पनौतीको रयालेमा भुटानको अलैची, १८ वर्ष लगातार व्यवसायीक खेतिमा कृषक

26.13k
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

भुटानमा फल्ने अलैचीका विरुवा उत्पादन सँगै विक्री वितरण शुरु भएको छ । पनौती नगरपालिकाले स्थानीय कृषकहरुलाई भुटानसम्म अवलोकन अध्ययन भ्रमण गराई भुटानमा फल्ने अलैचीको विउ भित्र्याउँदै नर्सरीको ब्यवस्थापन सँगै ब्यवसायीक खेतिमा जोड दिएको हो । रोगसँग लड्न सक्ने क्षमता भएकाले काभ्रेमा पनि भुटानको अलैचीलाई प्राथमिकतामा राखिएको हो ।

फुलचोकी बहुउदेश्यीय नमुना नर्सरीले भुटानी जातका बार्षिक डेड लाख विरुवा उत्पादन गरेको छ । ‘नगरपालिकाको आर्थिक, प्राविधिक र विउमा समेत अनुदान छ । अलैचीको ब्यवसायीक उत्पादनमा पहिलो चरणमा नर्सरीको ब्यवस्थापनका लागि नगरपालिकाले सहयोग गरेको हो’–फुलचोकी नर्सरीका प्रोपाईटर उपेन्द्र तिमल्सिनाले भन्नुभयो–‘भुटानको बाहेक स्थानीय जातका अलैचीका विरुवाहरु पनि उत्पादन भएका छन् ।’ नगरपालिकाले कृषिमा ब्यवसायीक खेति पछिको आम्दानी गर्न सकिने अलैचीको उत्पादनमा जोड दिने गरी कार्यक्रम लागु गरिएको नगर प्रमुख भिम न्यौपानेले बताउनु भयो । ‘नगरलाई कृषि र पशुपालनमा अग्रणी बनाउँदै कृषि र पशुपालनबाट थप समृद्धी हासिल गर्ने गरी कार्यक्रम तय गरेका छौं’–नगर प्रमुख न्यौपानेले भन्नुभयो–‘अलैची थोरै लगानी र मुल्यमा धेरै आम्दानी गर्न सक्ने बाली हो । त्यसकारण पनौतीका धेरै वडाका स्थानीयहरुलाई अलैचीको ब्यवसायीक खेतिमा आर्कषण गर्ने गरी कार्यक्रम तयार गरी कार्यान्वयन शुरु गरेका छौं ।’

फुलचोकी बहुउद्देश्यिय नमुना नर्सरीमा अलैचीका विभिन्न जातका विरुवाहरु उत्पादन भएका छन् । एक पटक अलैचीको विरुवा लगाए पछि त्यसले १५ वर्ष भन्दा धेरै समय फल दिने गर्छ । हरियो ५ केजी अलैची सुकेर एक केजी हुन्छ । प्रत्येक बोटबाट हरेक वर्ष ५ केजी भन्दा धेरै फल्छ । बजार मुल्य अलैची केजीको २५ सय पर्छ । कृषकहरुले ब्यवसायीक खेति गर्ने हो भने यसबाट हुने आम्दानी प्रशस्त छ । तर ब्यवसायीक खेति हुन नसकेको कृषक उपेन्द्र तिमल्सिनाले बताउनु भयो । अलैचीको विरुवा उत्पादनमा केहि समय लाग्छ । विउ राखेको ११ महिना पछि मात्रै पहिलो बेर्ना उम्रन्छ । त्यतिबेलासम्म यसलाई निरन्तर घाम पानी र वातावरण मिलाउनु पर्छ । पहिलो ब्याडबाट अर्काे ब्याडमा केहि महिना विरुवा हुर्काउनु पर्छ । जब तेश्रो ब्याडमा विरुवा सारिन्छ तब मात्रै कृषकहरुका लागि खेति गर्न योग्य विरुवा तय हुन्छ । विरुवा उखेल्दा वा रोप्दा त्यसको जरामा घाउ लगाउन हुँदैन । अलैचीको विरुवा लगाउँदा एक वित्ता फरकमा लगाउनु पर्छ । रोग लाग्न नदिन, रोगसँग लड्न सक्ने क्षमता धेरै भएको र फल पनि धेरै दिने भएकाले नगरपालिकाले स्थानीय भन्दा भुटानको अलैचीलाई प्राथमिकता दिएको पशुपक्षी तथा कृषि शाखाका प्रमुख मणिप्रसाद सापकोटाले बताउनु भयो ।

फुलचोकी नर्सरीमा अलैची मात्रै होईन सरकारले आगामी वर्षका लागि घोषणा गरेको बजेटमा पनि कागती खेतिको पकेट क्षेत्र काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न पालिकालाई लिएको छ । त्यसका लागि पर्याप्त विरुवा उत्पादन गरिएको प्रोपाईटर तिमल्सिनाले बताउनु भयो । कागतीमा पनि विभिन्न जात छन् । उन्नत जातका विरुवाहरु नर्सरीमा उत्पादन गरिएको उहाँले बताउनु भयो । अलैची, कागतीसँगै किवी अर्काे महत्वपूर्ण ब्यवसायीक खेतिका लागि आर्कषक र सम्भावना भएको बाली हो । त्यसका विरुवा पनि सोहि नर्सरीमा उपलब्ध छन् । तिमल्सिनाले शुरु देखि नै शुरु गर्दै आएको रुख टमाटर (मेटर), घाँसेबालीका विरुवा र विउ पर्याप्त छ । मकैको उन्नत जातको विउ पनि उक्त नर्सरीबाट तयार हुँदै आएको छ । ७ रोपनी बारी भित्र १५ वटा भन्दा धेरै जातका विरुवा, फलफुल, विउ उत्पादन हुँदै आएको छ । विषादी रहित विरुवा उत्पादनका लागि रोग र किरासँग लड्ने टिमुर तथा अन्य जातका विरुवाहरुको उत्पादन पनि सँगै भईरहेको छ । सुन्तला, मौरी, मह, फर्सि, काक्रो तथा अन्य तरकारी पनि नर्सरी भित्र पर्याप्त छ ।

राष्ट्रपति उत्कृष्ट कृषकका रुपमा सम्मानित कृषक तिमल्सिनाले नेपालका विभिन्न जिल्लामा अलैचीका विरुवाहरु विक्री गर्दै आउनु भएको छ । पूर्वी जिल्लाहरुमा समेत काभ्रेको रयालेमा उत्पादन हुने विरुवाहरु खपत भईरहेको तिमल्सिनाले बताउनु भयो । नगरपालिकाले उपलब्ध गराएको अनुदानबाट नगर भित्रकै कृषकहरुलाई विरुवामा सहजता दिने गरी कार्यक्रम तय भएको छ । तिमल्सिना लगातार १८ वर्ष देखि अलैचीको विरुवा उत्पादन र ब्यवसायीक खेतिमा सक्रिय छन् । अलैचीको खेतिबाट राम्रो आम्दानी गर्न सफल भएको तिमल्सिनाले बताउनु भयो ।