गुल्मीमा निषेधाज्ञा उल्लङ्घन गर्ने क्रम बढ्यो


अनिल खत्री ,गुल्मी ।

गुल्मीमा निषेधाज्ञा उल्लङ्घन गरी सवारीसाधन चलाउनेमाथि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । कोरोना संक्रमणको दोस्रो लहर तीव्रगतिमा फैलिरहेकाले त्यसको सर्तकतास्वरूप जारी गरिएको निषेधाज्ञामा उल्लङ्घन गरी चलाइएका साना–ठूला गरी ६० वटा सवारीलाई नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी नायब निरीक्षक कृष्णप्रसाद आचार्यले बताए ।

निषेधाज्ञामा तम्घास बजारका विभिन्न स्थानमा गरिएको चेक जाँचमा सवारी साधनहरू नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका ५५ वटा मोटरसाइकल र ५ वटा ठूला सवारी रहेका छन् । निषेधाज्ञा उल्लङ्घन गरी सवारी साधन चलाउने माथि गरिएको कारबाहीमा ५ हजार ५ सय राजस्व संकलन भएको आचार्यले बताउनुभयो । तम्घास बजामा निषेधाज्ञा उल्लङ्घन गरी सवारी अत्यधिक मात्रामा चल्न थालेपछि प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराई, सशस्त्र प्रहरी प्रमुख डिएसपी अशोक लम्सालसहितको टोली नै चेकजाँचमा खटिएका थिए ।

नियन्त्रणमा लिएका सवारीलाई कानुनबमोजिमको कारबाही गरी कानुनी प्रक्रियाअनुसार छाडिएको प्रहरीले जनाएको छ । जिल्लामा जेठ २४ गतेसम्म निषेधाज्ञाको समय थपिएको छ ।निषेधाज्ञाको अवधिमा अत्यावश्यक कामबाहेक नागरिकहरू घरबाहिर ननिस्कन आग्रह गरिएको छ । निषेधाज्ञा उल्लंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने जुनसुकै उपर प्रचलित कानुनबमोजिम कारबाही हुने प्रशासनले जनाएको छ ।जिल्लामा कोभिडको दोस्रो लहरबाट ६ सय ३२ जना सक्रिय संक्रमितको संख्या रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । कोरोना संक्रमणका कारण जिल्लामा ७८ जनाको मृत्यु भइसकेको छ । जिल्लामा हालसम्म १ हजार ५ सय ७२ जना संक्रमित निको भएको कार्यालयले जनाएको छ ।