देशकै मुख्य मुहान क्षेत्रमा विद्युत् अनियमित

364
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

‘बत्तीमुनि अँध्यारो’ भने झैं नेपालको जलविद्युत्को मुटु कुलेखानी जलविद्युत् आयोजनाका लागि विद्युत् उत्पादनको मुख्य मुहान क्षेत्रमा लामो समयदेखि विद्युत् अनियमित भइरहेको छ ।

थाहा नगर, इन्द्रसरोवर गाउँपालिका, कैलाश गाउँपालिका र भीमफेदी गाउँपालिका यसबाट प्रत्यक्ष प्रभावित भएका हुन् । उक्त समस्या समाधान गरी नियमितरुपमा विद्युत् आपूर्ति माग गर्दै नेकपा माओवादी केन्द्र थाहानगर कमिटीले बिहीबार नेपाल विद्युत् प्राधिकरण बितरण केन्द्र पालुङमा ज्ञापनपत्र बुझाएको छ ।

केन्द्रका नगर अध्यक्ष अरुण रायमाझीले वितरण केन्द्र पालुङ प्रमुख बिनोद अधिकारीमार्फत् प्राधिकरणको ध्यानाकर्षण गराउनुभएको छ । एक साताभित्र चालु अवस्थामा सुधार नआए संघर्षका कार्यक्रम गर्न बाध्य हुने चेतावनी दिइएको छ । पत्रमा भनिएको छ–हाल भइरहेको विद्युत् अनियमितता सुधार गरी विद्युत्लाई २४ सै घण्टा नियमित गर्ने वातावरण सुनिश्चित गर्न आग्रह गर्दछौं ।

विगतदेखि नै थाहा नगरमा अनियमितरुपमा विद्युत् सेवा अवरुद्ध हुने र उक्त समस्याका कारण उद्योग, व्यवसाय, कलकारखानासमेत धरासयी बनेको स्थानीय बताउँछन् । विद्युत् आपूर्ति सहज नहुँदा उक्त क्षेत्रको जनजीवन कष्टकर बन्नुका साथै विद्युत् अनियमित हुँदा कोरोना संक्रमितको उपचार र विद्यार्थीको अनलाइन पढाइमा समस्या उत्पन्न भएको स्थानीयको गुनासो छ । वितरण केन्द्र पालुङ प्रमुख अधिकारीले माथिल्लो निकायमा प्रक्रिया सुरु गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

मार्खु सबस्टेशन तत्काल चालु गर्ने र निर्माणाधीन ३३ केभी लाइन निर्माणको काम तत्काल सम्पन्न गर्ने सुनिश्चित गर्न पत्रमा उल्लेख छ । गत वर्ष स्थानीय सरोकारवाला र प्राधिकरणबीच तत्काल काम शुरु गर्ने सहमति भए पनि काम शुरु नहुनु प्राधिकरणको बेवास्ता भएको पत्रमा गुनासो गरिएको छ ।

उक्त क्षेत्रकै पानीबाट कुलेखानी प्रथम, कुलेखानी दोस्रो र कुलेखानी तेस्रो तीन आयोजना निरन्तर चलेका छन् । कुलेखानी प्रथममा ६० मेगावाट्, दोस्रोमा ३२ मेगावाट् र कुलेखानी तेस्रोमा १४ मेगावाट् गरी १ सय ६ मेगावाट् जलविद्युत् उत्पादन क्षमता छ ।

कुलेखानी जलविद्युत्ले समग्र नेपाली विद्युत् क्षेत्रमा महत्व राख्ने गर्दछ । यसका लागि बनाइएको इन्द्रसरोवरको लम्बाई करिब ८ किमी र गहिराइ करिब ९७ मिटर छ । उक्त ताल २०३८ सालमा बनेको हो । यस परियोजनाअन्तर्गत् सञ्चालित कुलेखानी–२ र कुलेखानी–३ ले पनि क्रमशः थप ३० मेवा र १४ मेवा विद्युत्बाट राष्ट्रिय प्रसारणलाइनमा योगदान पुर्‍याएका छन् ।

सरोवरमा सञ्चित पानीबाट सुक्खायाममा विद्युत् उत्पादन गर्न सकिन्छ । कुलेखानी बाँधबाट ६ किमी सुरुङमार्फत् लगिएको पानीले धोर्सिङमा ६० मेवाट् विद्युत् निकालिन्छ । आयोजनाको विद्युत्गृह सोही स्थानको ढोकाफेदीमा भूमिगत छ । तालमा पानीको सतह समुद्री सतहबाट एक हजार ५ सय ३० मिटरसम्म पनि पुग्ने गर्छ । उक्त अवस्थामा पानीको गहिराई १ सय ७ मिटर हुन्छ ।