साउदी अरवमा रहेका काभ्रेलीले उपलब्ध गराए १२ वटा अक्सिजन कन्सन्ट्रेटर

3.7k
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

काभ्रे सेवा समाज, साउदी अरवले कोभिड १९ को महामारी नियन्त्रणका लागि काभ्रेपलाञ्चोक जिल्लाका लागि १२ थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको छ । जिल्ला संकट ब्यवस्थापन केन्द्रलाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गर्दै सदुपयोगका लागि सेवा समाजले अनुरोध गरेको छ ।

काभ्रे सेवा समाज, साउदी अरवका अध्यक्ष जेन लामा, महासचिव सुरेशराज त्रिपाठी लगायत साउदी अरवमा रहने काभ्रेपलाञ्चोक जिल्लाका नागरिकहरुले संकलन गरेको रकमबाट अक्सिजन कन्सन्ट्रेटर खरिद गरी जिल्लाका लागि पठाईएको अध्यक्ष जेन लामाले बताउनु भयो । नेपालमा कोरोना संक्रमणका विरामीहरु बढिरहँदा अक्सिजन अभावका कारण मृत्यु हुने अवस्थामा पुगे पछि विदेशमा रहेका नेपालीहरुले जीवन रक्षाका लागि स्वास्थ्य सामाग्री खरिद गरी पठाउन थालेका हुन् । ‘केहि साता अघि अक्सिजन नभएकै कारण विरामी भर्ना गर्न सकिने अवस्था थिएन, अहिले केहि सहज भएको छ’–स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख बरिष्ठ स्वास्थ्य अधिकृत डा. नरेन्द्रकुमार झाले भन्नुभयो–‘विरामीहरुका लागि अस्पतालको शैया र अक्सिजन अभाव हुन नदिने गरी ब्यवस्थापनको कार्य शुरु भएको छ ।’ काभ्रे सेवा समाज साउदी अरवबाट पठाईएका अक्सिजन कन्सन्ट्रेटरको सहि सदुपयोग गर्ने उहाँले बताउनु भयो ।

सेवा समाजका कोषाध्यक्ष अजयकुमार त्रिपाठी लगायतको समुहले प्रमुख जिल्ला अधिकारी एवं संकट ब्यवस्थापन केन्द्रका संयोजक शिवराम पोखरेल, सहायक प्रमुख जिल्ला अधिकारी अमर दिप सुनुवार, संकट ब्यवस्थापन केन्दका सदस्यहरु विष्णु दल गणका गणपति कर्णेल मिलन थापा, स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख बरिष्ठ स्वास्थ्य अधिकृत डा. नरेन्द्रकुमार झा, शशस्त्र प्रहरी कार्यालय काभ्रेका एसपी महेश केसी, राष्ट्रिय अनुसन्धान कार्यालय काभ्रेका प्रमुख अरुण कार्की, जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएस्पी हरि खतिवडाको सहभागिता रहेको थियो । काभ्रे सेवा समाजका पुर्व अध्यक्ष प्रल्हाद केसी, महासचिव मधुसुदन गुरागाई, सचिव राघव सिं खड्का, नेपाल जनस्वास्थ्य संघका केन्द्रिय सदस्य रोशन लामा लगायतको सहभागिता रहेको थियो ।

