खोपाइलो नीति र भत्ताको उकुसमुकुसमा हजुरबाहरु



बालकृष्ण मैनाली

देश अचम्मको कचिङ्गलमा भासिँदै गइरहेको छ । कचिङ्गलमा भाग लिने स्वदेशी, विदेशीलगायत यदाकदा मूर्धन्य कहलाइएका थरी–थरीका घोषित-अघोषित वर्तमान एवं पूर्वपदाधिकारीहरु देशलाई थप कचिङ्गलमा भसाउनका लागि यो वा त्यो नामबाट भगीरथ प्रयत्नमा लागिरहेका छन् । सबै क्षेत्र पंगु वनाएपछि अलि–अलि बचेखुचेको न्यायिक साख पनि कचिङ्गलधारीहरुको चंगुलमा फसेर धराशायी हुने अवस्थामा पुग्न थालेको जनजनलाई आभास हुन थालेको छ । अदालतको इजलासमा एकथरी दलीय कालो कोटधारी यो न्यायाधीश भएन भन्छ, अर्को दलीय कालो कोटधारी यो न्यायाधीश भएन भन्छ, सँगसँगै सरकारी कालो कोटधारी पनि यो न्यायाधीश भएन भन्छ । स्वतन्त्र भन्ने कालो कोटधारी चुइँक्क बोल्न सक्दैन र तमासा हेरेर बस्छ । गरोस् पनि कसरी ? विचरा स्वतन्त्र कालो कोटधारीको न बोली बिक्छ, न कुनै स्थान छ । पछिल्लो देशको स्थिति यही हो । यी लगायत अन्य विसंगतिहरुका बारेमा समयले जोगाएछ भने अर्को आलेखमा चर्चा होला नै ।

विश्व महामारीको चपेटामै छ । महामारीको तेस्रो रुपको चर्चा, अनुसन्धान व्यापकरुपमा भैरहेको खबर बजारमा सार्वजनिक भैरहेको छ । नेपालमा अहिले संक्रमणको दर केही घटरिहेको र तुलनात्मकरुपमा संक्रमितको संख्याभन्दा निको हुनेको संख्यामा वृद्धि भैरहेको खबरले केही सन्तोषको श्वास फेर्ने वातावरण सृजना भएको छ । वस्तुतः जो आफ्नो खुट्टामा उभिन धर्मराइरहेका छन्, ती देशका जनहरुलगायत हाम्रा देशका जनहरुसमेतले महामारीबाट जोगिएर अलि लामो समय जीवनयापन गर्न पाइएला कि भन्ने आशमा विभिन्न देशमा उत्पादित खोप आफ्नो शरीरमा प्रवेश गराउने कार्यको थालनी गतवर्षदेखि नै शुरु गरेका हुन् । यसको निरन्तरता जारी छ । कुनै पनि देशमा बनेको खोपको पहिलो डोज लिएपछि त्यसको बाह्र हप्तापछि त्यही नामको खोपको दोस्रो डोज अनिवार्य लिनै पर्छ । नलिएमा पहिलो खोपले सिर्जना गरेको महामारीविरुद्ध लड्न सक्ने शक्तिलाई क्षीण बनाइदिन्छ भन्ने विश्वव्यापीरुपमा अहिलेसम्म स्थापित भएको मान्यता हो । समयमा खोप उपलब्ध गराउन असफल रहेका हाम्रा जस्ता देशका जनजनलाई भुल्याउन खोपको पहिलो डोज लिएको जति अवधिपछि भए पनि दोस्रो डोज लिए हुन्छ भन्ने खालको अप्रत्यक्ष भनाइ जनजनमा प्रवाह गर्ने जमर्काे गर्नेछन् कि भन्ने शुरुमै केही जनले गरेको आशंका जति–जति खोप उपलब्ध गराउने समय घर्किंदै गएको छ त्यति–त्यति सत्य साबित हुँदै गएको छ ।

