आफन्तले शव व्यवस्थापन गर्दा संक्रमणको जोखिम, अझै उपलब्ध भएन शव बाहन

3.6k
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

आफन्तले नै कोरोना भाईरसका विरामीहरुको मृत्यु पश्चात शव ब्यवस्थापन गर्दा संक्रमण फैलन सक्ने जोखिम बढेको छ । सरकारले संक्रमित ब्यक्तिको मुत्यु भए पश्चात आफन्तले शव लैजान चाहेको अवस्थामा सुरक्षा मापदण्ड पुरा गरी लैजान सक्ने ब्यवस्था गरेको थियो । शव वाहन नभएका कारण अन्य सवारी साधन मार्फत शब ब्यवस्थापन गर्दै आएको नेपाली सेनाले बाहेक आफन्तले समेत अन्त्येष्टी गर्न पाउने ब्यवस्था पछि जनस्वास्थ्यका मापदण्ड पालना भए नभएको अनुगमन नहुँदा कोरोना भाईरसको संक्रमण फैलने जोखिम बढेको हो ।

‘अस्पताल मार्फत अर्थात घरमै निधन भएका नागरिकहरुको अन्त्येष्टीमा आफन्तलाई सुरक्षा मापदण्ड अपनाउन पटक पटक भनेका छौं’–प्रमुख जिल्ला अधिकारी एवं संकट ब्यवस्थापन केन्द्रका संयोजक शिवराम पोखरेलले भन्नुभयो–‘नागरिकहरुले संक्रमण फैलन नदिने तरिकाले अन्त्येष्टी गरे नगरेको अनुमगन गर्न प्रहरीलाई भनेका छौं ।’ स्वास्थ्य मापदण्ड पालना गर्छाै भनेर शव बुझेर लगेका आफन्तहरुले मापदण्ड पुरा गरेका छैनन । २५ जना भन्दा कम मलामी जानु पर्नेमा धेरै गएको, अन्त्येष्टीका बखत अपनाउनु पर्ने अन्य सुरक्षा मापदण्ड पनि नपनाएको स्थानीयहरुले बताएका छन् । जिल्लामा निधन भएका मध्ये १० जनाको शव आफन्त मार्फत अन्त्येष्टी भएको छ ।

नेपाली सेनाको काली जंग गण धुलिखेलले पनौतीको भालेश्वर मन्दिर नजिकै रहेको घाटमा तीनवटा, नमोबुद्धमा रहेको चतुरेफेदी घाटमा एकवटा र रोशी गाउँपालिकामा रहेको रोशी खोलाको घाटमा एक जनाको शव आफन्तको अनुरोधमा अन्त्येष्टी गराएको छ । त्यो बाहेकका अन्य शवहरुलाई नेपाली सेना कालिजंग गणको टोलीले हरेक दिन पशुपति आर्यघाट लगि अन्त्येष्टी गरिरहेको कालीजंग गण धुलिखेलका गणपति कर्णेल मिलन थापाले जानकारी दिनु भयो । दोश्रो संक्रमण पछि निधन भएका मध्ये १ सय १२ जनालाई नेपाली सेनाको कालीजंग गण धुलिखेलले पशुपति आर्यघाट तथा जिल्लाका विभिन्न स्थानमा शव पु-याई अन्त्येष्टी गराएको हो ।

‘सेनाले शव लैजाँदा सुरक्षित ढंगबाट सुरक्षाका सबै मापदण्ड पुरा गरी लैजाने गरेको छ’–कालीजंग गण धुलिखेलका मेजर राजेश कार्कीले भन्नुभयो–‘सेनाको शव ब्यवस्थापनका लागि जिल्ला संकट ब्यवस्थापन केन्द्र तथा नेपाल सरकारले तोकेका मापदण्ड पूर्ण रुपमा कार्यान्वयन गरेका छौं । शवको अन्त्येष्टीका क्रममा अन्यत्र संक्रमण फैलन दिएका छैनौं ।’ ‘कोरोना भाईरसको संक्रमणबाट निधन भएका विरामीहरुको अन्त्येष्टी आफन्तले समेत गर्न सक्ने ब्यवस्था छ’–स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले बताउनु भयो–‘आफन्तले शव बुझेर लगेको अवस्था छ तर अन्त्येष्टीका बेला पुरा गर्नु पर्ने स्वास्थ्य मापदण्ड पुरा भए नभएको अनुगमन भएको छैन ।’

