निर्माणबाट हात झिक्न प्रदेश सरकारलाई दबाब

हेटौंडा–काठमाडौं सुरूङमार्ग


रोशन पराजुली , हेटौंडा (नेस) ।

नेपालकै बहुप्रतीक्षित र देशकै मुहार फेर्ने अपेक्षा गरिएको हेटौंडा–काठमाडौं शुरूङमार्ग निर्माणबाट हात झिक्न नेकपा माओवादी केन्द्रले वागमती प्रदेश सरकारलाई दबाब दिएको छ ।‘प्रदेशको गौरवको योजना’ का रूपमा रहेर ‘पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी शुरूङमार्ग’ नामाकरण गरिएको उक्त योजनाको औचित्य नरहेको प्रदेशसभामा प्रमुख प्रतिपक्ष उक्त दलले दाबी गरेको हो । प्रदेश सरकारको आव २०७५-०७६ को नीति तथा कार्यक्रमबाट उक्त योजनालाई ‘प्रदेश गौरवको योजना’ का रूपमा घोषणा गरिएको छ ।

पत्र दिँदै माओवादी केन्द्र वागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेलले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा उक्त योजना समावेश नगर्न सरकारलाई ‘सुझाव’ दिनुभएको हो । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई पत्र बुझाइएको छ ।नेकपा माओवादी केन्द्र र नेकपा एमालेको संयुक्त सरकार रहेको अवस्थामा सर्वसम्मत्रूपमा प्रदेशको गौरवको योजनाका रूपमा राखिएको शुरूङमार्ग निर्माणको विषयमा सरकारबाट बाहिरिएपछि माओवादीकोे फरक धारणा आएको हो ।योजनालाई प्रदेश सरकारले सबभन्दा महत्वपूर्ण योजनाका रूपमा लिँदै आएको छ । शुरूङमार्ग निर्माणस्थलको माटो परीक्षण र डीपीआर निर्माणलगायत विषयमा प्रदेश सरकारले लाखौं खर्च गरिसकेको अवस्थामा माओवादी केन्द्रले विरोध जनाएको छ ।‘शुरूङमार्गको क्षेत्र कानुनी हिसाबले निजी क्षेत्रले लिएको र उपादेयताका हिसाबले निजगढ–काठमाडौं दु्रतमार्ग यस क्षेत्र नजिकबाट जाने भएका कारण शुरूङमार्गको औचित्य नदेखिएकाले उक्त योजनालाई प्रदेश सरकारले छाड्नुपर्दछ,’ पत्रमा भनिएको छ ।

प्रदेश सरकारले निर्माण गर्न लागेको शुरूङमार्ग आयोजना कार्यालय हेटौंडामा स्थापना गरिसकेको छ । कार्यालय स्थापनापछि प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयालले शुरूङमार्ग तोकिएको समयमा निर्माण हुने बताउनुभएको थियो । मार्ग निर्माणले देशलाई दीर्घकालीनरूपमा फाइदा पु-याउने उहाँको धारणा छ ।करिब ३ किलोमिटर शुरूङमार्ग ४२ महिनामा सम्पन्न गर्ने लक्ष्य छ । अन्तर्राष्ट्रियस्तरका परामर्शदाताका लागि १२ कम्पनीले आवेदन पेश गरेका थिए । भौतिक पूर्वाधार विकास मन्त्रालयलाई सार्वजनिक लेखा समितिले महामारीबाट सिर्जित समस्या समाधान गर्न प्रदेश सरकारले ठूलो आर्थिक लगानी गर्नुपर्ने अवस्थामा राज्यकोषको ठूलो रकम दुरुपयोग हुने देखिएकाले तत्काल निर्माण प्रक्रिया अघि नबढाउन भनेको छ ।लेखा समितिले शुरूङमार्ग बनाउन संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड (एनपीबीसीएल) बीच सम्झौता भएकाले यसबारे कानुनी प्रश्न स्पष्ट नभएको बताएको छ ।२० वर्ष अघिदेखिको शुरूङमार्ग निर्माणको सपना भएको भन्दै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारको गौरवको आयोजना भएको बताउनुभयो । उक्त योजनासँगै देशका लागि महत्वपूर्ण मानिएको अर्को महत्वाकांक्षी योजनासमेत जोडिने छ । दुई ठूला योजना पूर्ण गरेर आर्थिक समृद्धितर्फ लाग्न प्रदेश सरकारले शुरूङमार्गको सपना पूरा गर्ने जमर्को गरेको जनाएको हो ।

