निगमको पाइलट तालिममा अनियमितता


काठमाडौं, (नेस)

नेपाल एयरलायन्सका करिब ७० जना पाइलटलाई बहाराइनमा सिमुलेटर तालिम केन्द्र छनोट गर्दा अनियमितता भएको राष्ट्रिय सतर्कता केन्द्रले ठहर गरेको छ । करिब एक वर्षअघि एयरबस ३२० र ३३० का पाइलटलाई अनिवार्य दिनुपर्ने सिमुलेटर (आधाभूत उडान) तालिममा अनियमितता भएको केन्द्रले ठहर गरेको हो ।

उडान अनुमतिपत्र अध्यावधिक राख्नको लागि वर्षमा दुईपटक पाइलटलाई यस्तो तालिममा सहभागी गराइन्छ । सो तालिम निगमकै पैसाले आयोजना गरिन्छ । विदेशी मुलुकमा तालिम केन्द्र छनोट गर्दा खर्च धेरै लाग्छ । तालिमका क्रममा जहाजको सिमुलेटर यन्त्र (डिभाइस)मा विमान चालकको दक्षता, सीपको परीक्षण गरिन्छ । यसबाहेक उडानका क्रममा हुनसक्ने आकस्किम दुर्घटनाबाट जहाजलाई कसरी जोगाउने भन्ने विषयमा प्रयोगात्मक सीप सिमुलेटर तालिमबाट सिकाइन्छ । पाइलटको लागि अत्यावश्यक मानिने उक्त तालिम खर्च नेपाल एयरलायन्सले नै व्यहोर्छ ।निगमको अपरेसन विभागले खर्च व्यहोरो उक्त तालिममा अनियमितता भएपछि केन्द्रले छानबिन गरेको थियो ‘पाइलटलाई दक्ष बनाउनको लागि यो तालिम आयोजना गरिन्छ । तर, तालिम केन्द्रको छनोट गर्दा अनियमितता भएको छ,’ नेपाल एयरलायन्सका एक पाइलटले भने–‘सर्तकता केन्द्रले समेत प्रश्न उडाई सक्दा पनि कुनै कारबाही भएको छैन ।’ बहराइन गल्फ एभिएसन एकेडेमीमा तालिम आयोजना गरिएको थियो ।

तालिक केन्द्र निगमका अपरेशन विभागका प्रमुख दिपुराज जुहारचनले छनोट गरेका थिए । आर्थिक फाइदा लिनको लागि जुहारचनले आफ्नै अनुकूलमा तालिम केन्द्र छनोट गरेका पाइलटहरुको आरोप छ । तर, उक्त तालिक केन्द्र फ्रान्समा पनि छनोट गर्न सकिन्थ्यो । अपरेसन विभाग प्रमुख जुहारचनले आफू अनुकूलको ठाउँमा तालिम केन्द्र राखेर आर्थिक हिनामिना गरेको सर्तकताको प्रतिवेदनमा उल्लेख छ ।केन्द्र छनोट गर्दा बहराइनको गल्फ एभिएसन एकेडेमीले बोलपत्र पेस गरेको थियो । सो विषयमा अनुगमन तथा पारदर्शी बनाउनको लागि मूल्यांकन समिति बनाइएको थियो । समितिले तालिम केन्द्रको दररेट फरक–फरक निकालेको थियो । जसमा फ्रान्समा केन्द्र छनोट गरेको भए खर्च भएको रकममध्ये आधा बच्थ्यो । सो तालिम १४ दिन सम्म गर्न सकिन्थ्यो । तर, बहराइनमा १० दिनको लागि केन्द्र छनोट गरेर अनियमितिता गरिएका छ । तालिम बराइनको गल्फ एभिएसनमा आयोजना गरिएको थियो । तालिमको दररेट र शिलबन्दी निगमका अपरेसन विभाग प्रमुखसमक्ष स्वीकृतिका लागि पेस गरिएको थियो । तालिम केन्द्र छनोट गर्दा निगमको अपरेसन विभागले तालिका तय गरेको थियो । तालिम २०२० सेप्टेम्बर २४ देखि शुरू भएको थियो । तालिममा आवश्यकता र अवस्था हेरेर समूह विभाग गरि प्रशिक्षण दिइन्छ । जसमा सबै पाइलटहरुले १ सय ८८ घण्टा तालिम गरेका थिए ।

तालिम नेपाली प्रशिक्षक पाइलटबाट गराएको भए ५७ हजार ३ सय ४० रुपियाँ लाग्छ । तर, उक्त तालिमा ३२ घण्टा मात्रै नेपाली पाइलटलाई प्रशिक्षकको जिम्मा दिइएको थियो । अन्य १ सय ५६ घण्टा विदेशी पाइलट प्रशिक्षकले तालिम दिइएका थिए । जसमा निगमको ९१ हजार ६ सय ६० रुपियाँ अर्थात् ३७ लाख ७५ हजार खर्च भएको थियो । सस्तो तरिकाले गराउन सकिने तालिम महँगोमा गराउँदा निगमलाई झन्डै ३५ हजार डलर घाटा भएको सतर्कता केन्द्रको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा भनिएको छ, ‘खर्च कम गर्न सकिने अन्य तालिम केन्द्र पनि थिए, तर गल्फ एभिएसनको दरभाउ स्वीकृत गर्नु नियम विपरीत देखिन्छ, जसबाट निगमलाई ५० लाख १६ हजार घाटा भएको देखिन्छ ।’निगमको आर्थिक नियमावलीको विनियम १६१ को (१) मा विदेशी संस्थाबाट उड्डयन सेवा, वायुयान मर्मत सम्हार तथा तालिम आयोजना गर्न परेमा मूल्यांकन समिति गठन गर्ने र समिति नै त्यसको जवाफदेही हुनुपर्ने उल्लेख छ । समितिले उचित ठह-याएमा मात्रै केन्द्र छनोट गर्न सकिने उल्लेख भएता पनि निगमका अपरेसन विभाग प्रमुख जुहारचनले मनोमानी किसिमले प्रशिक्षण तालिक केन्द्र छनोट गरेका थिए ।

नियमावलीले तोकेको दरभाउ अनुसार तालिम केन्द्र छनोट नभएको, ठुलो आर्थिक अनियमितता भएको भन्दै सतर्कताले सम्बन्धित निकायलाई कारबाहीको लागि ध्यानाकर्षण गराएको छ । यसबारेमा निगमका अपरेशन विभाग प्रमुख दिजपुराज जुहारचजले आफूले अनियमितता नगरेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो–‘सबैको सल्लाहमा तालिम केन्द्र छनोट भएको हो, त्यसमा अनियमितता छैन, झुटा प्रतिवेदनलाई हामीले स्वीकार्दैनौं ।’संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले यसबारेमा आफूलाई जानकारी नभएकाले सोधीखोजी गर्ने बताउनुभयो । उहाँले भन्नुभयो–‘निगमलाई घाटा हुने गरी कुनै कार्य भएको छ भने अनुसन्धान गरी कारबाही हुन्छ ।’