अस्पतालबाट आफन्तले शव बुझेर लैजादा संक्रमण फैलन नसक्ने गरी प्याकिङ्ग गरी जनस्वास्थ्यको मापदण्ड पुरा गरेर मात्रै बुझाउने गरिएको डा. झाले बताउनु भयो । ‘शव बुझेर लगे पछि अन्त्येष्टीका बेला मापदण्ड पुरा गरे नगरेको, २५ जना भन्दा कम ब्यक्तिहरु सहभागि भए नभएको जस्ता विषयको अनुगमन भएको छैन’–डा. झाले भन्नुभयो–‘अनुगमनका लागि स्थानीय प्रहरी चौकी र जनप्रतिनिधिहरुलाई जानकारी गराएकाले मापदण्ड गरेर मात्रै अन्त्येष्टी भएको विश्वास छ ।’ नमोबुद्ध ७, धुलिखेल १, रोशी १२, काठमाडौ ३२ तिनकुने, पनौत १२, गोदावरी ३, बेनी ७, चौरीदेउराली ७, धुलिखेल ११ र भुम्लुमा निधन भएका कोरोना संक्रमितहरुको अन्त्येष्टी आफन्तले नै गरेका छन् ।

अझै प्राप्त भएन शब बाहन

अघिल्लो चरणको संक्रमणका बखत नै शव बाहन नभएकाले भेटिरिनरी अस्पताललाई प्राप्त गाई भैसी बोक्ने एम्बुलेस शव वाहनका रुपमा प्रयोग गरिएको हो । यो वर्ष पनि त्यहि साधन शब बाहनका रुपमा प्रयोग भएको छ । जिल्ला संकट ब्यवस्थापन केन्द्रले प्रदेश सरकारलाई शव बाहन खरिद गरिदिन निर्णय गरेको भए पनि अझै प्राप्त नभएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताउनु भयो । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीले प्रदेश सरकारलाई शव बाहन ब्यवस्थापनका लागि प्रदेश सरकारलाई अनुरोध गरिएको भए पनि प्राप्त नभएको बताउनु भयो ।

हरेक जिल्लामा एउटा शब वाहन, २ सय भन्दा धेरै शैया भएको अस्पतालमा शव वाहन अनिवार्य हुनु पर्ने भए पनि काभ्रेपलाञ्चोक जिल्लामा चारवटा अस्पताल भए पनि शव बाहन छैन । ‘अघिल्लो वर्षको कोभिडका क्रममा निधन भएका ब्यक्तिहरुको शव पशुपति आर्यघाटमा लैजान कठिन भए पछि भेटेरिनरी अस्पतालमा भएको गाई भैसी बोक्ने एम्बुलेन्स प्रयोग गरेका हौं’–स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले बताउनु भयो–‘प्रदेश र संघ सरकारलाई पटक पटक शव बाहनको अभावका बारेमा जानकारी गरायौं तर सुनुवाई भएको छैन ।

दिनको तीनवटा शवको ब्यवस्थापन गर्न उक्त एम्बुलेन्समा पनि कठिन हुन थालेको छ ।’ नेपाली सेनाको कालीजंग गण धुलिखेलले शवहरु राजधानी पु¥याउँदै आएको छ । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले शव बाहन नभएकाले दैनिक शब ब्यवस्थापनमा कठिन भएको बताउनु भयो । ‘प्रदेशको आन्तरिक मामिला मन्त्रालयमा लिखित निर्णय गरी शव वाहन नभएर भएको समस्याका बारेमा जानकारी गराएका छौं’–प्रमुख जिल्ला अधिकारी पोखरेलले भन्नुभयो–‘ब्यवस्थापनको पहल गर्ने आश्वासन पाएका छौं ।’ प्रमुख जिल्ला अधिकारी पोखरेलले दैनिक शव राजधानी पु-याउन कठिन भएकाले जिल्लामै ब्यवस्थापनको तयारी गरिएको बताउनु भयो । सेनाले शव जिल्लामै ब्यवस्थापन गर्ने गरी स्थानको रेकि गरिरहेको छ । जिल्ला संकट ब्यवस्थापन केन्द्र मार्फत उक्त स्थानको तय गर्ने प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनु भयो ।