क्षेत्रपाटी नि:शुल्क चिकित्सालयलाई सहयोग गर्ने शिक्षा मन्त्री श्रेष्ठको प्रतिबद्धता

2.9k
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले राजधानीको क्षेत्रपाटीस्थित निशुल्क चिकित्सालयको लागि स्वास्थ्य सामग्री उपलब्ध गराउनदेखि लिएर आवश्यक सहयोग गर्न सरकार तत्पर रहेको बताउनुभएको छ ।
कोरोना महामारीको समयमा चिकित्सालयले प्रवाह गर्दै आएको स्वास्थ्य सेवा बारे जानकारी दिन शनिबार अवलोकन गर्दै मन्त्री श्रेष्ठले सो कुरा बताउनुभएको हो । राजधानीको ‘कोर’ बस्तीमा रहेको सो चिकित्सालयले कोरोना महामारीको समयमा प्रवाह गरेको सेवा प्रवाह प्रशंसनीय रहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले अस्पतालको सेवा प्रवाहलाई अझ चुस्त बनाउन आवश्यक सहयोग गर्न सरकार तत्पर रहेका बताउनुभयो ।

सो अवसरमा मन्त्री श्रेष्ठले विदेशबाट आएको स्वास्थ्य सामग्री पाउने नेपाल सरकारको सूचीमा चिकित्सालयको नाम पनि रहेको जानकारी दिनुभयो । ‘यस चिकित्सालयले स्थापना गर्न लागेको अक्सिजन प्लान्ट लगायत अन्य पूर्वाधारमा सघाउन मैलै स्वास्थ्य मन्त्री शेरबहादुर तामाङलाई पनि भनेको छु । समय मिलाएर स्वास्थ्य मन्त्री पनि अवलोकन भ्रमणमा आउने कुरो भएको छ । चिकित्सालयबाट प्रवाह हुने स्वास्थ्य सेवाको गुणस्तर बढाउन सरकारले सक्दो काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’ उहाँले भन्नुभयो ।

काठमाडौं महानगरपालिकाको सहयोगमा अस्पतालले ३५ शैय्याको कोरोना वार्ड सञ्चालन गरिरहेकोमा पनि उहाँले प्रशंसा गर्नुभयो । ‘ अहिलेको महामारीको समयमा जनताको जीवन बचाउन राज्यका सबै निकाय, संघसंस्था सहकार्य गरी अघि बढ्नुपर्ने खाँचोलाई यहाँहरुले पहिले महसुश गरेर कार्यान्वयन गरिरहनुभएको छ । त्यो सा¥है सराहनीय छ ।’ उहाँले भन्नुभयो। सो अवसरमा चिकित्सालयका अध्यक्ष डा। मनोजमान श्रेष्ठले महानगरपालिका लगायत सबैको साथ र सहयोग पाएर अस्पतालले कोरोना महामारीको समयमा जनतालाई सहज र सर्वसुलभ रुपमा स्वास्थ्य प्रदान गर्न सकेको बताउनुभयो ।

संक्रमणको जोखिम तीब्र रहेको बेला एकातिर सरकारी अस्पतालमा बेड, अक्सिजन नपाएर मानिसहरु निकै कष्ट व्यहोर्नु परेको र अर्कोतिर निजी अस्पतालमा अति महंगो शुल्कले गर्दा स्वास्थ्य सेवा नपाएको अवस्थामा चिकित्सालयले सहज रुपमा सेवा प्रदान गरी धेरैको ज्यान बचाउन सफल भएको पनि डा श्रेष्ठको भनाई रहेको छ । अस्पतालको सेवा प्रवाहलाई अझ गुणस्तर र चुस्त बनाउन अक्सिजन प्लान्ट बनाउने, पूर्वाधार बनाउने याजना कार्यान्वयन गर्ने चरणमा रहेको जनाउँदै उहाँले सो कार्यको लागि सरकारले यथासक्य सहयोग गर्न माग गर्नुभयो। महानगरपालिकासंग सहकार्य गरेर स्वास्थ्य सेवालाई अझ जनमुखी बनाउने काम भइरहेको बताउँदै अध्यक्ष श्रेष्ठले सो कार्यमा केन्द्र सरकारको पनि सहयोगको अपेक्षा गर्नुभयो ।

महानगरपालिकाको – २५ वडाका वडाअध्यक्ष निलकाजी शाक्यको समेत उपस्थिति रहेको सो कार्यक्रमका महानगरपालिका– १७ वडाका वडाअध्यक्ष नवीन मानन्धरले अस्पतालको क्षमता बढाउन र संक्रमणको दर घटाउन दुवै कामलाई सँगै लिएर गए मात्र कोभिडलाई नियन्त्रणमा लिन सकिने भएकोले सबै मिलेर अगाडि बढ्नुको विकल्प नभएको धारणा राख्नुभयो । उहाँले पाँच दिनको लागि भनेर सञ्चालित खोप कार्यक्रम सरकारी नीतिका कारण दुई दिनमै स्थगित गर्नुपरेकोमा रोष प्रकट गर्नुभयो ।

अस्पतालको क्षमता बढाएर कोभिड संक्रमणमा परेका विरामीलाई सहज उपचारको वातावरण मिलाउने सरकारी र सामुदायिक अस्पतालसंग सहकार्य गर्ने महानगरको नीति अनुरुप जेठ १२ गते चिकित्सालयमा विशेष कोविड अस्पताल सञ्चालनमा ल्याइएको थियो । काठमाडौं महानगरले पूर्वाधार सुधारका लागि एकमुष्ट ३० लाख ३४ हजार ७ सय र मासिक सञ्चालन खर्चवापत् करीब ४८ लाख १६ हजार रुपैयाँ व्यहार्ने छ ।