भत्ता नपाउँदा नागरिक समस्यामा


वासुदेव शर्मा, जाजरकोट । 

देश कोरोना भाइरसका कारण बन्दाबन्दीमा रहेका बेला जेष्ठ नागरिकलाई दिँदै आएको भत्ता गत फागुनदेखि भेरी नगरपालिकाले वितरण नगर्दा ज्येष्ठ नागरिकलाई समस्या परेको छ । सरकारले असहाय, ज्येष्ठ नागरिक, एकल महिलाहरुलाई दिने भत्ता उनीहरुले नपाउँदा कोरोना महामारी भन्दा खाना नपाएर मरिन्छ कि भन्ने चिन्ता बढ्दै गएको छ ।

नेपाल सरकारले जेष्ठ नागरिकलाई दिँदै आएको वृद्धभत्ता नपाउँदा चिन्तित बनेका छन् । गत फागुनमा पाउने जेष्ठ नागरिक भत्ता असार लाग्दासम्म नपाउँदा सन्त्रासमा जेष्ठ नागरिक रहेका हुन् । भेरी नगरपालिका–१३ का भवेवर कामीले भत्ता आएपछि तिर्ने भन्दै साहुबाट उधारो ल्याएर खाएका छन् । फागुनमा पाउनुपर्ने भत्ता नपाउँदा पसलमा उधारो माग्न जान समेत लाजमर्दाे भएको उहाँको भनाइ छ । ‘कोरोना कहरले बाहिर निस्कन नपाएको अवस्थामा केही काम गर्न पाएको छैन, काम पाए पनि हामी डाँडामाथिको घाम जस्तो अवस्थामा पुगेकाले के गर्न सकौंला र !’ –कामी भन्नुहुन्छ ।उहाँ जस्तै भेरी नगरपालिकाभित्रका वृद्धवृद्धाहरुले नेपाल सरकारवाट पाउनुपर्ने सेवा सुविधा पाएका छैनन् । विगतका वर्षमा गाउँमै गएर भत्ता दिए पनि यस वर्षदेखि बैंक खाताबाटै भुत्तानी हुने भएकाले जेष्ठ नागरिक लगायतका व्यक्तिहरुले समयमा खाता नखोल्दा समस्या आएको भेरी नगरपालिकाले जनाएको छ ।

भेरी नगरपालिका–३, ५, ६ र १३ को पठाइसकेको बाँकी वडाहरुको केही दिनभित्र पठाउने काम भइरहेको भेरी नगरपालिकाका एक कर्मचारीले बताएका छन् । नगरपालिका र वडा पालिकाहरुले ताकेता नगर्दा यस्तो समस्या आएको सरोकारवालाहरुको भनाइ छ ।