष कार्यक्रममा बोल्दै उहाँले अहिले सरकारलाई चौतर्फी घेराबन्दीमा पार्ने काम भएको बताउनुभयो ।

उहाँले यो खेल वर्तमान् प्रधानमन्त्रीलाई हटाएर अर्कोलाई प्रधानमन्त्री बनाउने मात्रमा सिमिति नभएको दाबी गर्नुभयो । जब जब एमाले विकासको लहर लिएर आउँछ तब तब एमालेलाई घेराबन्दीमा पारेर सिध्याउने षडयन्त्र हुने गर्छ भन्दै उहाँले एमालेलाई सिध्याउने २०५० सालदेखिको षडयन्त्र असफल हुदै आएको बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मुलुकलाई गएका केही वर्षमा विकास र समृद्धिको नयाँ उचाइमा पु¥याएको बताउँदै उहाँले सरकारले गरेका सबै उपलब्धीलाई सिध्याउने खेल मुलुककै लागि घातक भएको उहाँको भनाइ छ ।संविधान बनाउँदा भएको हस्तक्षेपको, नाकाबन्दीको सामना गर्दै, जातजाती, धर्म, लिङ्ग, मधेश पहाडदेखि भूगोलको विषय उठाएर हिंसा भड्काउने खेल विगतदेखि नै भएको भन्दै उहाँले अब युवा अगाडि बढ्नु पर्ने औल्याउनुभयो ।

कार्यक्रममा युवा संघका इन्चार्ज, पूर्वमन्त्री एवं निवर्तमान् सांसद महेश बस्नेतले सरकारले देशको व्यापार घाँटा घटाउँदै कृषिमा आधुनिकीकरण गर्दै लगेको चर्चा गर्नुभयो ।
प्रधानमन्त्री ओली राष्ट्रनायक हुन् भन्दै उहाँले सरकारको विकासको योजना सफल पार्न युवा संघ जोश जाँगर र उर्जाका साथ अगाडि बढेको उहाँको भनाइ थियो ।
कार्यक्रममा युवा संघका केन्द्रीय अध्यक्ष किरण पौडेलले कृषिको विकास र उत्पादन बृद्धिमा युवा लागेको चर्चा गर्नुभयो ।