विकल्पमा उदाएको ई–बैंकिङ प्रणाली



कोरोना महामारीका कारण जारी लकडाउनका कारण देश लामो समयदेखि प्रभावित बनेको छ । हाम्रा दैनिक क्रियाकलाप पनि यसकारण अत्यन्तै प्रभावित भएका छन् । विज्ञान र प्रविधिको युगमा अब हामीले भौतिकरुपमै दैनिक क्रियाकलाप सञ्चालनभन्दा पनि अनलाइनमार्फत अधिकांश सेवा–सुविधा प्रयोग गर्न विकल्पका रुपमा अवलम्बन गर्न जरुरी छ । यहाँ केही बैंकिङ क्षेत्रमा हुन सक्ने अनलाइन सेवाहरुका बारेमा चर्चा गरिएको छ ।

ई–बैंकिङको खाता:

ई–बैंकिङ प्रविधिको विकास हो । पछिल्लो समयमा मोबाइलबाटै ई–बैंकिङ कारोबार गर्न थालिएको छ । प्रविधिको विकासले बैंकसम्म पुग्न नपर्ने र कम समयमै काम गर्न सकिने भएको हुँदा ई–बैंकिङ प्रविधिले सरल र सहजीकरण गरेको छ ।खाता खुलेपछि ग्राहकले आफूले भरेको फर्ममा उपलब्ध गराएको इमेल ठेगानामा खाता खोलिएको सूचना पाउँछ । उक्त इमेलमा आफ्नो युजर नेम, पासवर्ड तथा सञ्चालनसम्बन्धी अन्य प्रक्रियाहरुको बारेमा सूचना प्राप्त भएपछि त्यसै अनुसार ई–बैंकिङ सेवा सुचारु गर्न सकिन्छ ।

डेबिट कार्ड:

बैंक कार्ड वा चेक कार्ड भनेर पनि चिनिने डेबिट कार्ड एकप्रकारको प्लास्टिक कार्ड हो । यसको प्रयोग गरेर एटिएम मेसिनबाट नगद निकाल्न र वस्तु वा सेवा खरिद गर्दा यसको माध्यमबाट भुक्तानी दिन सकिन्छ । कागजी ‘चेक’ जस्तै यसको प्रयोग पनि बैंक खातामा रकम मौज्दात रहेसम्म मात्र गर्न सकिन्छ । डेबिट कार्डको उपयोग इन्टरनेटमार्फत किनमेल गर्दा पनि प्रयोग गर्न सकिन्छ । यसको प्रयोगले चेक काट्ने, हस्ताक्षर नमिल्ने, बैंक तथा वित्तीय संस्थामा हुने लामो लाइनलगायतका समस्याबाट मुक्त गराउँछ ।

क्रेडिट कार्ड:

क्रेडिट कार्डलाई भुक्तानी कार्डका रुपमा प्रयोग गरिन्छ । ग्राहकले कुनै वस्तु वा सेवा खरिद गरेपछि क्रेडिट कार्डमार्फत भुक्तानी दिन सक्छ । यो कार्ड भएको व्यक्तिले निश्चित रकमसम्मको वस्तु वा सेवा उधारोमा खरिद गर्न सक्छ । ‘अहिले खर्च गर, पछि तिर्दै गए हुन्छ’ भन्ने गरी यो कार्ड जारी गरिएको हो । क्रेडिट कार्डमार्फत उपभोक्ताले ४५ दिनसम्म सीमाभित्रको रकम विनाब्याज प्रयोग गर्न पाउँछन् । तर त्यो अवधिभित्र चुक्ता गरेन भने ‘लेट फी’ र सामान्यभन्दा बढी दरको ब्याज तिर्नुपर्ने हुन्छ ।क्रेडिट कार्डबाट एटिएम मेसिन प्रयोग गरी रकम निकाल्न पनि मिल्छ । तर यसका लागि केही शुल्क भने काटिन्छ । नेपालमा क्रेडिट कार्ड कमै प्रयोग छ । बैंकहरूले पनि क्रेडिट कार्ड जारी गर्न खासै चासो देखाएको पाईंदैन । विकसित देशमा मानिसको उमेर, आय, स्वास्थ्य अवस्था, परिवारलगायतका विभिन्न सूचना भएपछि उसलाई कतिसम्म रकम पत्याउन सकिन्छ भन्ने हिसाब निकाल्छन् । नेपालमा यस्तो प्रणालीको विकास भइसकेको छैन ।

मोबाइल बैंकिङ:

बैंक तथा वित्तीय संस्थाले आफ्नो कारोबार देशैभरि विस्तार गर्नका लागि मोबाइल प्रविधिअन्तर्गत मोबाइल वा ट्याबलेटबाट नै बैँकिङ कारोबार गर्न सकिने गरी विभिन्न मोबाइल एप्लिकेसनहरु उपलब्ध गराउँदै आएका छन्, जसलाई मोबाइल बैँकिङ भनिन्छ । मोबाइलबाट नै बैंकमा खाता खोल्ने, पैसा जम्मा गर्नेलगायतका कार्यहरु गर्न मिल्ने हुँदा बैंकहरुको प्रत्यक्ष पहुँच नपुगेका स्थानका मानिसहरुसमेत बैंकिङ सेवाबाट वञ्चित हुनु नपर्ने वातावरण मोबाइल बैंकिङले निर्माण गरेको छ । मोबाइल बैंकिङ चौबीसै घण्टा उपलब्ध हुने हुँदा सर्वसाधारणलाई बैंकिङ सेवा प्राप्त गर्न सहज हुने गर्दछ ।

