अस्पतालको प्रशंसा



कोरोना महामारीका बेला सुरक्षा क्षेत्रबाट सञ्चालित अस्पताललाई सबैले स्वागत गरेभने कतिपय सरकारी अस्पतालको पनि त्यत्तिकै प्रशंसा भयो । हिजोे सरकारी अस्पतालले के गरेका थिए भन्दापनि आज के गरे भन्ने महत्वपूर्ण देखियो । राम्रो गर्नेलाई पुरस्कार र नराम्रो गर्नेलाई दण्डको व्यवस्था गर्नेतर्फ नियामक निकायले ध्यान दिनसके यस प्रकारको विश्वासले निरन्तरता पाउने आशा पनि सिर्जना भयो ।कोरोना संक्रमणले मुलुकलाई तहस नहस बनाइरहेको बेला सरकारले संक्रमितको उपचारकालागि उपत्यकामा रहेका तीन वटै सुरक्षा निकायले सञ्चालन गरेका अस्पताललाई कोभिड– १९ अस्पतालमा रुपान्तरण गर्ने निर्णय ग-यो । त्यसपछि अस्पतालमा उपचारकालागि आउने बिरामीको भीड थामिनसक्ने अवस्थामा पुग्यो ।

तीनवटै सुरक्षा निकायले आफ्नो व्यवस्थापनमा सञ्चालित अस्पताललाई चुस्त–दुरुस्त सेवा प्रवाह गरेपनि सशस्त्र प्रहरी वलले. सञ्चालन गरेको सशस्त्र प्रहरी अस्पतालको सेवालाई लिएर जन–जनले प्रशंसा मात्र गरेनन् त्यहाँं पुगेपछि बाँचिन्छ भन्ने आशा पलाएको बिरामी स्वयम्ले बताउँदै आएका पनि छन् । नेपाली सेना र नेपाल प्रहरीले सञ्चालन गरेको अस्पतालको सेवामा खोट लगाउने ठाउँ नहुनु अन्य अस्पतालका लागि भने चुनौतीको विषय बन्यो । सशस्त्र प्रहरी अस्पतालले दिएको सेवा अन्य अस्पतालले दिन नसकेको गुनासो गर्नेहरु यत्रतत्र भेटिए । संगठन प्रमुखले दिएको निर्देशन पालना गर्न अस्पतालमा कार्यरत कर्मचारीको गहन मेहनत नै प्रमुख कारण रहेको बताइएको छ । सरकारले आवश्यक पूर्वाधारमा जति सहयोग गर्नुपर्ने हो त्यो हुन नसक्दा अझै सोचेजस्तो सेवा दिन नसकिएको अस्पतालमा कार्यरत चिकित्सकहरुले बताउँदै आएका छन् । सरकारले पनि औकात अनुसारको सेवा सुविधा उपलब्ध गराएको भएपनि अस्पतालले खोजेजस्तो सेवा दिन भने नसकेको स्वयम सरकारका अधिकारीहरुले स्वीकार गरेका छन् ।

व्यवस्थापन राम्रो भयो भने सरकारी अस्पतालले चुस्त र दुरुस्त सेवा दिनसक्छ भन्ने उदाहरण सशस्त्र प्रहरी बलको नेपाल सशस्त्र प्रहरी अस्पताल, टेकुको शुक्रराज ट्रपिकल अस्पताल र ललितपुरको पाटन अस्पतालले दिएको सेवालाई लिएर जनस्तरबाट आएको सकारात्मक प्रतिक्रिया हेरेपुग्छ । अन्य सरकारी अस्पतालले पनि अनुशरण गर्नुपर्ने सेवा यी अस्पतालमा पाइन्छ । व्यवथापकीय नेतृत्व सवल भयोभने त्यहाँबाट प्रवाह हुने सेवालाई आम नेपालीले आलोचना होइन प्रशंशा पनि गर्दछन् भन्ने उदाहरण ती अस्पतालले दिएको सेवाबाट लिनसकिन्छ । मुलुकभर सञ्चालित अस्पतालले पनि ती अस्पतालले दिएको सेवाभावलाई अनुशरण गर्नुपर्ने देखिन्छ ।

निजी अस्पताल जान नसक्ने नेपालीका लागि अनुकरणीय बनेका अस्पताललाई अझै भौतिक पूर्वाधारले सुसज्जित बनाएर अन्य सरकारी अस्पतालको पनि स्तरोन्नती गर्दै अघि बढ्नसके आम नेपालीलाई चाहे कोरोना संक्रमण होस् वाउपचार आवश्यक पर्ने अन्य विपद्, सबैबाट सुरक्षित राख्नसक्ने आश गर्नसकिन्छ । राज्यलाई आवश्यक परेको बेला सेवा दिएर आदर्श बनेका सरकारी अस्पतालमासेवाको व्यवस्थापनले भने निरन्तरता पाउनुपर्दछ । सेवाको निरन्तरताका लागि आजै के गर्नसकिन्छ भनेरसोच्नुपर्छ । आम नेपालीले उच्च मूल्यांकन गरेका सुरक्षा क्षेत्रबाट सञ्चालित अस्पतालको सेवा अन्य सरकारी अस्पतालले पनि दिनसके आज पैसा नभएर उपचार नपाई अकालमा ज्यान गुमाइरहेको वर्ग पनि लाभान्वित हुनेछ । यसतर्फ राज्यको ध्यान जान जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्