दक्षिण कोरियामा रहेका काभ्रेबासीको सहयोगमा २६ वटा अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामाग्री हस्तान्तरण

1.8k
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

काभ्रेपलाञ्चोक जिल्लाबाट रोजगार, अध्ययन तथा ब्यापार ब्यवसायका क्रममा दक्षिण कोरिया पुग्नु भएका ब्यक्तिहरुले कोरोना भाईरसको महामारीमा आफ्नो श्रमको मुल्य कटाउँदै जिल्लाबासीहरुका लागि सहयोग उपलब्ध गराउनु भएको छ । ‘विपदमा होस्टेमा हैसे गर्न सकियोस भन्ने उदेश्यले रकम संकलन गरी स्वास्थ्य सामाग्री उपलब्ध गराएका हौ’– काभ्रे सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष सानु लामाले भन्नुभयो । ‘महामारीको बेला आफ्नो जिल्लाका लागि थोरै भए पनि सहयोग उपलब्ध गराएका छौं’–दक्षिण कोरियामा रहनु भएका लामाले भन्नुभयो–‘जिल्लाबासीहरु जिल्लाका हरेक विपदमा सहयोग पु-याउन चाहन्छौं ।

तर सहयोगको सदुपयोग भै दिए हुन्थ्यो भन्ने अपेक्षा हुन्छ ।’ २०११ मा दक्षिण कोरियामा काभ्रेपलाञ्चोक जिल्लाबाट दक्षिण कोरिया पुग्ने जिल्लाबासीहरुले काभ्रे सम्पर्क समिति गठन गर्नु भएको थियो । कोरोना भाईरसको संक्रमण फैलिरहँदा दक्षिण कोरियामा संकलन भएको रकमबाट अक्सिजन सिलिण्डर २६ थान (४० लिटर क्षमता), २६ थान पिपिई सेट, मास्क ५२ प्याकेट गरी ४ लाख २५ हजार रुपैयाको सामाग्री जिल्ला संकट ब्यवस्थापन केन्द्रलाई उपलब्ध गराईएको छ । काभ्रे सम्पर्क समिति दक्षिण कोरियाका सल्लाहकारहरु विजय बस्नेत, तपस तामाङ, रामकृष्ण आचार्य, श्रमदिप चौलागाई, डेन्जित लामा, साङ्गे छिरिङ्ग लामा र विमल दोङ्गले प्रमुख जिल्ला अधिकारी एवं संकट ब्यवस्थापन केन्द्रका संयोजक शिवराम पोखरेल, सहायक प्रमुख जिल्ला अधिकारी अमर दिप सुनुवार र स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झालाई हस्तान्तरण गर्नु भएको थियो ।

प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले विषम परिस्थितिमा जिल्लाबासीहरुले जिल्लाकै विपदमा सहयोग पुग्ने उदेश्यले उपलब्ध गराएका स्वास्थ्य सामाग्रीहरुको सदुपयोग हुने प्रतिवद्धता ब्यक्त गर्नु भयो । महामारीका बीच केहि साता अघि अक्सिजन सिलिण्डर अभाव भएका कारण विरामीहरुलाई समस्या परेको थियो । देशभर हाहाकार भएको अक्सिजन सिलिण्डर, अक्सिजन तथा अन्य स्वास्थ्य सामाग्री उपलब्ध गराउन काभ्रे सम्पर्क समिति दक्षिण कोरियाले खेलेको भूमिका र गरेको सहयोग प्रति आभारी रहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनु भयो ।

