जिल्ला भित्रिने यात्रुको कोराना परीक्षण गरिँदै


विनोदसिंह विष्ट, बैतडी । 

दोस्रो लहरको कोरोना भाइरसको संक्रमण तीव्ररूपमा फैलिरहेकोले त्यसको रोकथाम र नियन्त्रणका लागि जिल्ला भित्रिने यात्रुहरूको कोरोना परीक्षण शुरू भएको छ । खोडपेमा हेल्थ डेस्क स्थापना गरेर मंगलबारदेखि एन्टिजेन विधिबाट जिल्ला भित्रिने यात्रुहरूको परीक्षण शुरू गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिनुभयो । जिल्ला भित्रिने यात्रुवाहक सवारी साधनलाई बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म मात्रै भित्रिन दिइएको छ । सोमबारदेखि शुरू भएको तेस्रोपटकको निषेधाज्ञाको आदेश जारी गर्दै रातिको समयमा जिल्ला भित्रिने यात्रुवाहक सवारी साधनमा रोक लगाएको हो ।

बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म खोडपेमा स्थापना गरिएको हेल्थ डेस्कमा स्वास्थ्यकर्मी परिचालन गरी कोरोना परीक्षण भइरहेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो । हेल्थ डेस्कमा यात्रुहरूको कोरोना परीक्षण गरिने र पोजेटिभ आएकालाई आइसोलेसन राख्ने र नेगेटिभ आएकालाई घर जान दिइनेछ उहाँले भन्नुभयो– ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्ला भित्रिने नाकामै परीक्षण गरिरहेका हौं ।’हेल्थ डेस्कमा कोरोना परीक्षण गर्नका लागि ६ जना स्वास्थ्यकर्मी परिचालन गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो । केही दिन पहिला बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले खोड्पेमा हेल्थ डेस्क स्थापना गर्ने निर्णय गरेको थियो । जिल्लामा कोरोनाको चेन ब्रेक गर्नका लागि तराईबाट आएकाहरूको पनि परीक्षण आवश्यक रहेकोले परीक्षण शुरू भएको स्वास्थ्य प्रमुख भट्टको भनाइ छ ।

यसअघि, भारतसँग जोडिएको सीमानाका झुलाघाटमा पनि हेल्थ डेस्क स्थापना गरी कोरोना परीक्षणको काम भइरहेको छ ।बैतडीमा तेस्रोपटक निषेधाज्ञा थप गर्दै जेठ ३१ गतेसम्म लम्ब्याइएको छ । कोरोना संक्रमणदर न्यूनीकरणका लागि निषेधाज्ञाको अवधि थपिएको जनाइएको छ । संक्रमणको जोखिम अझै कायमै रहेकोले निषेधाज्ञालाई निरन्तरता दिइएको हो ।निषेधाज्ञाको अवधिमा आवतजावतमा पूर्णरूपमा रोक लगाइएको छ । खाद्य पसल, तरकारी पसल बिहान ७ देखि ९ बजेसम्म मात्रै खोल्न पाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । भारतसँग सीमा जोडिएका बैतडी जिल्लामा हाल चार सय ९८ जना कोरोना सक्रिय संक्रमित रहेका छन् भने कोरोनाकै कारण हालसम्म १५ जनाको मृत्यु भइसकेको छ ।