कृषि विकासमा लगानीको अभाव


नेपालको अर्थतन्त्रलाई विकसित गर्न कृषकको आर्थिक स्थितिमा सुधार गर्नै पर्छ । विभिन्न समयमा बनेका सरकारले कृषिलाई ध्यान दिइआएका छन् । अब आउने सरकारले पनि कृषिलाई विशेष ध्यान दिनै पर्छ । कृषकको उत्पादन सुविधामा सुधार भए एक वर्षमै कृषि उत्पादन बढाएर घाटा कम गर्न सकिन्छ । यसका लागि कृषकलाई प्रोत्साहनका साथै सिंचाइमा पनि जोड दिइनुपर्छ ।

कृषि क्षेत्रको आधुनिकीकरणबाट कृषिको उत्पादकत्व बढाउन मेसिनरी तथा उपकरणको अत्यधिक उपयोग, कृषि विशेषज्ञको प्रयोग, किसानहरूलाई उपयुक्त तालिम र कृषि सडक, सिंचाइजस्ता पूर्वाधार विकास भएमा नेपालले केही वर्षमा आर्थिक वृद्धि गर्न सक्ने थियो ।सबैभन्दा बढी सम्भावना भएको कृषि क्षेत्रमा ठूला उद्योगीको लगानी कम छ । कृषिउन्मुख उद्योगमा लगानी कम छन् । कृषि उत्पादनमा निजी क्षेत्रको लगानी बढाउनका लागि करार खेती ऐनको आवश्यकता उपयुक्त हुन्छ । नेपालको कुल गार्हस्थ्य उत्पादनमा करिब एक तिहाइभन्दा बढी योगदान कृषि क्षेत्रको भएकाले देशको आर्थिक वृद्धिदरको निर्धारण कृषिको उत्पादनमा निर्भर रहन्छ । देशको जनशक्तिको करिब ७१ प्रतिशत जनशक्ति कृषि क्षेत्रमा नै छ । तर देशको आर्थिक वृद्धिमा कृषिको योगदान २७ प्रतिशत मात्र छ । नेपाली अर्थतन्त्रमा उद्योगको योगदान घट्दै गएको छ ।

सेवा क्षेत्रले कृषि र उद्योग क्षेत्रको कुल योगदानलाई समेत उछिनेको छ । तर रोजगारीको दृष्टिबाट हेर्दा कृषि क्षेत्रको उल्लेखनीय योगदान भएकाले कृषि क्षेत्रको उत्पादकत्वमा वृद्धि नहुनु र अर्धबेरोजगारी उच्च हुनु हो । कृषिमा लगानी पर्याप्त नभएका कारण कृषि व्यावसायिक हुन सकेको छैन । नेपालमा वैदेशिक लगानीको आकर्षण बढ्दै गएको देखिन्छ । लगानी बढ्दै गएको देखिए पनि निर्यात पर्याप्त भएको छैन । नेपालको अर्थतन्त्र क्षेत्रीय अर्थतन्त्रको दाँजोमा खुला भएको देखिँदैन ।विश्व अर्थतन्त्रमा संकुचित आए पनि एसिया–प्रशान्त क्षेत्रमा लगानी सन्तोषजनक रहेको देखिएको छ । विश्वको एक तिहाइ वैदेशिक लगानी एसिया–प्यासिफिक क्षेत्रमा रहेको देखिन्छ । यस्ता क्षेत्रमा वैदेशिक लगानी बर्सेनि १० प्रतिशतले बढ्दै गएको छ । यी देशमा मुख्यतः चीन र आसियानमा प्रवाह भएको वैदेशिक लगानी सबभन्दा उच्च छ ।नेपालले गरिबी निवारणको विषयमा प्रगति गरे पनि आर्थिक असमानता बढेको देखिन्छ । एसिया–प्रशान्त क्षेत्रका अधिकांश देशको गरिबी घटेको बताइन्छ । वैदेशिक लगानी नेपालमा वृद्धि हुँदै गए पनि यो पर्याप्त नभएको र कुल गार्हस्थ्य उत्पादनको तुलनामा निकै कम भएको देखिएको छ ।
– माधव थापा, कैलाली ।