‘प्राप्त सामाग्रीहरुलाई तत्कालै आवश्यकताका आधारमा स्थानीय सरकारलाई पठाउने ब्यवस्था मिलाउने छौं’–प्रमुख जिल्ला अधिकारी पोखरेलले भन्नुभयो–‘संकट ब्यवस्थापन केन्द्रको बैठकले आवश्यक स्थानमा आवश्यक सामाग्री पठाउने ब्यवस्था मिलाईनेछ । सबै पालिकाहरुमा स्वास्थ्य सामाग्री उपलब्ध हुनेछ ।’ अघिल्लो चरणको संक्रमणका बेला समितिको तर्फबाट जिल्लाका सबै पालिकाहरुमा २० वटा एक हजार लिटर पानीको ड्रम उपलब्ध गराईएको थियो । नियमित हात धुँदा कोरोना भाईरसको संक्रमण फैलन नसकोस भन्ने उदेश्यले समितिले पालिकाहरुमा नियमित प्रयोगमा आउने गरी पानीको ड्रम उपलब्ध गराएको अध्यक्ष सानु लामाले बताउनु भयो ।

यस अघि काभ्रे सम्पर्क समिति दक्षिण कोरियाले काभ्रेपलाञ्चोक जिल्लाका लागि चठ्ठा कार्यक्रम संचालन गरि करिव एक करोड वोन बराबर मुनफाबाट बेथानचोक साबिक च्यासिङ्गखर्क गाविसका लागि एम्बुलेन्स हस्तान्तरण गरेको थियो । त्यस्तै भुकम्पमा ज्यान गुमाएका आफन्तका परिवारहरुका नेपाली रुपैया करिव १६ लाख सकंलन गरी काभ्रेको ग्रामिण र अत्याअबश्क ठाउँहरुमा राहत बितरण गरिएको थियो । जिल्ला लगायत अन्य जिल्लाहरुमा बाढी पहिरो लगायत दैबी प्रकोपबाट पिडित भएकाहरुका लागि आर्थिक सहयोग उपलब्ध गराउँदै आएको अध्यक्ष सानु लामाले बताउनु भयो ।

तराईमा बाढीबाट प्रभाबित भएकाहरुका लागि सस्थाबाट सामाजिक अभियान्ता तथा पत्रकार रबि लामिछाने मार्फत करिव एक नेपाली एक लाख भन्दा बढी सहयोग उपलब्ध गराएको थियो । समिति मार्फत कोरियामै ब्रेन ट्युमर भएर उपाचार गराई रहनु भएका सस्थाका उपाध्यक्ष सन्जय खत्रीको उपचारका लागि २५ लाख नेपाली रुपैया जुटाएर आर्थिक सहयोग गरिएको थियो । मृगौला पिडित लगायत अन्य आर्थिक अबस्था कमजोर भएर उपाचाररत बिरामीहरुको लागि आर्थिक सहयोग गर्दै आएको अध्यक्ष लामाले बताउनु भयो ।

कोरिया लगायत नेपालमा भैपरी आउने समस्याहरुलाई आर्थिक सहयोग उपलब्ध गराउन सास्कृतिक कार्यक्रम रिदम कन्सर्ट आयोजना गरेर जिल्लाको बिकट ठाउँका लागि एम्बुलेन्स हस्तान्तरण गर्ने उदेश्य लिएको भए पनि कोरोना र अन्य बिबिध कारणले उक्त कार्य स्थगित भएको अध्यक्ष लामाले बताउनु भयो । समितिले काभ्रे जिल्लाबाट कोरियामा पुगी निधन भएका अभिभावककका बालबच्चालाई अध्ययनका लागि सहयोग उपलब्ध गराउँदै आएको, बिद्यालय भवन निर्माणमा सहयोग पु-याएको, छात्रवृत्ति सहयोग गरेको छ ।

सन् २०११ मा दक्षिण कोरियामा कार्यरत धुलिखेल १२ शंखु घर भएका यम श्रेष्ठको नेतृत्वमा उक्त संस्था स्थापना भई सहयोग संकलन र हस्तान्तरण गर्ने कार्य शुरु भएको अध्यक्ष सानु लामाले बताउनु भयो । यम श्रेष्ठकै कार्यकाल देखि नेपाल देखि कोरियामा भैपरी आउने बिरामी लगायत अन्य बिपतमा परेकाहरुलाइ सहयोग उपलब्ध गराउन शुरु गरिएको थियो । कोरोनाको महामारीमा पनि श्रेष्ठको विशेष सहयोग रहेको अध्यक्ष लामाले बताउनु भयो ।