खोप भित्र्याउन लबिङ शुरू

चीनले १० लाख डोज खोप दिने


दीपक रिजाल, काठमाडौं ।

कोरोना संक्रमणबाट मुलुक आक्रान्त बन्दै गइरहेका बेला राष्ट्र प्रमुख र सरकार प्रमुखले कोरोनाविरुद्धको खोप ल्याउन विदेशी समकक्षीसँग लबिङ शुरू गरेका छन् ।

यसै सिलसिलामा राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षी सी जिङ पिङसँग बुधबार टेलिफोन गरी नेपाललाई १० लाख डोज खोप तत्काल उपलब्ध गराइदिन आग्रह गर्नुभएको छ । त्यसलगत्तै चिनियाँ राष्ट्रपति सीले नेपाललाई तत्कालै १० लाख डोज खोप उपलब्ध गराउने घोषणा गर्नुभएको हो ।चीनले उक्त खोप अनुदानमा दिन लागेको नेपालस्थित चिनियाँ राजदूत हो यान्छीले जानकारी दिनुभएको छ । नेपालका राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति सीबीच ४० मिनेट लामो कुराकानीमा नेपालले खरिद गर्न लागेको कोरोना खोपका लागि सहजीकरण गरिदिन आग्रह गर्नुभएको थियो ।

पछिल्लो समय नेपालमा कोरोना संक्रमणको दर उच्चरूपमा बढ्दै गएपछि कोरोना संक्रमण नियन्त्रणको एकमात्र उपाय खोप नै भएको निष्कर्ष निकालेको सरकारले खोपका लागि विभिन्न मुलुकसँग राष्ट्र प्रमुखकै तहबाट पहल भइरहेको उपप्रधानमन्त्री ईश्वर पोखरेलले जानकारी दिनुभयो ।सिंहदरबारमा केही सञ्चारकर्मीसँगको छलफलमा उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्री केपी ओलीले रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनलाई चिठ्ठी लेखेर खोप किन्ने वातावरण बनाइदिन आग्रह गरेको जानकारी दिनुभयो । सरकारले प्रधानमन्त्री तहबाटै विभिन्न खोप उत्पादन गर्ने मुलुकसँग खोप खरिद वा अनुदानमा उपलब्ध गराइदिन पहल भइरहेको र विभिन्न मुलुकबाट सहयोग आउने क्रम जारी रहेको बताउनुभयो ।उहाँले खोपका बारेमा प्रधानमन्त्री ओलीले चिनियाँ समकक्षी ली छ्याङ र छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत कुराकानी गर्ने तयारी गरेको जानकारी दिनुभयो ।

उपप्रधानमन्त्री पोखरेलका अनुसार प्रधानमन्त्री ओलीले आफ्ना भारतीय समकक्षी मोदीसँग नेपाल सरकारले भारतीय खोप उत्पादन कम्पनी सेरमलाई भुक्तानी दिइसकेर प्राप्त गर्न बाँकी १० लाख मात्रा खोप उपलब्ध गराइदिन अनुरोध गर्नुहुनेछ ।भारतको सर्वोच्च अदालतले भारतीय जनतालाई खोप नलगाई अन्य देशमा खोप बिक्रीवितरण गर्न रोक लगाएको कारण भारतीय प्रधानमन्त्रीको आदेशले मात्रै उक्त खोप नेपाल आउने सम्भावना रहेकाले प्रधानमन्त्री ओली आफैंले पहल गर्न लाग्नुभएको उपप्रधानमन्त्री पोखरेलले बताउनुभयो । उहाँले आउँदो कात्तिकसम्ममा सबै नेपालीलाई खोप उपलब्ध गराउने गरी सरकारले तयारी गरेको र यसपटकको बजेट पनि कोभिड–१९ केन्द्रित हुने जानकारी गराउनुभएको छ ।

विज्ञहरूले नेपालमा कोरोनाको तेस्रो लहर आउने चेतावनी दिएकाले कुनै पनि बेलामा संकटकाल लाग्न सक्ने संकेत गर्दै पोखरेलले भन्नुभयो ‘नेपालमा कोरोना संक्रमणको दर क्रमशः केही ओरालो लागेको भनिए पनि संकट कति बेला उत्पन्न हुन्छ भन्ने ठेगान नभएकाले सरकार अहिले चनाखो भएर बसेको छ ।’ हिजो काम गर्ने क्रममा केही कमजोरी भएका थिए आज त्यो कमजोरीलाई दोहोरिन नदिन सरकार लागिपरेको उहाँले बताउनुभयो ।

