न्युज अफ नेपाल, भद्रपुर ।
उत्साहसाथ धान खेती गरिरहेका किसान मूल्य नपाउँदा चिन्तित देखिएका छन् । सङ्घीय, प्रदेश र स्थानीय सरकारले झापामा किसानलाई चैते तथा बोरो धान खेतीतर्फ आकर्षित गर्न विभिन्न कार्यक्रम ल्याए पनि उत्पादित धानको बजारीकरण तथा उचित मूल्य नपाउँदा चिन्तित देखिएका हुन् ।
चिस्यानको मात्रा धेरै रहने चैते धान सुकाउने प्रविधि (ड्रायर) उपलब्ध नहुँदा बिचौलियाले जति मूल्य तय गर्छन् त्यसैमा धान बेच्न किसान बाध्य हुने गरेका छन् । दुई साताअघिसम्म प्रतिमन आठ सय रुपियाँमा बिक्री भएको धानको मूल्य अहिले किसानले ६ सय रुपियाँभन्दा कम पाइरहेको जनाएका छन् ।
जिल्लामा धान खेतीका लागि किसानलाई अग्रसर गराउन र उत्पादन बढाउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्र्तगत धान सुपरजोन कार्यक्रम लागू भएको छ । यसले धान उत्पादनका लागि आवश्यक प्रविधिदेखि लिएर प्राविधिक सहयोगसम्म गर्दै आएको छ ।
जिल्लामा स्थानीय तहहरूले पनि नयाँ जातका तथा उन्नत धानका बीउ किसानलाई उपलब्ध गराइरहेका छन् । तिनीहरूले सिँचाइदेखि लिएर आवश्यक पर्ने यान्त्रीकरणमा पनि सहयोग गरेका छन् । जसका कारण जिल्लामा तीन बालीसम्म धान खेती भएको छ ।
धानको भाउ प्रतिमन ५५० र त्यही धानको भुसको मूल्य चाहिँ छ सय रहेको रामशरण यादव बताउँनु हुन्छ । किसानले धानको भुसको मूल्यसमेत नपाएको उहाँको गुनासो छ । किसानले जिल्लामा धानको मूल्य न्यूनतम प्रतिमन पाँच सयदेखि अधिकतम छ सय रुपियाँसम्म पाएको उपेन्द्र अधिकारी बताउँनुहन्छ । अघिल्लो वर्ष यो समय प्रतिमन आठ सय रुपियाँका दरले धान बिक्री भएको उहाँको भनाइ छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ झापाका प्रमुख एवं वरिष्ठ कृषि विकास अधिकृत रवीन्द्र सुवेदीले बजारीकरणमा समस्या रहेको बताउँनुभयो । धान सुकाउनका लागि प्रयोग हुने ड्रायर मेसिनको पनि अभाव रहेको उहाँको भनाइ छ । किसानका पहूचमा डायर मेसिन भएमा किसानले आफैँ भण्डारण गर्ने र भाउ आएपछि बिक्री गर्नसक्ने वातावरण हुने उहाँको भनाइ छ ।
सुरुवातका वर्षहरूमा कृषक समूहलाई लक्षित गरेर साझेदारीमा ठूलो ड्रायर राख्न बजेट आए पनि लागत सहभागिता जुटाउन सक्ने अवस्था नआउँदा उक्त बजेट फ्रिज हुँदै आएको उहाँले जनाउँनुभयो । पछिल्लो समयमा राइस मिलका लागि पनि यो सुविधा दिइने गरेर सूचना जारी भए पनि यसमा पनि मिलहरूले इच्छा नदेखाउँदा बजेट त्यसै फ्रिज भएर गएको उहाँको भनाइ छ ।
पालिकाहरूले स्थानान्तरण गर्नसक्ने (पोर्टेवल) ड्रायर व्यवस्थापन गरेर सामुदायिक किसिमका भण्डारण गृह बनाउँदा किसानको समस्या केही हदसम्म हल हुने पनि सुवेदीको धारणा छ । स्थानीय पालिकाहरूले किसानको समस्या समाधानका लागि बजारीकरण र भण्डारणको व्यवस्था मिलाउने हो भने अहिले देखिएको समस्या केही कम हुने उहाँको वुझाइ थियो ।
पछिल्लो समय खेत जोत्ने, जमिन सम्याउने, आली लगाउने, बीउ राख्ने, बीउ छर्ने, रोप्ने, दाइँ हाल्ने, बाली निफन्नेसम्मको काम आधुनिक यान्त्रीकरणबाट भए पनि सुकाउने समस्या भने किसानले झेलिरहेका छन् । गौरादहमा रहेको नेपालकै नमुना खेती भनिएर चिनिएको स्थानमा भने जिल्लामा पहिलो पटक स्थानान्तरण गर्नसक्ने (पोर्टेवल) ड्रायर आउन लागेको जनाइएको छ ।
कन्काई नहर जल उपभोक्ता संस्थाका अध्यक्ष कमलप्रसाद भण्डारीका अनुसार झापा जिल्लाअन्तर्गत रहेको कन्काई सिँचाइ प्रणालीभित्रका उपभोक्ता (कृषक)लाई चैते धान बाली लगाउन उत्प्रेरित गरी करिब चार हजार हेक्टर क्षेत्रफलमा सिँचाइ उपलब्ध गराइएको छ तर बर्सेनि कृषकले उत्पादन गर्दै आएको चैते धानको मूल्य कृषकले धान उत्पादन गर्दा लाग्ने लागत भन्दा पनि कम पाउने अवस्था आएको उहाँको भनाइ छ ।
प्रतिक्रिया