मन्त्री आलेको सचिवालयद्धारा आपत्ती


विमल विष्ट , काठमाडौँ । 

कोरोना महामारीको समयमा नागरिकलाई वितरण गरिएका अक्सिजन सिलिन्डर र अन्य स्वास्थ्य सामग्रीका विषयमा केही तत्वले अनर्गल तथा कपोकल्पित ढङ्गबाट कूप्रचार गरेकामा वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेको सचिवालयले आपत्ती जनाएको छ ।

मन्त्री आलेका निजी सचिव रविन ज्ञालनले आज एक प्रेस विज्ञप्ती जारी गरेरमन्त्रीले संवेदनशिल अवस्थालाई मध्यनजर गरेर व्यक्तिगत लगानीमा स्वास्थ्य सेवा विभागबाहेक अन्य वितरण गरिएका अक्सिजन सिलिन्डर र स्वास्थ्य सामग्रीका विषयमा केही सञ्चार माध्यममा भ्रम पैदा गराएकाले त्यस्ता गलत समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । उक्त अक्सिजन सिलिन्डरका वितरणका बारेमा सत्यतथ्य बुझेर समाचार सम्प्रेषण गर्न सो सचिवालयले विज्ञप्तिमार्फत आग्रहसमेत गरेको छ ।विज्ञप्तीमा नेपाल सरकारको वहालवाला मन्त्री एवं डोटीको जनप्रतिनिधिका हैसियतले उक्त क्षेत्रका नागरिकको स्वास्थ्य उपचारमा राहत पुगोस् भनेर व्यक्तिगत सहयोगबाट प्रदान गरेका अक्सिजन सिलिन्डर तथा स्वास्थ्य सामग्रीका बारेमा गरिएका भ्रामक र कपोकल्पित कुरामा कुनै विश्वास नगरिदिन आम जनसमुदायमा अनुरोध गरिएको छ ।

जिल्ला अस्पताल डोटीका लागि अक्सिजन कन्सनट्रेटर चार, अक्सिजन सिलिन्डर ६० थान र सेती प्रादेशिक अस्पताल कैलालीका लागि ५० थान अक्सिजन सिलिन्डर व्यक्तिगत लगानीमा वितरण गरिएको जनाइएको छ । यसैगरी सर्जिकल मास्क दुई लाख २० हजार थानमध्ये डोटीमा एक लाख ७० हजार तथा ५० हजार सेती प्रदेशिक अस्पतालमा वितरण गरिएको उक्त सचिवालयले विज्ञप्तिमार्फत जनाएको छ ।उक्त सिलिन्डरका अतिरिक्त स्वास्थ्य सेवा विभाग टेकुबाट प्राप्त १५ थान खाली अक्सिजन सिलिन्डर प्राप्त भएकामा तिनमा समेत मन्त्री आलेकोव्यक्तिगत आर्थिक सहयोगमा रिफिल गरी जिल्ला अस्पताल डोटीलाई हस्तान्तरण गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।साथै उक्त विज्ञप्तिमा वर्तमान कोरोना कहरका बेला नेपाल सरकारका निकाय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र स्वास्थ्य सेवा विभागले डोटीलगायत जिल्लामा आवश्यक थप पर्याप्त स्वास्थ्य सामग्री पठाउनेमा विश्वास व्यक्त गर्दै आगामी दिनमा मन्त्रीको व्यक्तिगततर्फबाट हरेक विपद्मा सहयोग जारी रहने प्रतिबद्धता जनाइएको छ ।