यता विश्वका शक्तिशाली देशहरु महामारीविरुद्धका लागि खोप उत्पादनमा लागिपरेका छन् । खोपको चाहना राख्ने मुलुकहरु पनि धेरै छन् । यतिखेर दुई भिन्न परिदृश्यहरु विश्वमा देखा पर्न थालेका छन् । पहिलो खोपीय र स्वास्थ्य सामग्रीहरुको स्वार्थसहितको कूटनीति सहयोग र दोस्रो स्वार्थरहित मानवहितको लागि मात्र प्रदान गरिने खोपीय एवं स्वास्थ्य सामग्रीहरुको सहयोग । विश्वका जनजनलाई दोस्रोे खाले सहयोगको आवश्यकता छ । हामीलाई पनि त्यस्तै स्वर्थरहित नीतिमा रहेर खोपको आवश्यकता परेको छ । खोप उत्पादक देशहरुसँग दोस्रो खाले नीतिमा रहेर खोप सहयोग गर्न प्रत्येक जनको अनुरोधको निरन्तरता जारी छ । दोस्रो नीतिलाई कुन–कुन खोप उत्पादक देशहरुले अवलम्बन गरे त ? भन्ने कुरा समयले स्पष्ट पार्दै जानेछ ।एकचोटि उत्तरको छिमेकीले आफ्नो देशमा प्रवेश गर्नेले आफैंकहाँ बनेको खोप लगाउनुपर्छ भन्ने कुरा गरेको भनेर बजार तातेको थियो । शायद उनीहरुको यो नीति अहिलेसम्म पनि कायमै होला । विश्व शक्ति राष्ट्रहरुका आ–आफ्ना होडबाजीहरुले अल्पविकसित हामीजस्ता देशका जनजनहरु कहिलेसम्म पिल्सिरहने हो ? कुनै टुंगो छैन । भोलि अन्य कुनै देश जस–जसले खोप उत्पादन गरेका छन् ती देशहरुले आफ्नो देशमा उत्पादन भएको खोप लगाएका जनहरुलाई मात्र आफ्नो देशमा प्रवेश दिने भन्ने नीतिलाई अवलम्बन गरे भने के होला ? विश्वका जनजनमा चासोको विषय बनेको यो विषयलाई संयुक्त राष्ट्रसंघलगायत विश्व स्वास्थ्य संगठनले विचार पु-याउनै पर्छ भन्ने केही जनको आवाज प्रवाहित भएको वास्तवमा सही हो ।

सरकारले फाल्गुण महिनामा ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको कोभिसिल्डको पहिलो डोज दिएको थियो । उक्त खोप बेलायतको अक्सर्फोड विश्वविद्यालय र अस्ट्राजेनकाले विकास गरेको थियो । खोपको उत्पादनचाहिँ भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाले गरेको हो । पहिलो डोज प्राप्त गरिसकेपछि प्रायः सबै ज्येष्ठ नागरिकहरुको मुहारमा खुशीको चमक देखिएको थियो । ती ज्येष्ठ नागरिकहरुमा त्यति बेला देखिएको चम्किलो मुहार जति–जति समय घर्किंदै छ त्यति–त्यति मलिन मुहारमा परिणत हुँदै गइरहेको छ ।
सरकार र अन्य राजनीतिक दलहरु यस विषयमा कत्तिको संवेदनशील र जिम्मेवार बनेका छन् ? त्यो उनीहरुकै विषय भयो । जनजन जानकार छन्, यस्ता विषय उनीहरुका गहनतम् कार्यगत प्राथमिकताभित्र पर्दैनन् । मात्र बोलीको प्राथकिताभित्र पर्दछन् । यस्ता विषय उठान गर्ने नागरिकलाई विरोधी करार गरिन्छ र गरेको नदेख्ने भनिन्छ । वर्तमानमा ज्येष्ठ नागरिकहरुले कोभिसिल्डको पहिलो डोज लिएको १२ हप्ता पूरा भइसकेको छ ।

१२ हप्ताभित्र दोस्रो डोज लिइसक्नुपर्ने थियो तर विडम्बना ! किनेको खोपसमेत भित्र्याउन नसकेका कारण सरकार गम्भीररुपमा जनस्वास्थ्य संवद्र्धन गर्ने कुरामा चुक्न पुगेको छ । स्वास्थ्य सेवा विभागकै पछिल्लो आँकडाअनुसार दोस्रो डोजको खोप कुरेर बस्ने १४ लाख ५३ हजारभन्दा बढी छन् । कोभिसिल्डको खोप लिएकाहरुले अर्को कम्पनीको खोप लिन हुने वा नहुने भन्ने कुरा प्रमाणितका साथ अधिकारिकरुपमा अहिलेसम्म सार्वजनिक भएको छैन । यसै कारणले पनि यो विषयलाई लिएर स्वास्थ्य सेवा विभागले पहिलो मात्रा जुन कम्पनीको लगाएको हो उही कम्पनीको लगाउनुपर्ने बाध्यताले कोभिसिल्ड लगाएकाहरुले कोभिसिल्डको खोप नै कुर्नुको अर्को विकल्प छैन भन्ने कुरा उति बेलै सार्वजनिक गरेको थियो तर सरकार देशभित्र कोभिसिल्डको खोप भित्र्याउन असफल हुन पुग्यो ।हालै आएको अध्यादेशरुपी बजेटले हाम्रा बा तथा हजुरबाहरुलाई वृद्धभत्ता थपिदिएको र उनका छोरानातिहरुलाई विनाधितो २५ लाख ऋण उपलब्ध गराउने कुराको व्यापक प्रचार गरियो ।