भारत–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन उक्त शुरूङमार्ग हुँदै काठमाडौं पु-याउने योजना शुरूङमार्ग निर्माणस“गै जोडेर अगाडि बढाउने योजना बुनिएको छ । ७२ किलोमिटरमा अमलेखगञ्ज–काठमाडौं पाइपलाइन बिस्तार गर्न सकिने मुख्यमन्त्रीका स्वकीय सचिवसमेत रहनुभएका अर्थशास्त्री अनुप पौडेलले बताउनुभयो । उहाँ भन्नुहुन्छ–‘हेटौंडामार्फत् नेपालका पश्चिमी, दक्षिणी र पूर्वी भाग जोड्ने यसको सबभन्दा छोटो तरिका रहेको शुरूङमार्ग बन्दा नेपाललाई दीर्घकालीनरूपमा फाइदा हुने देखिन्छ ।’ उहाँले पेट्रोल पाइपलाइन परियोजना अमलेखगञ्जमा आइसकेको र शुरूङमार्ग बनेपछि ७४ किलोमिटरमा काठमाडौंसम्म लैजान सकिने स्पष्ट पार्नुभयो । जसको सबभन्दा धेरै फाइदा सडक यातायातमा लाग्ने खर्च कटौती हुने उहाँको दाबी छ । शुरूङमार्गले स्थलमार्गको करिब १७ किलोमिटर दुरी छोटो बनाउनेछ ।शुरूङमार्ग निर्माण परियोजना कार्यान्वयन गर्न एनपीबीसीएलसँगको सम्झौता रद्द गर्न प्रदेश सरकारले संघीय सरकारलाई निर्णयसहित आग्रह गरिसकेको छ । जबकि, पावर चाइनासँगको सम्झौताअनुसार प्रदेश र केन्द्र सरकारसँग मिलेर निर्माण आरम्भ गरिने एनपीबीसीएलले बताएको थियो । आयोजनामा पावर चाइनाले ९५ प्रतिशतसम्म लगानी गर्ने सहमति भएको थियो ।पावर चाइनाले ७५ः२५ अनुपातमा ऋण लगानीका लागि अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूबाट लगानी व्यवस्थापन गर्ने जिम्मा लिएको छ । ३० महिना पटक–पटक आयोजना क्षेत्रको स्थलगत अवलोकन गरेर पावर चाइनाले १३ जनवरी, २०१८ मा प्राविधिक प्रस्ताव पेश गरेको थियो ।

सन् २०१५ डिसेम्बर देखिको प्रयासपछि एनपीबीसीएलले पावर चाइनासँग २०१७ मेमा चीनको बेइजिङमा बेल्ट एन्ड रोड इनिसिएटिभ सम्मेलनका अवसरमा ईपीसी ठेक्कामा हस्ताक्षर गरेको थियो ।कुलेखानीदेखि सिस्नेरी हुँदै फर्पिङसम्ममा थुप्रै घर सडक सीमाभित्र छन् । सडक हाल बिस्तारको क्रममा छ । अझै पनि सरकारले थुप्रै घर भत्काउन बाँकी नै छ । हाल सञ्चालनमा रहेको हेटौंडा–कुलेखानी–फर्पिङ–काठमाडौं करिब ३ घण्टा लाग्ने गरेको छ । शुरूङमार्ग निर्माणपछि हेटौंडाबाट २ घण्टामा काठमाडौं पुग्न सकिने र दुरी घट्नाले सवारी इन्धन खर्च, मर्मत खर्चसहित समय बचत हुने बताइएको छ ।आयोजनाको डीपीआर तयार भइसकेको छ । आयोजनामा शुरूङसहित पहुँचमार्ग र पुलसहित संरचना निर्माण गर्न १९ अर्ब ३२ करोड अनुमान छ । मकवानपुरको भीमफेदी गाउँपालिका–६ को बगरबाट इन्द्रसरोवर गाउँपालिका–२ मा पर्ने कुलेखानी ड्याम मुनिसम्म देउराली डाँडाको फेदीबाट शुरूङ बन्नेछ ।मकवानपुरको भीमफेदी बजारबाट करिब १.९ किमी उत्तरपूर्वबाट ७.५ मिटर ब्यास भएका दुई वटा शुरूङमार्ग निर्माण गरी कुलेखानीसम्मको करिब १६ किमी जटिल भूवनौट, उच्च जोखिम, साँघुरो, घुमाउरो तथा अप्ठ्यारो सडकखण्डलाई ३ किमीमा घटाएर काठमाडौंसँग हेटौंडा तथा तराई मधेशको दुरी छोट्याउने आयोजनाको प्रमुख लक्ष्य छ । शुरूङमार्गले स्थलमार्गको करिब १७ किलोमिटर दुरी छोटो बनाउनेछ ।आयोजनाको प्रमुख संरचनाका रूपमा दुई वटा शुरूङ एकापसमा ४० मिटर फरकमा समानान्तररूपमा निर्माणका अतिरिक्त करिब २.५ किमी दुई लेनको सडक, ७५ मिटर र ३५ मिटर लम्बाइका दुई पक्कीपुललगायत आवश्यक पूर्वाधार छन् ।आयोजना निर्माणका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयबाट स्रोत सुनिश्चिततापश्चात् १९ अर्ब ३२ करोड ५ लाख ७६ हजार ५ सय रुपियाँ लागतको बहुवर्षीय खरिद गुरुयोजना स्वीकृत भएको छ । नेपाल सरकारले आव २०७७-०७८ को बजेटमा आयोजनालाई प्रदेश सरकारस“गको सहकार्यमा कार्यान्वयन गर्ने गरी बजेट व्यवस्था गरेको छ ।