कर्णाली सरकारद्वारा ३६ अर्ब ५४ करोड बजेट प्रस्तुत

294
Shares

दिपेन्द्र शर्मा, सुर्खेत ।

कर्णाली प्रदेश सरकारले आव.०७८÷०७९ को लागि बजेट प्रस्तुत गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले बजेट प्रस्तुत गर्नुभएको हो । मन्त्री शर्माले आगामी आर्थिक वर्षका लागि अनुमानित बजेट रु.३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार बजेट सार्वजनिक गर्नुभएको छ । जसमा मध्य पूँजीगततर्फ रु.२१ अर्ब ६५ करोड ३९ लाख १३ हजार र चालूतर्फ रु.११ अर्ब ४९ करोड २७ हजार ७० हजार बजेट विनियोजन गरिएको ।

त्यस्तै, वित्तिय हस्तान्तरणतर्फ रु.तीन अर्ब ३९ करोड ९९ लाख ५३ हजार विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षको लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये आन्तरिक राजस्वबाट रु.६० करोड, चालु आर्थिक वर्षको खर्च नभई बाँकी रहन जाने अनुमानित रकम रु.१२ अर्ब ९२ करोड १६ लाख ८१ हजार, संघीय सरकारबाट राजश्व बाँडफाँड वापत प्राप्त हुन आएको रकम रु.सात अर्ब ४४ करोड ७७ लाख बजेटमा उल्लेख गरिएको छ ।

  • कोभिड रोकथाम, नियन्त्रण तथा उपचारमा केन्द्रित
  •  शहीद तथा घाईतेका छोराछोरीहरुलाई स्नातक तहसम्म निःशुल्क शिक्षा
  •  २० गाउँपालिकालाई प्राङ्गारिक गाउँपालिका घोषणा गर्ने

त्यसैगरी, बजेटमा वित्तीय समानीकरण अनुदानबाट प्राप्त हुन आएको रु.१० अर्ब १४ करोड २१ लाख र सशर्त अनुदानबाट रु.तीन अर्ब ९८ करोड ७७ लाख तथा नेपाल सरकारबाट प्राप्त हुने समपूरक अनुदान वापत रु.८१ करोड ३५ लाख, विशेष अनुदान वापत रु.६१ करोड ३० लाख प्राप्त हुने अनुमान गरिएको छ । साथै वैदेशिक सहायताबाट सञ्चालित हुने कार्यक्रम तथा आयोजना कार्यान्वयनको लागि रु.दुई करोड नौ लाख ५५ हजार स्रोत परिचालन हुने बजेटमा ल्याईएको छ ।

बजेट प्रस्तुत गर्दै मन्त्री शर्माले आगामी वर्षको बजेट कार्यान्वयनका लागि नेपाल सरकार, स्थानीय तह तथा सामुदायिक संस्थाहरुसँग समन्वय गरिने बताउनुभयो । प्रदेश सरकारले कोभिड रोकथाम, नियन्त्रण तथा उपचारमा बजेट केन्द्रित गरेको छ । प्रत्येक स्वास्थ्य संस्थामा आधारभूत सुविधासहितको प्रयोगशाला स्थापना गर्ने, सबै अस्पतालमा शववाहन र एम्बुलेन्सको व्यवस्था गर्ने, दैलेखको राकम कर्णालीमा ट्रमा सेन्टर स्थापना गर्ने कुरा बजेटमा उल्लेख गरिएको छ ।

त्यस्तै, पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना, जनयुद्ध, जनआन्दोलन तथा प्रदेश आन्दोलनमा शहीद तथा घाईतेका छोराछोरीहरुलाई स्नातक तहसम्म निःशुल्क शिक्षा, सामुदायिक विद्यालयमा नर्सिङ् शिक्षा कार्यक्रम सञ्चालन गर्ने बजेटमा उल्लेख गरिएको छ । त्यस्तै, बैंक खाता छोरीको, सुरक्षा जीवन भरिको कार्यक्रमलाई निरन्तरता दिईएको छ । प्राङ्गारिक खेतीलाई प्रोत्साहन दिने र आगामी वर्षका लागि कर्णाली प्रदेशका २० वटा गाउँपालिकालाई प्राङ्गारिक गाउँपालिका घोषणा गर्ने बजेटमा सार्वजनिक गरिएको छ ।