यो कुरा भुइँमा झर्न पाएको थिएन, हाम्रा कतिपय बा तथा हजुरबाहरु अनि तिनका नातिनातिनाहरुमा कम्तीमा क्षणिक भए पनि मुहारमा खुशीको प्रत्याभूतिले पक्कै केही स्थान जमाउन सफल भयो । कोही–कोही बा तथा हजुरबाहरुले आफ्ना छोरानातिलाई ‘देखिस् छोरा ! सरकारले हाम्रो भत्ता बढाइदिएको’ भनेर मख्ख परे । ‘देखिस् नाति ! सरकारले हाम्रो भत्ता बढाइदिएको’ भनेर मख्ख परे । हाम्रा बा र हजुरबाका खुशीहरु सँगसँगै तिनीहरुका छोरानातिहरु पनि खुशीले बुर्लुक्क हुँदै भने– ‘त्यति मात्रै होइन बा तथा हजुरबाहरु ! हामीलाई पनि त विनाधितो २५ लाख रुपियाँ ऋण पनि दिने रे ! अब म विदेश जानुपरेन, अब म बेरोजगारी भएर भौंतारिनुपरेन ।’ छोरानातिले यी कुरा सुनाउँदा हाम्रा बा हजुरबाहरुको भुइँमा खुट्टै रहेन ।विडम्बना ! केही दिनपछि जब हाम्रा बा–हजुरबाहरुले सीमित रकम भत्ता बढाइदिएको देखाएर परिवारका प्रत्येक सदस्यहरुको थाप्लोमा ऋणमाथि ऋण थपिदिएको थाहा पाए अनि विनाधितो २५ लाख ऋण प्रवाह गर्ने र प्राप्त गर्ने कुरा त सपनामा पनि नचिताए हुन्छ भनेर विभिन्न बैंकका हाकिमहरुले गरेको कानेखुसी बजारमा सार्वजनिक भएको थाहा पाए, त्यसपछि हाम्रा बा–हजुरबाहरु नराम्रोसँग जिल्लिएका छन् ।

तर्क गर्ने तर्कशास्त्रीहरुबाट सरकारले युवा र वृद्धवृद्धालाई माया गरेको देखी नसहेको भन्ने तर्क प्रस्तुत होला, केहिले गरी पनि हालेका छन् । यो कुराको हविगत हेर्न धेरै समय कुनै पर्दैन । देखी नसहेको भन्ने तर्क समयले प्रमाणित गरेछ भने आवश्यक सजाय भोग्न मन, वचन, शरीरले तयार भएर बसेको कुरा जनजनले बजारमा सार्वजनिक गर्न थालेका छन् । यो आलेखकर्ताले पनि यो कुराको सहमतिमा ल्याप्चे लगायो नै ।भर्खरै चीनबाट भित्र्याइएको भेरोसिल खोप ६० वर्ष उमेरमाथिका ज्येष्ठ नागरिकलाई लगाउने भनेर राम्रै प्रचार गरिएको थियो । थोरै भए पनि यसले आश जगाएको थियो ज्येष्ठ नागरिकहरुमा । स्थानीय जनप्रतिनिधिहरुले सामान्य व्यवस्थापन गर्न पनि नसकेको परिदृश्यको खबर बजारमा लाइभ भइरहेको थियो । कायकर्ता र आफन्तले आफ्ना बा–हजुरबाहरुलाई कसरी सुलभरुपमा खोप उपलब्ध गराउन स्वयंसेवीको रुपमा खटिएर लागिपर्दै वृद्धवृद्धाको आशिष ग्रहण गर्लान् भनी ज्येष्ठ नागरिकहरु आशा गरिरहेका थिए । तर यो वा त्यो नाउँमा ज्येष्ठ नागरिकको ठाउँमा आफूले खोप लिएको खबर बजारमा सार्वजनिक हुँदा लाज हुने कतिपय जनप्रतिनिधिहरुले आफ्नो अनुहार लुकाए होलान्, लाज नहुने जनप्रतिनिधिहरुको त कुरै भएन ।

यसैको सेरोफेरोमा तुलनात्मकरुपमा शिष्ट र सौम्य ठानिएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आफू मन्त्री पदबाट हटेपश्चात् तत्कालै आफू मन्त्री पदमा बहाल रहेको अवधिमा भएका आम्दानी र खर्चको विस्तृत विवरण सार्वजनिक गरे । तर लाखौंलाख ज्येष्ठ नागरिकहरुले पहिलो डोजको खोप लिइसकेको अवस्थामा देशले अग्रिम भुक्तान गरिसकेको खोपको डोज नआउनाको कारण के थियो र सँगसँगै यो विषयलाई लिएर एजेन्टहरुबीच भएका कमिसनसम्बन्धी विभिन्न खेलका समाचारहरु के थिए भन्ने बारेमा यथेष्ट प्रकाश पार्न सकेनन् । यसै गरी खोप भित्र्याउन आपूmले गरेका प्रयासहरुबारे पनि सत्यतथ्य जानकारी गराउन सकेनन् । यस्ता कुरालगायत सरकारका हरेक गलत कदमको बचाउ गरेका कारण कथित उनको नाटकीय पारदर्शिताले हाम्रा बा र हजुरबाहरुलाई खासै असर परेन ।

(लेखक मैनाली अधिवक्ता हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्