कोभिसिल्डको विकल्प रोज्न आग्रह

भारतको सेरम इन्स्टिच्युटले तत्काल खोप दिन नसक्ने जनाएपछि कोरोनाविरुद्धको साझा विकास र उचित वितरण ‘कोभ्याक्स अभियान’ का अधिकारीले नेपाललाई कोभिसिल्डको विकल्पमा अर्को उपयुक्त खोप रोज्न आग्रह गरेको छ । कोभ्याक्स अधिकारीको यो आग्रहसँगै कोभिसिल्ड खोपको दोस्रो मात्राका लागि पर्खिरहेका ६५ वर्षमाथिका ९ लाख ज्येष्ठ नागरिकले खोपको दोस्रो मात्रा पाउनेमा अन्योल सिर्जना भएको छ ।

सरकारले खोप सल्लाहकार समितिको निर्णयअनुसार नयाँ खोपको नाम कोभ्याक्ससमक्ष पेस गर्ने तयारी भइरहेको जनाएको छ । कोभ्याक्सले नेपाललाई कोभिसिल्डबाहेक कुन खोप उपयुक्त हुन्छ भनी सोधेलगत्तै नेपाल सरकारले खोप सल्लाहकार समिति गठन गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ज्येष्ठ नागरिकलाई एक डोज मात्र खोपमा चित्त बुझाउने या अर्को खोप लगाउन मिल्ने भन्ने विषयमा खोप समितिले निष्कर्ष निकालेपछि मात्र निर्णय लिइने स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले बताउनुभयो ।कोभ्याक्सले नेपाललाई कुल जनसंख्याको २० प्रतिशत जनसंख्याका लागि खोप उपलब्ध गराउने प्रतिबद्धता पहिला नै गरी भारतको सेरम इन्स्टिच्युट अफ इन्डियासँग सम्झौता गरेको थियो । सोही सम्झौताअनुरूप कोभ्याक्सले सेरम इन्स्टिच्युटको कोभिसिल्ड खोप गत माघ महिनामा ३ लाख ४८ हजार मात्रा उपलब्ध गराएको थियो । तर, कम विकसित, विकासशील, विकसोन्मुख देशहरूमा समेत समान वितरणका लागि बनेको ग्लोबल एलाइन्स कोभ्याक्स फ्यासिलिटीले कोरोनाविरुद्धको खोप नेपालकै छनोटअनुरूप पहिलो चरणमा कोभिसिल्ड उपलब्ध गराएको हो ।

पहिलो चरणको खोप उपलब्ध गराउँदा कोभ्याक्सले मेदेखि जुन महिनाभित्र बाँकी सबै खोप कोभिसिल्ड नै उपलब्ध गराइसक्ने जनाएको थियो । तर, भारतको सर्वोच्च अदालतले खोप निर्यात गर्न प्रतिबन्ध लगाएपछि सेरमले उक्त खोप दिन नसक्ने अवस्था आएको हो ।कोभ्याक्सले नेपालमा मात्र नभई कोभिसिल्ड खोप उपलब्ध गराएका अन्य मुलुकसँग पनि नयाँ खोपको विकल्पमा नाम सिफारिस गर्न पत्राचार गरिसकेको बुझिएको छ । नेपालमा औषधि व्यवस्था विभागले कोभिसिल्ड, कोभ्याक्सिन, स्पुतनिक भी र भेरोसेल खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ ।स्वास्थ्य सेवा विभागले कोभिसिल्ड तत्काल नआउने भएपछि खोप खरिदका लागि नेपालमा दर्ता भएका अन्य तीन खोप उत्पादक र अमेरिकाको मोडर्ना, जोन्सन एन्ड जोन्सन कम्पनीमा पनि कूटनीतिक नियोगबाट पत्राचार गरेको थियो । पत्राचार गरिएकोमा अमेरिकाको जोन्सन एन्ड जोन्सन र रसियाको स्पुतनिक भी खोप पठाउन सकारात्मक देखिएको महानिर्देशक डा. सिंहले बताउनुभयो । उहाँका अनुसार जोन्सनले सरकारसँग छलफल गर्न प्रतिनिधि पठाउने विषय पनि इमेलमा लेखेको र अमेरिकाको मोडर्नाले भने एक वर्ष खोप दिन नसकिने जनाएको छ ।