शाखारहित बैंकिङ:

बैंकको शाखा नभएका स्थानमा सरल तथा सहजरूपमा वित्तीय पहुँच पु¥याउनका लागि ल्याइएको एक अवधारणा नै शाखारहित बैंकिङ सेवा हो । यसअन्तर्गत बैंकको सेवा नपुगेको स्थानमा बैंकका तर्फबाट स्थानीय व्यापारी वा सेवाग्राहीलाई जिम्मेवारी दिने गरी अभिकर्ताका रूपमा सम्झौता तोकिन्छ । अभिकर्ताले बैंकले उपलब्ध गराएको मेसिनमार्फत स्थानीयलाई खाता खोल्ने, रकम जम्मा गर्ने, झिक्ने, रेमिट्यान्स भुक्तानी र स–सानो ऋण लगानीलगायत सेवा दिन्छन् । राष्ट्र बैंकको निर्देशनअनुसार ‘क’ वर्गका वाणिज्य बैंक र ‘ख’ वर्गका विकास बैंकले शाखारहित बैंकिङ सेवा सञ्चालन गर्न पाउँछन् । बैंकहरुले महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाबाहेकका स्थानहरु विशेष गरी ग्रमीण ठाउँमा शाखारहित बैंकिङ सेवा विस्तार गर्न पाउने व्यवस्था छ ।बैंकहरुले दुर्गम क्षेत्रमा भौतिक शाखा विस्तार गर्न नसकेको अवस्थामा बैंककै कर्मचारीहरुमार्फत बैंकिङ सेवा प्रवाह गरिरहेका हुन्छन् । यस्तो बैंकिङ सेवा भूकम्पको समयमा गाउँगाउँमा भुक्तानी वितरण गर्नको लागि बढी प्रयोग भएको पाइन्छ ।नेपालमा ५ सय भन्दा बढी शाखारहित बैैंकहरु सञ्चालनमा आइसकेका छन् । यस्ता शाखारहित बैंकिङ सेवाले पिछडिएका, दुर्गम र दूरदराजका मानिसलाई बैंकिङ सेवा प्रवाह गरिरहेका छन् । शाखारहित बैंकिङ सेवामा बैंकहरुले प्रयोगमा ल्याएका सबै सेवा–सुविधाहरु दुरुस्तै दिन सकिन्छ ।

अन्तर–बैंक विद्युतीय भुक्तानी प्रणाली:

नेपाल क्लियरिङ हाउस लिमिटेड नेपाल राष्ट्र बैंकको मातहतमा रहेको एक पब्लिक कम्पनी हो । वि.सं. २०६५ मंसिर ९ गते यस कम्पनीको स्थापना गरिएको थियो । यसमा नेपाल राष्ट्र बैंकलगायत कमर्सियल बैंक, विकास बैंक, फाइनान्स र स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) को समतामूलक सहभागिता रहेको छ । बैंक तथा वित्तीय सेवाको प्रभावकारिता र उत्पादनलाई सुधार गर्दै उपभोक्ताका लागि एक सहज वित्तीय समाधान प्रदान गर्नको लागि एक प्रविधिमुखी सेवा यस कम्पनीले प्रदान गर्ने गर्दछ । बैंकका विभिन्न पूर्वाधारहरुमा खर्च नगरी सीधै प्रविधिको माध्यमबाट बिल भुक्तानी गर्न सक्ने सुविधा यस कम्पनीले प्रदान गर्दछ ।

नेपाल क्लियरिङ हाउससँग आबद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेका ग्राहकहरुले एक–अर्काको खातामा भुक्तानी दिन र लिन गरिने कारोबार एवम् फछ्र्यौट व्यवस्थापनका लागि सञ्चालन गरिएको भुक्तानी प्रविधि नै अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली हो । कम्पनीको विद्युतीय भुक्तानी प्रणालीबाट ग्राहकले अनलाइनमार्फत या बैंकमा फर्म भरेर अर्को बैंकको खातामा रकम भुक्तानी दिन सक्नेछन् ।अन्तर–बैंक विद्युतीय भुक्तानी कारोबारका लागि ग्राहकले आफ्नो बैंकमा भुक्तानी लिने र दिने दुबै पक्षको बैंक खाताको विवरण, कारोबारको किसिम, रकमलगायतका जानकारी उपलब्ध गराउनुपर्ने हुन्छ । यस प्रणालीमार्फत गरिने हरेक कारोबारमा ग्राहकलाई सामान्य शुल्क लाग्नेछ ।
 कमल यादव, जनकपुर ।

प्रतिक्रिया दिनुहोस्