पर्सामा थप एक साताका लागि लम्बियो निषेधाज्ञा

868
Shares

कृष्णउदास खनाल, वीरगन्ज ।

पर्सा जिल्लामा जारी निषेधाज्ञाको अवधि पुन: लम्बिएको छ ।जिल्लामा बढ्दै गरेको कोरोना भाइरस संक्रमणको चेन ब्रेकका लागि बैशाख १६ गतेदेखि जारी निषेधाज्ञाको अवधि आइतबार नवौं पटक थप्दै असार २० गते राति १२ बजेसम्मका लागि लम्ब्याइएको हो ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को आइतबार बसेको बैठकले संक्रमण दर घट्दै गइरहेको अवस्थालाई मध्यनजर गर्दै परिमार्जनसहित निषेधाज्ञा बढाइएको डिसिसिएमसीका संयोजक एवम् पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बताउनुभयो । कोरोनाको दोश्रो लहर बढेसँगै पर्सामा पहिलो पटक बैशाख १६ गतेबाट जिल्लाभर निषेधाज्ञा लागू गरिएको थियो ।

बैशाख १६ बाट पहिलो पटक थप गरी बैशाख २३ सम्ममा र दोश्रो पटक थप गरी बैशाख मसान्तसम्ममा र तेश्रो पटक जेठ ६ गतेसम्म,चौंथो पटक जेठ १३ गते सम्म,पाँचौं पटक जेठ २१ गतेसम्म र छैठौं पटक जेठ ३० गतेसम्मका लागि लम्बाइएको निषेधाज्ञा सातौं पटक परिमार्जन सहित थप गरेर असार ६ गतेसम्मका लागि लम्बाइएको र फेरि धेरै खुकुलो गर्दै आठौं पटक जेठ १३ अथवा आइतबार मध्यरातिसम्मका लागि थप गरिएको थियो । आइतबार बसेको डिसिसिएमसी बैठक नवौं पटक निषेधाज्ञा थप गरी असार २० गतेसम्मका लागि लम्बाइएको हो ।

यसैबीच दोश्रो लहरको कोरोनाका कारण हटस्पट बनेको पर्सामा सकृय संक्रमितको संख्या ५० भन्दा कममा झरेको छ । जिल्ला प्रशासन कार्यालय पर्साले दिएको जानकारी अनुसार अब पर्सामा जम्मा सकृय कोरोना संक्रमितको संख्या ४४ मात्रै रहेको छ । अस्पतालमा पनि बेडहरु खाली भएका छन् । कोरोना संक्रमितहरुका लागि भन्दै छ्ट्याइएका बेडहरु लगभग खाली भएका छन् । हाल जम्मा १४ जना कोरोना संक्रमितहरुको वीरगन्जको बिभिन्न अस्पतालमा उपचार भइरहेको छ । पर्सामा हाल एकजनाको मात्रै भेन्टीलेटरमा उपचार भइरहेको जिल्ला प्रशासन कार्यालय पर्साका कोरोना फोकल पर्सन बिनय श्रीवास्तवले जानकारी दिनुभयो । हाल वीरगन्जको नारयणी अस्पतालमा १२ जना र नारायणी बयोधा अस्पतालमा मात्र २ जना उपचार रहेको पनि उहाँले जानकारी दिनुभयो । बाँकी ३० जना भने होम आइसोलेनमा रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । सरकारले भने ५ सय सकृय संक्रमित रहेको खण्डमा मात्रै निषेधाज्ञा लगाउन सक्ने जनाएको छ ।