दर्ता भएका सेनिटाइजर मात्र प्रयोग गर्न आग्रह


काठमाडौं, (नेस)

कोरोना संक्रमणको महामारीसँगै नेपालमा नक्कली औषधि तथा स्यानिटाइजरको उत्पादन र बिक्रीवितरण बढेको जनाउँदै औषधि व्यवस्था विभागले विभागमा दर्ता भएका औषधि तथा सेनिटाइजर मात्रै प्रयोग गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।

मानव शरीरका लागि हानिकारक नक्कली ह्यान्ड सेनिटाइजर शहरभरि नै उत्पादन हुन थालेको भेटिएपछि औषधि व्यवस्था विभागले विभागमा दर्ता भएका सेनिटाइजर मात्रै बिक्रीवितरण गर्न र प्रयोग गर्न अनुरोध गरेको हो ।विभागले मंगलबार औषधि व्यवस्था विभागमा दर्ता भएका ६१ वटा स्यानिटाइजरको नामावली सार्वजनिक गर्दै ती स्यानिटाइजर मात्रै प्रयोग गर्न सर्वसाधारणलाई अपिल गरेको छ ।बजारमा नक्कली स्यानिटाइजर छ्याप्छ्याप्ती पाएपछि विभागले बजारमा रहेको ह्यान्ड सेनिटाइजरको नमुना संकलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकिएको मापदण्ड ‘इन्स्ट्यान्ट ह्यान्ड सेनिटाइजरसम्बन्धी स्तर–२०७६’ विपरीत विषाक्त रसायन मिथानोल भेटिएपछि त्यस्ता स्यानिटाइजर उत्पादन तथा बिक्री वितरणमा रोक लगाउँदै आएको जनाएको छ ।

मेथानोलका कारण वाकवाकी लाग्ने, टाउको दुख्ने, दृष्टि धमिलो हुने तथा आँखाको दृष्टि नै गुम्न सक्ने खतरा भएको विभागले जनाएको छ । यसका साथै मेथानोलले छालामा समेत गम्भीर असर पु¥याउने, स्नायु प्रणालीमा असर गर्नेलगायतका समस्या हुने भएकाले यस्ता स्यानिटाइजरदेखि टाढै रहन पनि अपिल गरिएको छ ।