![](https://newsofnepal.com/wp-content/uploads/2020/06/suman-raj-tamrakar.jpg)
नलीमा रहेको गर्भ फुट्ने तथा डिम्बाशयको समस्याको परिणाम राम्रो नहुने भएकोले युवती वा महिलामा पेट बढ्ने समस्यालाई खेलाँची गर्नुहुन्न ।यसरी युवती वा महिलामा पेट बढ्नुको मुख्य कारण गर्भवतीसम्बन्धी भए पनि अन्य कारणले पनि पेट बढ्न सक्छ । जस्तो– १. डिम्बाशयको ट्युमर वा क्यान्सर । २. पिसाब थुनिएर वा गर्न नसकेर । ३. पाठेघरमा मासु पलाएर । ४. कलेजो बिग्रेर सिरोसिस भई पेटमा पानी जमेर । ५. अधिक मोटोपना भएर । ६. पेटभित्रका कुनै पनि क्यान्सर फैलिई पानी जम्मा भएर । ७. कहिलेकाहीँ ग्यास्ट्रिक बिग्रेर, आमाशय वा त्योभन्दा तल्लो भागतिरको आन्द्रा प्वाल परेर, पेटमा पिप÷पित्त फैलिएर आदि कारणले पेट बढ्न सक्छ । माथि उल्लिखित सबैजसो समस्याको निदानको लागि बिरामीसँग शुरुवातमै विस्तृतमा सोधपुछपछि शारीरिक चेकजाँचबाट प्रारम्भिक अनुमान लगाउन सकिन्छ । त्यसमाथि भिडियो एक्सरे र केही थरी रगत जाँचबाट समस्या यकिनरुपमा थाहा हुन्छ । गर्भावस्थाको पाँचौं महिनातिरबाट गर्भेशिशु चलमलाउन पनि थाल्छ । नलीमा गर्भ फुटेर आन्तरिक रक्तश्रावका कारण तल्लो पेट फुल्ने अवस्थासम्म त बिरामी बेहोसी अवस्थामा पुग्न सक्छ । के गाउँ, के शहरी क्षेत्र, नेपालमा पनि विवाहपूर्व यौनसम्बन्ध राख्ने चलन बढिरहेको परिप्रेक्ष्यमा गर्भ रहनलाई विवाहित भैसकेको हुनुपर्छ नै भन्ने होइन । शंका लाग्नेबित्तिकै गर्भ छ÷छैन, पिसाब जाँच वा भिडियो एक्सरे गराइहाल्नुपर्छ । डिम्बाशयको बोर्डर लाइन खालको ट्युमर एवं क्यान्सरमा पेटमा पानी जम्मा भइहाल्ने हुन्छ । विडम्बना के छ भने, डिम्बाशयको ट्युमर वा क्यान्सरका शुरुवाती लक्षण चिह्नहरु ग्यास्ट्रिकको सँग मिल्दोजुल्दो हुने हुनाले फिजिसियनतिर धाइरहने वा ग्यास्ट्रिक त हो नि भनेर हेलचेक्र्याइँ गरेर बस्दा ट्युमर वा क्यान्सर बल्झिसकेको हुन सक्छ । अतः शंका लाग्नेबित्तिकै स्त्रीरोग विशेषज्ञसँग परामर्श गरी एकसरो भिडियो एक्सरे र रगतमा ट्युमर मार्कर चेक गराउनु बुद्धिमानी हुन्छ । यसै गरी कहिलेकाहीँ पिसाब थुनिएर पनि महिलाहरुमा पेट बढ्न सक्छ । पिसाब संक्रमण वा आङ खस्ने समस्याका लक्षण चिह्नसम्बन्धी आवश्यक सोधपुछपछि पिसाब निख्राउन क्याथेटर लगाइदिने, पिसाब जाँच गर्ने, पिसाब संक्रमण छ भने एन्टिबायोटिक ख्वाउने, पाठेघर झरेको कारण हो भने पाठेघर ठाउँमा राखिदिएपछि ठीक हुन्छ ।
![](https://sadhana.newsofnepal.com/wp-content/uploads/2021/06/jkljkl-768x398.jpg)