एयरबस फाउण्डेसनद्वारा नेपाललाई ७ टन स्वास्थ्य सामाग्री सहयोग

826
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

यूरोप र विदेश मामीला सम्बन्धी फ्रान्सेली मन्त्रालयको संकट तथा सहायता केन्द्र (सिडिसिएस) सँग मिलेर एयरबस फाउण्डेसनले नेपालमा कोभिड–१९ मा सहायतास्वरुप उपलब्ध ७ टन चिकित्सकीय उपकरणहरु पठाएको छ । ती सहायता सामग्रीहरु बोकेर एयरबस परीक्षण विमान ए ३५० ले Toulouseफ्रान्सबाट नयाँ दिल्ली, भारत हुँदै काठमाडौं, नेपालसम्म उडान भरेको छ । सिडिसिएस, फ्रान्सको स्वास्थ्य मन्त्रालय तथा भिजाइरे सोलिडेरद्वारा उपलब्ध गराइएको सहायता सामग्रीहरुमा मास्कहरु, सुरक्षा चश्माहरु, रेस्पिरेटर्स साथसाथै एन्टिजेन परीक्षण उपकरणहरु रहेका छन् ।

यसरी प्रदान गरिएको सहयोगले नेपाल सरकारलाई देशभित्र कोभिड–१९ को व्यवस्थापन गर्न सघाऊ पुग्ने विश्वास गरिएको छ । ‘नेपालको अवस्था अझै पनि गंभीर, यसैले हामीलाई उपलब्ध भएका स्रोतहरुका साथ देशले चालिरहेको कोभिड–१९ विरुद्धको लडाईंमा सहायता दिइरहन हामी प्रतिबद्ध रहीरहने छौं ।’ एयरबस फाउण्डेसनका निर्देशक रचेल स्क्रोइडरले भने, ‘नेपाली जनताहरुसम्म यस किसिमको मानवीय सहायता ल्याउन हाम्रो साझेदारलाई साथ दिन पाएकोमा म अत्यन्त हर्षित छु । हामीलाई आशा छ हाम्रो यो योगदानले प्रभावितहरुलाई थप राहत पुग्नेछ ।’

सहायता सामग्रीहरु बोकेको विमान बुधबार नयाँ दिल्लीबाट काठमाडौं आइपुगेको छ । एयरबस फाउन्डेशनले भारतमा पनि कोभिड–१९ को दोस्रो लहरबाट प्रभावितहरुका लागि प्रदान गरिएका मेडिकल उपकरणहरु पु¥याएको थियो ।