बरमहलमा नर्सहरूको लागि क्वारेन्टिन सेन्टर सुरु


भगवती तिमल्सिना, काठमाडौ

किंग्स कलेजले बबरमहलस्थित आफ्नो नयाँ भवनमा सोमबारदेखि लागू हुने गरी व्यावसायिक नर्सहरुका लागि क्वारेन्टिन केन्द्रको स्थापना गरेको छ । नेपाल मेडिकल एसोसिएशन र नर्सिङ्ग एसोसिएशन अफ नेपालको समन्वयमा सञ्चालनमा ल्याइको क्वारेन्टाइन सेन्टरको स्थलगत व्यवस्थापन, आवश्यक सामग्री आपूर्ती लगागतका प्रमूख जिम्मेवारी किंग्स क्लब र किंग्स कलेजले करुणा फाउन्डेसन नेपाल र अडारा समूहको साझेदारीमा रहनेछ ।

किङ्ग्स कलेजका अध्यक्ष नरोत्तम अर्याल भन्नुहुन्छ, “अहिलेको अवस्थामा सबै जना आ–आफ्नो ठाउँबाट उठेर महामारीको समयमा भइरहेका सहयोगका गतिविधिहरूमा सामेल हुनु आवश्यक छ । हामी किङ्ग्सका विद्यार्थीहरू, शिक्षकहरू तथा पूर्व विद्यार्थीहरू विरामीहरूको जीवन बचाउने महत्वपूर्ण भूमिकामा हुने नर्सहरूलाई सेवा गर्ने अवसर पाउँदा निकै नै गौरवान्वित छौँ ।”वर्तमान परिप्रेक्षमा नर्सहरूले दिनको १८ देखि २४ घण्टा भन्दा बढी काम गरिरहेका छन् । आफ्नो ज्यान नै जोखिममा राखेर उनीहरुले बिरामीहरूलाई सेवा प्रदान गरिरहेका छन् । धेरै नर्सहरु बेन्च, सोफा तथा कतिपयले आराम गर्न घर जान नपाएका कारण भूईंलाई नै ओछ्यानहरू बनाउन बाध्य छन् ।

नेपाल नर्सिङ संघकी अध्यक्ष प्रा. मन कुमारी राई भन्हुन्छ्, “कोभिडको बिरामीको सेवामा खटिने नर्सहरू आफैँ संक्रमित हुने उच्च सम्भावना हुन्छ । समुदायमा संक्रमण कम गर्न पनि यो प्रयास आवश्यक थियो । साथै घरमा क्वारेन्टिनमा बस्न पनि निकै चुनौतिपूर्ण हुन्छ । त्यसैले यस्तो सहज, स्वस्थ र सुरक्षित ठाउँको आवश्यकता थियो ।”प्रथम चरणमा २५ जना नर्सहरुलाई समायोजित गर्न सकिने क्वारेन्टिन सेन्टरको क्षमता वृद्धि गरी १ सय जना सम्मलाई समायोजित गर्न सकिने बनाइनेछ । क्वारेन्टिन सेन्टरमा नर्सहरुलाई प्रदान गरिने सबै सुविधाहरु निःशुल्क हुनेछन् । कोभिडका बिरामीहरूको सेवाको लागि अहोरात्र खटिनु भएका समर्पित नर्सहरूलाई सहज ढंगले स्वस्थ खाना, सफा तथा सुरक्षित आवास उपलब्ध गराउन यस केन्द्र प्रतिबद्ध रहनेछ । यस केन्द्रमा आराम गर्ने तथा सुत्ने बेड तथा आवश्यक सामग्रीहरू र दैनिक ३ पटक सन्तुलित भोजन उपलब्ध हुनेछ । साथै क्वारेन्टिनमा बस्नेहरूको शारीरिक तथा मानसिक स्वास्थ्य र तन्दुरुस्तीलाई कायम राख्न चिकित्सकहरूबाट नियमित भ्रमण र अनुगमन हुनेछ ।