प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले काभ्रे सेवा समाज साउदी अरवले उपलब्ध गराएका सामाग्रीहरुलाई जिल्लाका पालिकाहरुमा रहेका आईसोलेसन सेन्टरहरुमा रहेको जनशक्तिका आधारमा उपलब्ध गराउँदै कोभिड नियन्त्रणमा उपयोग गरिने बताउनु भयो । प्रजिअ पोखरेलले जिल्लाबाट बैदेशिक रोजगारीका क्रममा साउदी अरव पुगेर जिल्लाका लागि केहि गर्नु पर्छ भन्ने उदेश्यले संकलन गरिएको रकमबाट सामाग्री उपलब्ध गराएकोमा विषेष धन्यवाद ब्यक्त गर्नु भएको थियो । काभ्रे सेवा समाज साउदी अरवका अध्यक्ष जेन लामाले विपदमा जहाँ पुगे पनि सँगै रहेको आभाष दिलाउन उक्त रकम संकलन गरी सामान खरिद गरी पठाईएको बताउनु भयो । संक्रमणको जोखिममा अति उपयोगी गुणस्तरीय ५ लिटर क्षमता भएको २१ किलो वजन, ९३ प्रतिशत अक्सिजन आउटपुट प्युरिटी दिने ओव्गेल्स कम्पनिको मेडिकल अक्सिजन कन्सट्रेटर १२ वटा उपलब्ध गराईएको छ । प्रति गोटा ७९ हजार रुपैयामा १२ वटाको ९ लाख ४८ हजार रुपैया खर्च भएको सेवा समाजका महासचिव सुरेशराज त्रिपाठीले बताउनु भयो ।

के के गर्‍यो सेवा समाजले ?

साउदी अरबमा पीडित अवस्थामा भेटिएकी काभ्रेपलान्चोक, खनालथोक १ घर भएकी श्रीमती मन्जु मैनालीलाई काभ्रे सेवा समाज, साउदी अरबले सहयोग स्वरुप रियाद–काठमाडौँ सम्मको २० हजार बराबरको हवाइ टिकट उपलबध गराएको छ । पाँचखाल नगरपालिका वाड नमवर ११, निवासी प्राणघातक रोगबाट ग्रसित रत्नमान लामालाई बोन म्यारो प्रत्यारोपणको लागि रियाद २० उपलबध गराएको छ । दुबईको अस्पतालमा उपचार गराइरहेका तनहुँका देवराज श्रेष्ठको उपचारको लागि ५६ हजार सहयोग गरेको छ । जनता बैंकको सहकार्यमा न्युज २४ टेलिभिजनले संचालन गरेको न्युज २४ जनता बैंक विपत्ती राहत कोषको लागि ५५ हजार ५ सय ५५, अन्तर समन्वय समिती साउदी अरबले बाढी पीडितको सहयोगार्थ सुरु गरेको अभियानमा २० हजार, धुर्मुस सुन्तली फाउण्डेशनद्वारा निर्माण गरिएको एकीकृत नमुना सन्तपुर बस्ती रौतहटका लागि काभ्रे सेवा समाज, साउदी अरबले ५५ हजार ५ सय ५५, काभ्रे सेवा समाज काभ्रेपलाञ्चोकलाई ३० हजार उपलब्ध गराएको छ । जनमत वाङमय मासिक पत्रिकालाई ३० हजार, कोरोनाको कारण नेपालमा देखिएको समस्या न्युनिकरण गर्न र नेपालीहरुको जीवन रक्षार्थ गैर आवासिय नेपाली संघ मध्यपुर्व र साउदी अरबले संचालन गरेको सहयोग संकलन अभियानमा काभ्रे सेवा समाज साउदी अरबले गरेको सहयोग रकम नेपाली रूपैँया एक लाख सहयोग गरेको छ ।

त्यस्तै काभ्रे सेवा समाज, साउदी अरबको प्रथम वार्षिकोत्सब समारोहमा १० लाखको शैक्षिक बिकास अक्षय कोषको सुरुवात गरेको, जुन रकमबाट १२ वटा अक्सिजन कन्सट्रेटर उपलबध गराएको हो । ‘काभ्रेको बिकास गरौँ सबै मिली, एकजुट हौँ साउदी अरबमा काभ्रेली’ भन्ने मुल नाराका साथ साउदी अरबलाई कर्म भुमी बनाएर साउदी अरबका बिभिन्न क्षेत्रमा छरिएर रहनुभएका सम्पूर्ण काभ्रेलीहरुलाई एक त्रित गर्दै उक्त संगठनको स्थापना गरिएको महासचिव त्रिपाठीले बताउनु भयो । २०७४ बैशाख १ गत उक्त संस्था स्थापना भएको थियो ।