नेपालमा कोरोनाको नयाँ भेरियन्ट भेटिएको स्वास्थ्य मन्त्रालयको दावी

532
Shares

न्युज अफ नेपाल, काठमाडौ ।

नेपाल सरकारले नेपालमा कोरोना संक्रमित तथा संक्रमणबाट हुने मृत्यु दरमा कमी आएको रिपोर्ट दिनप्रतिदिन सार्वजनिक गरिरहँदा नयाँ भेरियन्ट नेपालमा फैलिएको रिपोर्ट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत महिना वैशाख २६ देखि जेष्ठ २० गतेसम्म देशका विभिन्न भागहरूबाट विभिन्न उमेर समूहका व्यक्तिबाट संकलित नमूनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनौट गरी ४८ वटा नमूना विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालय तथा दक्षिण पूर्वी एसिया क्षेत्रीय कार्यालयको सहयोग र समन्वयमा भारतको नयाँ दिल्लीस्थित डब्ल्युएचओ आइडेन्टीफाइड सेन्टर अफ एक्सिलेन्स इन जिनोमिक द इन्च्टिच्युट अफ जिनोमिक एण्ड इन्टिग्रेटिभ बायोलोजीमा सेक्वेन्सिङका लागि पठाइएको जनाएको छ ।

नेपालमा ४८ वटा नमूना संकलन गरिएको मध्ये ४७ वटा नमूनामा विश्वका ८० भन्दा बढी मुलुकमा फैलिएको डेल्टा भेरियन्ट पत्ता लागेको छ भने १ जनामा मात्रै अल्फा भेरियन्ट जुन नेपालमा केही समय अघि थियो र अहिले संसारभरि १ सय ६४ मुलुकमा फैलिसकेको अल्फा भेरियन्ट दोहोरीएको छ । ४८ जनामा देखिएको भेरियन्ट मध्ये ९ जनामा के ४.१.७ एन भन्ने नयाँ म्यूटेसन अरु भन्दा परिवर्तित रुप भएको भेरियन्ट भेटिएको हो । यो नेपालमा अघिल्लोपटकको सिक्योन्सिमा पनि भेटिएको भेरिएन्ट हो । यो नयाँ भने नभएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी गराउँनुभयो ।

यो विश्वका १० वटा मुलुकमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले प्रमाणित गरेको के ४.१.७ एन भेरियन्ट भएको पनि डा.पौडेलले प्रष्ट्याउँनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्ती अनुसार परीक्षण गराएका ४८ नमूनामा ४७ वटा नमूनामा डेल्टा भेरियन्ट (बी.१.६१७.२) पुष्टि भएको छ भने एउटा नमूनामा अल्फा भेरियन्ट (बी.१.१.७) पुष्टि भएको छ । ४७ वटा डेल्टा भेरियन्ट पुष्टि भएका नमूनाहरुमध्ये ९ वटामा यस अघि देखिएको परिवर्तित के ४.१.७ एन (म्युटेसन ) भेटिएको हो । यसलाई विश्व स्वास्थ्य संगठनले पहिला नै एवाइ.१ नाम दिइएको थियो ।

हालसम्म भेरियन्ट अफ कन्सर्नका रुपमा नेपालमा अल्फा (बी.१.१.७) र डेल्टा (बी.१.६१७.२) भेरियन्ट तथा ’भेरियन्ट अफ इन्ट्रेस्ट’ का रूपमा कप्पा भेरियन्ट (बी.१.६१७.१) पुष्टि भएको छ । पछिल्लो अध्ययनले देखाए अनुसार नेपालमा देखा परेका भाईरस छिटो भन्दा छिटो सबै उमेर समूहका व्यक्तिमा फैलिएको पाईएको पनि स्वास्थ्य मन्त्रालयका प्रवक्ताले जानकारी गराउँनुभयो ।
उहाँले संक्रमण रोक्न सचेत र जिम्मेवार बनि जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्न गराउन आम नागरिकलाई अनुरोध गर्नुभयो ।

सरुवारोग विशेषज्ञ डा. बासुदेव पाण्डेका अनुसार यो नयाँ देखिएको भाईरस रुप परिवर्तित अवस्थाको भएको र थप अध्ययन अनुसन्धानबाट कति छिटो फैलन्छ या डेल्टा भन्दा फरक छ भन्ने बिषयमा हेर्नुपर्ने हुन्छ । विशेष गरि खोपले ६ महिना काम गर्ने हुनाले दुईडोज खोप पुरा गरेकाले स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेको खण्डमा असर कम गर्छ भने खोप नै लगाउन नपाएका नागरिकहरुका लागि भने यो खतरा हुनसक्छ ।