इतिहासमै संसद्प्रति अनुदार प्रधानमन्त्री


काठमाडौं, (नेस)

पूर्वसभामुखहरूले प्रधानमन्त्री केपी शर्मा ओली संसद्प्रति इतिहासमै सबैभन्दा अनुदार प्रधानमन्त्री रहेको प्रतिक्रिया दिएका छन् । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले मंगलबार प्रतिनिधिसभा विघटनपछिको विकसित घटनाक्रमका बारेमा पूर्वसभामुखसँग गर्नुभएको छलफलमा उनीहरूले यस्तो प्रतिक्रिया दिएका हुन् । छलफलमा पूर्वसभामुखहरूले प्रधानमन्त्री ओलीले संसद्को ठूलो अपमान गरेको आरोप लगाएका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गर्नु असंवैधानिक भएको भन्दै विपक्षी पाँच दलका सांसदहरूले सर्वोच्चमा रिट दायर गरिसकेको अवस्थामा उहाँले पूर्वसभामुखहरूसँग छलफल गर्नुभएको हो । कोरोना महामारी रोक्न सरकारले अन्य दलहरूसँग समन्वय गर्नुपर्ने बेलामा चुनाव घोषणा गरेर पौंठेजोरी खोज्नु अलोकतान्त्रिक भएको पूर्वसभामुखहरूको टिप्पणी थियो ।आन्दोलन र संघर्षबाट प्राप्त व्यवस्था तहसनहस पार्न लागेकाले त्यसलाई जोगाउनुपर्नेमा उहाँहरूले जोड दिएको सभामुखको सचिवालयका एक सदस्यले बताए । पूर्वसभामुख ओनसरी घर्तीले जनताको प्रतिनिधि संस्थामाथि दुई–दुईपटक आक्रमण भएकाले सरकारको कदम असंवैधानिक रहेको बताउनुभयो । उहाँले जनताप्रति उत्तरदायी हुनुपर्नेमा सरकारले संसद्को अपमान गर्ने काम मात्र गरिरहेको आरोप लगाउनुभयो ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटा, पूर्वसभामुखहरू रामचन्द्र पौडेल, ओनसरी घर्ती, कृष्णबहादुर महरा सहभागी रहनुभएको थियो । पूर्वसभामुख सुवास नेम्वाङलाई खबर गरिए पनि उहाँ सहभागी नभएको बताइएको छ । प्रधानमन्त्रीले असंवैधानिकरूपमा संसद् विघटन गरेर चुनाव घोषणा गरेपछि आगामी दिनमा कसरी अगाडि बढ्ने भन्नेबारेमा सभामुख सापकोटाले परामर्श गरिरहनुभएको छ ।