बजेटमा सिनेमालाई सहुलियत कर्जादेखि उपकरणमा भन्सार शुल्क छुटसम्म


  • रश्मी थापा

सरकारद्वारा आगामी आर्थिक वर्ष २०७८-०७९ का लागि विनियोजित बजेटमा नेपाली सिनेमा र कला क्षेत्रलाई पनि केही मात्रामा सम्बोधन गरिएको छ।शनिबार अर्थमन्त्री विष्णु पौडेलले १६ खर्ब ४७ अर्ब ४७ करोडको बजेट प्रस्तुत गर्दै लकडाउनका कारण थलिएको सिनेमा र कला क्षेत्रलाई सम्बोधन गरेका हुन्। मन्त्री पौडेलले सिनेमा र कला क्षेत्रको विकास र प्रवर्द्धनका लागि विभिन्न शीर्षकमा सम्बोधन गरेका हुन्। बजेट प्रस्तुत गर्दै मन्त्री विष्णु पौडेलले सबै प्रदेशमा सिनेमा छायाँकनस्थल निर्माण गरिने, गणेश हिमाल क्षेत्रमा सिनेमा छायाँकनस्थल बनाउन सम्भाव्यता अध्ययन गरी निर्माण प्रारम्भ गरिने, काभ्रेको बनेपामा आधुनिक सिनेमा स्टुडियो निर्माण गरिने, कला अति प्रभावित क्षेत्र भएकाले सहुलियत कर्जा दिइने र उत्कृष्ट सिनेमा निर्माणका लागि स्टोरी बैंकको अवधारणा कार्यान्वनमा ल्याइने घोषणा गरे।

उनले सिनेमा उद्योगलाई निषेधाज्ञा अवधिभर विद्युत्मा डिमान्ड महसुलमा छुट गरिने, सिनेमा क्षेत्रमा कार्यरत श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी तथा व्यावसायिक सञ्चालनका लागि स्थापना गरिएको व्यावसायिक निरन्तरता कोषलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिइने तथा फिल्म उद्योगमा प्रयोग हुने यन्त्र उपकरण र पार्टपुर्जाको भन्सार महसुलमा छुट दिइने पनि घोषणा गरे। त्यस्तै, बजेटमा सिनेमा क्षेत्रले आगामी आर्थिक वर्षमा तिर्नुपर्ने इजाजत तथा नवीकरण शुल्कमा छुट दिई स्वतः नवीकरण हुने व्यवस्था मिलाइएको छ।त्यसैगरी, प्रज्ञा प्रतिष्ठानहरुको लागि पनि बजेट विनियोजन गरिएको छ। नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, ललितकला प्रज्ञा प्रतिष्ठान र बाल प्रज्ञा प्रतिष्ठानको पूर्वाधार विकास गर्न काठमाडाै‌  उपत्यकाभित्र प्रज्ञाग्राम निर्माणको सम्भाव्यता अध्ययन गरिने व्यवस्था गरिएको अर्थमन्त्री विष्णु पौडेलले घोषणा गरे।

ख्यातिप्राप्त अभिनेता, रंगकर्मी एवं नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले कार्यान्वयन भए बजेट राम्रो रहेको बताए। देशका शिक्षा स्वास्थ्य लगायतका विभिन्न क्षेत्रमा हेर्दा र सुन्दाखेरि राम्रो लाग्ने खालको बजेट तथा योजना ल्याइएका छन्। तर, ती योजना सोचेजस्तो कार्यान्वयन गर्न समयले भ्याउने हो कि होइन र पूर्णरुपमा कार्यान्वयन हुने हो कि होइन भन्ने कुरा महङ्कवपूर्ण छ। कार्यान्वन भएमा बजेट राम्रो छ। बाल प्रज्ञा प्रतिष्ठान निर्माणको कुराले खुसी लाग्यो नेपाल समाचारपत्रसँग कुराकानी गर्दै शर्माले भने– ‘सरकारको त्यतातिर पनि ध्यानाकर्षण भएछ भन्ने कुराले खुसी लाग्यो। प्रज्ञाग्रामको पनि कुरा आएको छ। के–कसरी गर्ने कस्तो कार्यक्रम हो भन्नेबारे राम्रोसँग बुझेपछि मात्र यसबारे भन्न सकिन्छ। फिल्म क्षेत्रसँगै अन्य विभिन्न क्षेत्रका व्यक्तिहरु, जो कोरोना महामारीका कारण आर्थिक मारमा छन्, समस्यामा छन्, उनीहरुका लागि केही प्याकेज आउला भन्ने लागेको थियो, तर कतै पनि सुनिएन।’

नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले समग्रमा सिनेमा क्षेत्रका लागि यसपटक राम्रा बजेट योजना सकारात्मक भएको बताए। ञबजेट राम्रो लाग्यो। निर्माता संघले लगेका कुराहरु यसपालि धेरै आएका छन्। सबै क्षेत्रलाई समेट्नुपर्ने हुनाले हामीले लगेका सबै एजेन्डा आएन। यसपालि लगेका कुरामा ४ ओटा राम्रा पोइन्ट बजेटमा समेटिएर आएका छन्। सिनेमा क्षेत्रले प्रयोग गर्ने उपकरणमा भन्सार छुट, फिल्म उद्योगलाई आयकर १ प्रतिशत मात्र लाग्ने भनिएको छ।

सिनेमा भवन नचले पनि डिमान्ड शुल्क लिइरहेको थियो त्यो छुट भनेर आयो, प्रभावित उद्योगलाई ५ प्रतिशत ब्याजमा सहुलियत कर्जा दिने भनिएको छ। प्रभावितमा चलचित्र उद्योग पनि पर्छु अधिकारीले नेपाल समाचारपत्रसँग कुरा गर्दै भने, ‘गत वर्ष हाम्रो पहलमा नेपाल रास्टझ बैंकले मौद्रिक नीतिमा अति प्रभावित उद्योग भनेर राखेको कारणले ५ प्रतिशत ब्याजदरमा सहुलियत कर्जा पाउने अति प्रभावित उद्योगमा हामी पनि पर्छौं। यी कारणले बजेट सकारात्मक लाग्यो। साथै, स्टोरी बैंक तथा बनेपाको फिल्म सिटी तथा सातै प्रदेशमा छायाँकनस्थल निर्माणको कुरा पनि आएका छन्। समग्रमा बजेट राम्रो लाग्यो।’