पानीजहाजमा भीषण आगलागी, दुई जना घाइते


एजेन्सी ।

भारतबाट सिंगापुर जान लागेको एउटा पानी जहाजमा भीषण आगलागी भएको छ। जहाजको चालक दलमा फिलिपिन्स, चीन, भारत र रूसका २५ जना थिए। तीमध्ये दुई जना घाइते भएका छन्।

श्रीलंकाको कोलम्बो हुँदै सिंगापुर जान लागेको एमभी एक्स-प्रेस पर्ल मालवाहक पानीजहाजमा आगलागीपछि बिस्फोट भएको हाे । श्रीलंका नौ सैनिकले मंगलबार पानीजहाजका चालक दलको उद्धार गरेको जनाएको छ।

भारतको हाजिरा बन्दरगाहबाट १ हजार ४ सय ८६ कन्टेनर सामान बोकेर सिंगापुरको ध्वजावाहक उक्त पानीजहाज मे १५ मा छुटेको थियो। २५ टन नाइट्रिक एसिड र अरू रसायन पनि बोकेको पानीजहाजमा शुक्रबार एउटा कन्टेनरमा आगो लागेको थियो। त्यसपछि उक्त जहाजले कोलम्बो पोर्टमा रोकिन खोजेको थियो।  पानीजहाजमा भएको रसायनबाट आगो लागेको हुन सक्ने बताइएको छ।