क्वारेन्टिनमा बस्न आवश्यक तथा इन्छुक भएका नर्सहरूले नेपाल नर्सिङ संघसँग सम्पर्क गर्नु पर्नेछ । नेपाल नर्सिङ संघ नर्सहरूको छनौटको लागि आधीकारिक निकाय हुनेछ ।नेपालका सम्पूर्ण चिकित्सकहरूको छाता संगठन ‘नेपाल चिकित्सक संघ’ का केन्द्रीय समिति सदस्य डा. रितेश थापा दिनरात नभनी कोभिडका बिरामीको सेवामा खटिएका नर्सहरूलाई सहयोग र उत्प्रेरित गर्नु सबैको जिम्मेवारी भएको बताउँनुहुन्छ । यस क्वारेन्टिन सेन्टरको स्थापनामा सहकार्य गर्नुको औचित्य प्रष्ट पार्दै उहाँ भन्नुहुन्छ, “यो संकटको समयमा हामी सबैले मिलेर कोरोनामाथि जीत हासिल गर्नु पर्नेछ । त्यसैले यो पुन्य काममा हामी पनि सहभागी भएका हौँ ।”क्वारेन्टिन सेन्टर सन्चालनको लागि किङ्ग्स कलेज र किङ्गस क्लबले आफ्नो सन्जाल मार्फत आवश्यक स्रोत जुटाइरहेका छन् । नीतिशाला र नेपालस्थित बुढानीलकन्ठ भूतपूर्व विद्यार्थी समाज स्थानीय सहकर्मीको रूपमा स्रोत जुटाउन सहयोग गरेका छन् । अन्तराष्ट्रिय रूपमा इम्प्याक्ट वीक र उत्तर अमेरिकास्थित बुढानीलकन्ठ भूतपूर्व विद्यार्थी समाजले स्रोत जुटाउन सहयोग गरेका छन् । आवश्यक सामग्रीको ढुवानीको लागि उपाय सिटी कार्गोले सहयोग गरेको छ । यी संस्थाहरूसँगै नेपाल रेडक्रस समाज, भायानेट कम्युनिकेसन प्रा.लि., यति केम डिस्ट्रिब्युटर्स, हलेसी डेकोर र अन्य व्यक्ति तथा संस्थाहरूले सहयोगको हात जुटाएका छन् ।

“महामारीको अग्रपंक्तिमा खटिने नर्सहरूको उत्पेरणा, हौसला, सुरक्षा र सहजताको प्रत्याभूति कायम राख्नु अहिलेको समयमा अक्सिजनको महत्व भएजस्तै हो”, अडारा समूहका प्रल्हाद ढकाल क्वारेन्टिनको स्थापनामा सहयोग गर्नुको कारण खुलाउँदै भन्नुहुन्छ । उहाँ थप्नुहुन्छ, “यस प्रयासको हिस्सा हुन पाउँदा हामी खुसी छौँ । हामी मिलेरै यस भाइरसमाथि जीत हासिल गर्छौँ भन्ने विश्वास छ ।”नर्सहरू विरामीको जीवनमा आशा जगाउने भगवान सरह हुन्छन् भन्दै करुणा फाउन्डेसन नेपालका कार्यकारी निर्देशक दीपक राज सापकोटा थप्नुहुन्छ् “ नर्सहरूलाई उनीहरूको सहजताको लागि मात्र होइन अझै बढी विरामीको सेवाको लागि पनि हामी सबैको सहयोग आवश्यक छ ।“

यो महामारीको आवस्थामा पनि आग्रपङ्क्तिमा खटिएर आफ्नो ज्यान नै जोखिममा राखेर बिरामीहरूलाई सेवा प्रदान गरिरहेका सबै नर्सहरुलाई मध्यनजर गर्दै नेपाल चिकित्सक संघसंग समन्वय गरि यस शुभ कामको थालनी गर्न लागेकोमा किंग्स कलेजलाई संघको तर्फबाट शुभकामना ब्यक्त गर्न चाहन्छु ।