खेलकुद विकासबाट मुलुक समृद्ध बन्न सक्छ


खेलकुदको विकासका लागि सबैभन्दा ठूलो भनेकै बजेट हो । बजेटका लागि सरकारले हेर्ने दृष्टिकोणमा भरपर्छ । खेलकुदको विषयमा सरकारको दृष्टिकोण नै स्पष्ट छैन । खेलकुदलाई जसरी प्राथमिकतामा राख्नुपर्ने हो त्यो भएको छैन । खेलकुद पनि उत्पादक क्षेत्र नै हो । खेलकुदमा छुट्याइएको बजेट पनि लगानी नै हो भनेर बुझ्न आवश्यक छ ।

राणाकालअघिको कालखण्ड नेपालको खेलकुद विकासको पाटो अँध्यारो नै देखिन्छ । त्यतिखेर राज्यले खेलकुद विकासका लागि खासै प्रयत्न गरेको देखिँदैन । टोलटोलमा विभिन्न जात्रा, पूजाआजा र चाडपर्वका अवसरमा सामान्य प्रकृतिका खेल खेल्ने गरिएको भए पनि राज्यस्तरबाट मुलुकको खेलकुद विकासका लागि त्यति ध्यान दिएको भेटिँदैन ।राणाकालको अन्त्यतिर आएर बल्ल मुलुकको खेलकुद विकासका लागि केही प्रयास भए-गरेका देखिन्छन् । राणाहरू एसिया र युरोपका विभिन्न देशमा पुग्न थालेपछि उनीहरूले फर्कंदा आफूसँगै उताका विभिन्न खेललाई पनि भित्र्याए । शुरु–शुरुमा दरबारको चौघेराभित्रै सीमित भए पनि त्यसले मुलुकमा खेलकुदको बीजभूमि तयार ग¥यो । त्यतिखेर खेलकुदलाई धनाढ्यहरूको मन बहलाउने वा तमासा हेर्ने अवसरका रूपमा लिने गरिन्थ्यो । तैपनि त्यसले मुलुकको खेलकुद विकासको सामान्य जग भने तयार गरेकै मान्नुपर्छ ।राणाकालमा रोपिएको खेलकुदको बीज अंकुरित हुन, त्यसमा हाँगा–पात पलाउन र फूल फुलेर फल लाग्न समय लाग्नु स्वाभाविकै थियो । जसले गर्दा नेपाली खेलकुदले प्रजातन्त्र प्राप्तिपश्चात् पनि खासै गति लिन सकेन । यो धिमा गतिमै अघि बढिरह्यो । तर यसले आशा गर्न सकिने प्रशस्त सम्भावना भने देखाएकै हो । यस क्रममा राजधानीमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण हुनु पनि मुलुकको खेलकुद विकासका क्षेत्रमा एउटा बलियो कोसेढुंगा मान्न सकिन्छ ।

त्यसै गरी राजधानीबाहिरका विभिन्न जिल्लामा क्षेत्रीय र जिल्लास्तरका रंगशाला अनि अन्य भौतिक पूर्वाधार निर्माण, राष्ट्रिय र क्षेत्रीय स्तरमा विभिन्न खेलकुद संघहरूको स्थापना, अन्तर्राष्ट्रिय खेल जगत्सँगको सम्बद्धता र विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता आदिले गर्दा मुलुकको खेलकुद क्षेत्र क्रमशः विकासको बाटोमा उँभो लम्किरहेको अनुभव हुन्छ । बेलाबेलामा आयोजना हुने नगर, जिल्ला, क्षेत्रीय र राष्ट्रिय स्तरका प्रतियोगिताहरूले पनि मुलुकको खेलकुदमा विकासको ढोका खोलेको अनुभव गर्न सकिन्छ ।देशको अर्थतन्त्रलाई बढाउन पनि खेलकुदको भूमिका ठूलो हुन्छ । विश्वका धेरै देशले खेलकुदका माध्यमबाट अर्थतन्त्रलाई बलियो बनाएका छन् । विश्वकप आयोजना गर्न सक्ने खेल मैदान निर्माण गर्ने ऋणको व्यवस्था मिलाइदिने हो भने त्यहीँबाट आम्दानी हुन्छ । एउटा रंगशालाबाट वर्षमा १५–२० करोड नाफा निस्कन्छ । त्यति मात्र होइन, विदेशी खेलाडी र समर्थकले गर्ने खर्च पनि देशकै लागि हो ।

त्यसतर्फ सरकारको ध्यान जान आवश्यक छ ।खेलकुदमा छुट्याइएको बजेट त्यसै खर्च भएर जान्छ भन्ने सोच बदल्न आवश्यक छ । खेलकुद राम्रो प्रतिफल दिने क्षेत्र हो भन्ने बुझाउनै समय लाग्ने अवस्था छ । सरकारले राम्रो नीति र बजेटको व्यवस्था गर्ने हो भने आगामी १० वर्षमा खेलकुदले नेपाललाई स्थापित गर्न सक्छ । राजनीतिक दल, नेता र सरकार खेलकुदमैत्री हुन आवश्यक छ । नेपालमा खेलकुदको सम्भावना राम्रो छ ।
– नवराज चौलागाईं, दैलेख ।