समयसँग सम्झौता होइन, संघर्ष गर



मानव जीवनमा समयको बढी नै महत्व छ । यसैले समयको दुरुपयोग कुन किसिमले गर्नुपर्छ, सो कुरा मानवले बुझेको हुनुपर्छ । विद्यार्थी जीवनमा शिक्षा आर्जन नगरी खेलबाडमा समय बिताउने व्यक्तिहरू पछि पछुतोमा परेको कुरा हाम्रै समाजमा सुनिन पाइन्छ । त्यसले हरेक क्षणको आफ्नै महत्व रहेको हुन्छ । हरेक व्यवसायमा लाग्ने व्यक्तिहरूको जीवनमा समयको अति महत्व हुने गर्छ । समयको महत्वलाई बुझ्ने व्यक्तिहरूले समयलाई व्यर्थमा खेर फाल्ने गर्दैनन् । सबैको आ–आफ्नै क्षेत्र हुन्छ ।

विद्यार्थी नियमित समयमा विद्यालय जानु, सन्दर्भ पाठ्यपुस्तक पुस्तकालयमा गएर अध्ययन गर्नु नै उसको उचित समयको सदुपयोग हो । समाजसेवीहरुले पनि समयमा आफ्ना समाजका विकृतिहरूलाई हटाएर सुधार गर्न सके समयको सदुपयोग गरिएको बुझिन्छ । समयको महत्व बुझेर हरेक कामकुरा समयमा गर्ने व्यक्तिको जीवन सार्थक अर्थात् सफल हुन्छ ।समय सदुपयोग गर्ने कुरा हो । यसको कहिल्यै पनि दुरुपयोग गर्नुहुँदैन । जुन समयमा जुन काम गर्नुपर्ने हो त्यस समयमा त्यही काम गर्नेनै समयको सही सदुपयोग हो । यस प्रकार सही ढंगले समयको सदुपयोग गर्नमा नै यसको महत्व टड्कारोरूपमा झल्किन्छ । समयको कुनै महत्वपूर्ण क्षण मानिसका हातबाट फुत्कियो भने त्यो क्षण फेरि फर्केर आउँदैन । समयका एकएक पलको महत्व छ । समयमै अस्पताल पु-याइएको बिरामी बाँच्न सक्छ ।बेलैमा गाडीको स्टेसनमा पुग्ने व्यक्ति सजिलो गरी आफ्नो गन्तव्यमा पुग्न सक्छ । तोकिएको समयको सही ढंगले सदुपयोग गरी जाँच दिने विद्यार्थी सफल हुन्छ । यसरी समयको एकएक पलको सही सदुपयोग गरी काम गर्ने व्यक्तिले जीवनमा धेरै काम गरेर देखाउन सक्छ । काम गर्नेले त्यसको मीठो फल पाउँछ । काम गर्ने मानिसको जीवन सधैँ सुखी हुन्छ । अनि यस्ता मानिसले कहिल्यै पनि दुःखका रापतापमा झेलिनुपर्दैन ।

संसारका महापुरुषहरू समयको सही रूपमा सदुपयोग गरेर नै महान् बनेका हुन् । कुनै एक क्षेत्रमा गरेको राम्रो कार्यले कुनै पनि व्यक्ति विश्वप्रसिद्ध बन्न सक्छ । यी सब कुरा थाहा पाउँदापाउँदै पनि हामी समयका महत्वपूर्ण क्षणहरूलाई त्यसै खेर फालिरहेका हुन्छौं अनि केही काम नगरी समय बिताइरहेका हुन्छौं । केही काम नगरी समय बिताउने हाम्रो अज्ञानता हो । कुनै पनि काम गर्ने समयको सदुपयोग हो भन्ने ठानी चोरी, डकैती, हिंसा आदिजस्ता नराम्रा कार्यहरू कदापि गर्नुहुँदैन । यस्ता कार्यहरु गरेको खण्डमा समयको दुरुपयोग भएको मानिन्छ ।त्यसैले हामीले समयको हरेक पललाई सृजनात्मक कार्यमा लगाउनुपर्छ । ज्ञानी व्यक्तिले चाहिँ समयको ठीक ढंगले सदुपयोग गरिरहेको हुन्छ अनि उसको जीवन सुखसँग बितिरहेको हुन्छ । समयले आफ्नो गतिसँगै परिवर्तन पनि ल्याइरहेको हुन्छ । मानव सभ्यताको विकास समयकै गतिशीलताको उपलब्धि हो । हाम्रा पुर्खाहरूले बाँचेको समय र अहिले हामीले बचिरहेको समयका बीच आकाश–पातालको अन्तर छ ।

यस आधारमा समयलाई विकासकै रूपमा लिन सकिन्छ । आज जन्मेको बालक समयकै क्रममा भोलि किशोर र जवान हुँदै वृद्धावस्थामा पुग्दछ अनि समयकै क्रममा उसको मृत्यु पनि हुन्छ । समय निकै बलवान् छ । कुनै एक समयमा ज्यादै शक्तिशाली देखिएको व्यक्ति कुनै अर्को समयमा ज्यादै कमजोर पनि हुन्छ । १०४ वर्षसम्म चलेको राणा शासन र ३० वर्षसम्म चलेको पञ्चायती व्यवस्थाले पनि समयका अगाडि घुँडा टेक्नुप¥यो । त्यसैले नचाहिँदो घमण्ड गरी आफ्नो शक्तिको दुरुपयोग गर्नुहुँदैन । जीवनमा केही गरेर देखाउन सबैले समयको महत्वलाई हेक्का राख्नुपर्छ ।
– सुवेश यादव, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्