एनआरएनए स्पेनको नेतृत्वमा डुम्रेको दाबी

112
Shares

विजय शर्मा दर्पण,बार्सिलोना ।

स्याङ्जा जिल्लाको वालिङ १४ मा जन्मिएका व्यवसायी तथा सामाजिक अभियन्ता शालिकराम डुम्रेले गैरआवासीय नेपाली संघ (एनआरएनए) स्पेनको अध्यक्षका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् ।

फुटवलको देश भनेर चिनिने स्पेनमा नेपालले लिनसक्ने अधिकतम सहयोग र देशको बिकासमा स्पेनले गरेको प्राविधिक विकासबाट सिक्दै यहाँको प्रविधिलाई नेपाल भित्र्याउन उचित वातावरण निर्माण गर्न गैरआवासीय नेपाली संघ स्पेनमा आफ्नो नेतृत्वको टिम आवश्यक रहेको भन्दै यस पटक अध्यक्षको पदमा उम्मेदवारी दिने निर्णयमा पुगेको उनको भनाइ छ ।

एनआरएनए स्पेनको पाचौं र छैटौं कार्यकालमा सदस्यमा निर्वाचित भई अनुभव सँगालेका उनी डुम्रे नेपाली जनसम्पर्क समिति स्पेनका निवर्तमान अध्यक्ष पनि हुन् ।

डुम्रेले स्पेनमा रहेका सबै नेपालीलाई लक्षित गरी ‘नेपाल हाउस’ निर्माण गर्ने र यहाँ रहेका नेपालीको स्पेन बसाइलाई सहज बनाउन एनआरएन स्पेनले सहयोगी भूमिका खेल्ने वातावरण निर्माण गर्ने बताए । नेपाल हाउसभित्र नेपालमा लगानी भित्र्याउन र भ्रमणमा जाने स्पेनिशहरुलाई नेपाल सरकारको सहयोगी बनि उनीहरुलाई नेपालका बारेमा स्पेनी भाषामै जानकारी दिने व्यवस्था गर्ने लक्ष्यकासाथ काम गरेर देखाउने डुम्रेको दाबी छ ।

त्यसैगरी, स्पेनमा रहेका नेपाली विद्यार्थीका समस्या सुनुवाई हुने थलोको आवश्यक रहेकोले ‘सहयोग डेक्स’ निर्माण गरी समाधानका उचित पहलहरु गरिने, नेपाल हाउसभित्र स्पेनमा रहेका नेपालीहरुलाई आवश्यक सहयोग गर्ने सबै पूर्वाधारको निर्माण गर्ने आफ्नो लक्ष्य रहेको पनि उनले बताए ।

एन आर एन स्पेनको सातौँ अधिबेसन आगामी जुलाई २५ मा हुने बताइएको छ। डुम्रेको साथै उपाध्यक्षद्वय उत्तरकुमार राई, दिनेशकुमार गिरीले पनि उम्मेदवारी दिने बताएका छन् ।