ईलाका प्रहरी कार्यालय बनेपाको आफ्नै भवन, नगरपालिकाले उपलब्ध गरायो जग्गा

8k
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

बनेपा नगरपालिकाले आफ्नै प्रयोजनका लागि खरिद गरेको जग्गा मध्ये १ रोपनी १५ आना इलाका प्रहरी कार्यालय बनेपाका लागि उपलब्ध गराए पछि भवन निर्माण कार्य सम्पन्न भएको छ । बनेपा नगरपालिका वडा नम्वर ९ नयाँबस्तिमा उक्त भवन निर्माण कार्य सम्पन्न भएको हो ।

अरनिको राजमार्गमा साँघुरो भवनमा इलाका प्रहरी कार्यालय बनेपा रहँदै आएको थियो । सडकबाट केहि भित्र निर्माण भएको भवनमा प्रशासनिक कार्य र ब्यारेक भए पनि राजमार्गमा रहेको कार्यालयबाट नियमित गस्ति गर्ने योजना प्रहरीले बनाएको छ । उक्त भवनमा ट्राफिक प्रहरी कार्यालय काभ्रेको कार्यालय राख्ने गरी तयारी गरिएको छ । शुक्रबार प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका मन्त्री केशवराज पाण्डेले भवनको उद्घाटन गर्नु भएको थियो । सोहि कार्यक्रममा नगरपालिका प्रमुख लक्ष्मीनरसिं बादे, उपप्रमुख रेखा सापकोटा दाहाल लगायतको सहभागिता रहेको थियो । जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, राजनीतिक दलका प्रतिनिधिहरु, जनप्रतिनिधिहरु कार्यक्रममा सहभागि थिए । नगर प्रमुख लक्ष्मीनरसिं बादेले नगरपालिकाले नागरिकहरुको सुरक्षाका लागि प्रहरी चौकी, ईलाका तथा ट्राफिक प्रहरीको कार्यालयलाई ब्यवस्थित गर्न जग्गाको ब्यवस्थापन, वडा कार्यालयको भवन निर्माण, स्वास्थ्य चौकीहरुको निर्माण कार्यलाई तिब्र बनाईएको बताउनु भयो ।

इलाका प्रहरी कार्यालय बनेपामा ब्यारेक भवनहरु ८२७० बर्ग फिट, मेस ३१५ बर्ग फिट, शौचालय समेत गरी कुल ८७३१ वर्ग फिट रहेको छ । २०७६ असोज १७ गते शिल्यान्यास गरिएको उक्त भवन २०७८ असार ४ गते उद्घाटन गरिएको हो । बागमती प्रदेश सरकारद्वारा विनियोजित ३ करोड ४७ लाख ५३ हजार ८ सय ९ रुपैयामा उक्त भवन निर्माण सम्झौता भएको थियो ।