कोरोना नियन्त्रणका लागि प्रभावकारी कदम चालेर अगाडि बढ्नु पर्नेमा स्वास्थ्यमन्त्रीको जोड

252
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री शेर बहादुर तामाङ्गले आफ्नो कार्यभार सम्हालेसँगै सातै प्रदेशका सामाजिक, स्वास्थ्य तथा जनसंख्या मन्त्रीहरुसँग भर्चुअल छलफल शुरु गर्नुभएको छ । छलफलमा वहाँले कोभिड १९ नियन्त्रण तथा व्यवस्थापनमा प्रदेश स्तरबाट भइरहेका कामहरुको प्रशँसा गर्दै जनताको जीवन रक्षाकालागि दत्तचित्तभएर लाग्नुपर्ने कुरामा जोड दिनुभयो । “आमनेपालीको जीवन रक्षाकालागि हामी सबै मिलेर कामगर्नुपर्नेछ । सबै नागरिकहरुलाई सहज, सुलभ र सकेसम्म निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्नुपर्नेहुन्छ,” स्वास्थ्य तथा जनसंख्यामन्त्री तामाङ्गले छलफलमा बताउनुभयो । उहाँले भन्नुभयो— “हामी सबै खोपमै केन्द्रीत भई कार्य गरिरहेका छौ ।”

वहाँले महामारीको समयमा उपचार सँगसँगै रोकथाम पनि महत्वपुर्ण हुने हुँदा अध्यादेश मार्फत सबैलाई स्वास्थ्य सामाग्रीहरु खरिदका लागि सहज हुने गरि व्यवस्था समेत गरिएको जानकारी गराउनुभयो ।छलफलमा वहाँले निर्माण भएका अस्पतालहरुका पूर्वाधारहरु सुदृढ गर्नमा केन्द्रित गर्दै खोप उपलब्धताका सकारात्मक सन्देशहरु चाँडै नै प्रवाहगर्ने बताउनु भयो ।“ मन्त्री तामाङले छलफलमा आएका गुनासाको सम्भाधन गर्दै भन्नुभया—े कोभिड १९ को खोपको माग र उपलब्धतामा धेरै ठूलो ग्याप रहेको छ त्यसैले धेरै चुनौतिभएको हो ।”

वहाँले नीजिअस्पतालहरुबाट सेवाप्रवाहमा भएका राम्रा कार्यहरुको प्रशंसा गर्दै, केही अस्पतालहरुले सेवा प्रवाह गर्ने क्रममा सेवाग्राहीलाई पारेका समस्याहरु समाधानगर्न अनुगमन र कारवाही बढाउने प्रतिबद्धता जनाउनुभयो । कोभिड–१९ संक्रमणको तेस्रो लहरको तयारीका लागि समेत मन्त्रालयले कार्यहरु अगाडी बढाईसकेको जानकारी गराउनुभयो । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले कोभिड १९ को वर्तमान अवस्थाबारे विश्लेषणात्मक प्रस्तूतिगर्नु भएको थियो । छलफलमा प्रदेश नं. १ का सामाजिकविकास मन्त्री उषाकला राईले वर्तमानअवस्था, चुनौति र आगामी कार्ययोजनाका बारेमा प्रस्तूत गर्दै विभिन्न तहहरु बिचको समन्वय बढाउने गरी कार्य गर्नुपर्नेमा जोड दिनु भएको छ ।

सुदूरपश्चिम प्रदेशबाट सामाजिक विकास मन्त्री लालबहादुर खडकाले सुदूरपश्चिमप्रदेशलाई उच्च प्राथमिकतामा राखेर योजना बनाउन र अहिले हामी सबैको पहिलो प्राथमिकता नै खोप र अर्को लहरको संक्रमणको तयारी रहेको बताउनु भयो । बागमती प्रदेशका सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले पहिलो लहरको संक्रमणको अवस्थामा स्थानिय तहहरुबाट क्वारेन्टिनमा प्रशंसनियकार्यहरु भएको बताउनुहुँदै, दोस्रो लहरमा निकै चुनौतिपूर्ण अवस्थाबाट गुज्रिनुपरेकोले सचेत भएर आगामी दिनका लागि हाम्रो तयारी, समन्वय र सहकार्य बढाएर कामगर्न आवश्यकता रहेको बताउनु भयो । गण्डकी प्रदेशका प्रमुख सचिवले प्रदेशको अद्यावधिक अवस्थाबारे जानकारी प्रस्तुतगर्दै गुणस्तरिय स्वास्थ्य सेवा प्रवाहमा सुविधा सम्पन्न एम्बुलेन्स सेवाको महत्वबारे प्रष्टयाउनु भयो ।

लुम्बिनीप्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले स्वास्थ्यमा राज्यको लगानी बढाउनु पर्ने, स्वास्थ्यकर्मीलाई कामगर्ने गरी उत्प्रेरण गर्नु पर्ने र तीनतह बीचको समन्वय, सहकार्य व्यवहारमा देखिनु पर्नेमा जोड दिनु भयो । कर्णाली प्रदेशका सामाजिक विकास सचिव कृष्णप्रसाद काप्रीले जनशक्ति, स्रोत साधान, आपूर्ति व्यवस्थापन सुधार गर्ने लगायत भौगोलिक अवस्थाका कारण बिरामीको ओसारपसारलाई विशेष किसिमले सम्बोधनगर्न आवश्यकता रहेको औल्याउनु भयो ।

प्रदेश नं. २ का सामाजिक विकास मन्त्रालयका सचिव इमानारायण श्रेष्ठले स्वास्थ्यका पूर्वाधारहरुको प्राविधिक विश्लेषण र प्रयोगको सुनिश्चितताको दिगोपनालाई ध्यानगर्दै समुचित तरिकाले विकास गर्नुपर्ने बताउनु भयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नु भएको थियो भने कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्याल र प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलको समेत उपस्थिति रहेको थियो ।